९ महिनामा नेप्से ४६८.१ अंकले घट्दा बजार पुँजीकरण ५ खर्ब ८४ अर्ब ८५ करोड रुपैयाँ गिरावट « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

९ महिनामा नेप्से ४६८.१ अंकले घट्दा बजार पुँजीकरण ५ खर्ब ८४ अर्ब ८५ करोड रुपैयाँ गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा नेप्से परिसूचक ४६८.१ अंकले घटेको छ । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक प्रतिवेदनमा नेप्से परिसूचक ९ महिनाको अवधिमा ४६८.१ अंकले घटेको हो । २०७८ असार मसान्तमा २८८३.४ रहेको नेप्से सूचकाङ्क २०७८ चैत मसान्तमा २४१५.३ कायम भएको हो ।

त्यसैगरी, २०७८ असार मसान्तमा बजार पुँजीकरण ४०१० अर्ब ९६ करोड रुपैयाँ रहेकोमा २०७८ चैत मसान्तमा घटेर ३४२६ अर्ब ११ करोड रुपैयाँमा सिमित भएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बजार पुँजीकरण ५ खर्ब ८४ अर्ब ८५ करोड रुपैयाँले घटेको हो ।

त्यस्तै, ९ महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ६ अर्ब ६८ करोड शेयरको चुक्ता मूल्य ६५८ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७८–७९ को ९ महिनासम्ममा कुल १८२ अर्ब ७६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको साधारण शेयर, ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १५ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्