बोर्ड अध्यक्ष हमाल राष्ट्र बैंककाविरुद्ध बोल्दा नियामक निकायबीच विवाद बढ्न सक्ने « Arthapath.com
७ असार २०७९, मंगलवार

बोर्ड अध्यक्ष हमाल राष्ट्र बैंककाविरुद्ध बोल्दा नियामक निकायबीच विवाद बढ्न सक्ने



काठमाडौं । सर्वोच्च अदालतको परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि आर्थिक क्षेत्रमा ठूलो संकट देखा पर्न थालेको छ । विभिन्न ५ दलहरूको संयुक्त गठबन्धनको सरकार काम भन्दा बढी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न निकायमा नियुक्त गरेका ब्यक्तिहरूलाई हटाएर आफ्नालाई नियुक्त गर्नमा बढी केन्द्रित छ । अनेकन आरोप लगाएर विभिन्न ब्यक्तिहरूलाई हटाउने अथवा निलम्बनसमेत गर्ने निर्णय गठबन्धन सरकारले गरेको छ । 

यस्तै चेपुवामा परेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री जनार्दन शर्माले निलम्बन समेत गर्यो । तर सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि गभर्नर अधिकारी आफ्नो काममा फर्किए । तर अर्थमन्त्री शर्माले भने उनीमाथि निरन्तर खनिएका छन् । विभिन्न कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारी माथि अनेकन आरोप लगाउँदै आएका मन्त्री शर्माले पछिल्लो पटक भने नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई प्रयोग गरेका छन् । 

यतिबेला शेयर बजार निरन्तर घटिरहेको भन्दै लगानीकर्ता आन्दोलन गर्दै अनशन समेत बसेका छन् । नियामक निकायका विभिन्न निर्णयले गर्दा शेयर बजार घटेको भन्दै विभिन्न माग राख्दै आन्दोलित बनेका हुन् । यसै बाहानामा अर्थमन्त्री शर्माले अध्यक्ष हमालललाई राष्ट्र बैंकमाथि नै बोल्न लगाएर दुवै नियामक निकायबीच विवाद श्रृजना उत्पन्न गराएका छन् ।

सोही विषयमा धितोपत्र बोर्डले आफ्नो धारणा राख्न मंगलबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्यो । पत्रकार सम्मेलनका क्रममा अध्यक्ष हमालले राष्ट्र बैंकका कारण शेयर बजार घटेको आरोप लगाए । ‘अर्थमन्त्रालय लगानीकर्ताको मागप्रति सिरियस देखेको छु, राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा ४–१२ करोडको व्यवस्था गर्दा शेयर बजार घटेको विज्ञहरूको भनाइ छ, यसलाई सच्याउनु पर्छ, सबैले लगानीकर्ताको हितमा काम गर्नु पर्छ’, उनले भने पत्रकार सम्मेलनमा बताए । 

तर धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अरुबाट परिचालित भएर पत्रकार सम्मेलनको आयोजना गरेको देखिन्छ । पत्रकार सम्मेलन गर्नपूर्व अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए । अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच मनमुटाव छ । अध्यक्ष हमालले बोलेका सबै कुराहरू अर्थमन्त्रीले सिकाएर पठाएको जस्तो भान पत्रकार सम्मेलनमा देखिन्थ्यो । 

एक नियामक निकायका प्रमुखले अर्को नियामक नियामक निकायमाथि आरोप लगाउनु सामान्य होइन । आर्थिक अवस्था कमजोर बन्दै गएका बेला यसरी नियामक निकायबीच नै आरोप प्रत्यारोप लगाउने अवस्था आउने हो भने झनै समस्या आउने देखिन्छ । यसरी नियामक निकायकाबीच नै भनाभन हुने अवस्था रहने हो भने भोलिका दिनहरूमा झनै समस्या देखिने अवस्था आउन सक्ने स्थिति देखिन्छ । 

यसअघि धितोपत्र बोर्डले शेयर धितो कर्जामा गरिएको कडाइका बारेमा कुनै शब्द बोलेको थिएन । तर जब अर्थमन्त्री शर्मासँग अध्यक्ष हमालले छलफल गरे तब मात्रै उनले सार्वजनिक रुपमा नै राष्ट्र बैंकमाथि आरोप लगाएर आफु उम्किन खोजेको देखिन्छ । अर्थमन्त्री शर्माले नै अध्यक्ष हमाललाई राष्ट्र बैंकविरुद्ध बोल्न सिकाएर पठाएको होकी भन्ने प्रश्न उठेको छ । तर अध्यक्ष हमालले भने शेयर धितो कर्जामा ४/१२ बारे कुराबारे अर्थमन्त्रीसँगको छलफलमा नभएको बताएका छन् । ४/१२ को नीतिले शेयर बजार घटेको होकी भन्ने विज्ञहरूको सुझाव आएकाले आफुले बोलेको उनले बताए । 

‘मैले राष्ट्र बैंकलाई दोष लगाएको छैन् । उहाँहरुले नीति त राम्रो ल्याउनुहुन्छ तर सबैले ल्याएको नीति राम्रो हुँदैनन् नी । उहाँको इन्टेन्सन नराम्रो होइन् । अहिले विज्ञहरूको बुझाईमा ४/१२ को नीतिले गर्दा शेलस मार्केटको स्थिति क्रेट भयो की भन्ने एउटा सुझाव आएको छ ।’ उनले भने, ‘त्यसलाई एडजस्ट गर्न राष्ट्र बैंकसँग समिति बनाईएको छ । समितिमा लगानीकर्ताका, सरकारवालाका उचीत कुराहरू सम्बोधन गर्ने भनेर काम गरिरहेको छ । यो कुरा १५ दिनअघि भएकाले विहान (अर्थमन्त्रीसँगको छलफल) को छलफलमा कुनै सरोकार राख्दैन् ।’   

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा शेयर धितोको कर्जामा ४/१२ को नीति ल्याएको थियो । कुनै पनि व्यक्ति वा संस्थाले एउटा संस्थाबाट अधिकतम ४ करोड र समग्र प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म शेयर धितो राखेर कर्जा लिन पाउने व्यवस्था गरिएको थियो ।

धितोपत्र बोर्डका अध्यक्षले पत्रकार सम्मेलनमा अन्य कुराहरू सकरात्मक रुपमा उठाए पनि राष्ट्र बैंक माथि भने आरोप लगाएपछि उनी आफै विवादमा तानिएका छन् । राष्ट्र बैंकका नीतिका बारेमा समिति गठन गरे पनि उनले अन्य केके सुझाव आएको थियो सो बारेमा समेत बोल्नुपर्ने थियो । तर एउटै कारण देखाएर मात्रै आन्दोलित बनेका लगानीकर्तालाई खुसी बनाउन खोजेको देखिन्छ । पत्रकार सम्मेलन सकिएपछि लगानीकर्ता झनै आन्दोलित बनेका छन् । आफुहरुका माग सम्बोधन नभएको भन्दै आक्रोसित नै बनेका हुन् । 


प्रतिक्रिया दिनुहोस्