मर्जरको क्रममा रहेका ६ बैंकसहित एक दर्जन कम्पनीको सेयर कारोबार फुकुवा, अन्यको कहिले ? « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

मर्जरको क्रममा रहेका ६ बैंकसहित एक दर्जन कम्पनीको सेयर कारोबार फुकुवा, अन्यको कहिले ?



काठमाडौं । एक दर्जन कम्पनीहरुको सेयर कारोबार फुकुवा भएको छ । मर्जर तथा एक्विजिशनका कारण सेयर कारोबार रोक्कामा रहेका १२ कम्पनीको कारोबार फुकुवा भएको हो ।

नेपाल स्टक एक्सेचञ्ज (नेप्से)ले मंसिर दोस्रो सातासम्ममा १२ वटा बैंक तथा वित्तीय कम्पनीहरुको सेयर कारोबार खुला गरेको छ । धितोपत्र बोर्डले मर्जरमा जाने कम्पनीहरु तथा जान लागेका कम्पनीहरुको शेयर कारोबार बढीमा १५ दिन भन्दा रोक्का गर्न नपाइने निर्देशन बमोजिम बैंकको कारोबार खुला गरेको हो ।

मंसिर दोस्रो सातासम्म ६ वटा वाणिज्य बैंक, तीन निर्जीवन बीमा कम्पनी, तीन वटा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले मर्जरका क्रममा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा, कुमारी, एनसीसी, सिभिल, सेञ्चुरी बैंक, साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त, आदर्श लघुवित्त, सिदार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेहेको छ ।

यसका बाहेकका मर्जरका क्रममा रहेको अन्य बैंक तथा वित्तीय कम्पनीहरुको पनि सेयर कारोबार फुकुवा हुने क्रममा रहेका छन् । सूचीकृत कम्पनीहरुको लागि गाभ्ने÷गाभिने तथा प्राप्ति सम्वन्धी निर्देशिका २०७९, कार्यान्वयनमा आएको छ । अब मर्जर तथा एश्विजिशनका कारण सेयर कारोबार रहेका कम्पनीहरुको सेयर कारोबार फुकवा हुने भएको हो ।

नयाँ निर्देशिका अनुसार मर्जर तथा एक्विजिशन प्रक्रिया पुरा भईसकेपछि एकीकृत कारोबार सुरु भएको बढीमा १५ दिन मात्र सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार अब लामो समयदेखि कारोबार बन्द भएका लघुवित्तको सेयर फुकुवा हुने भएको हो ।

एक आपसमा गाभिन मर्जर सम्झौता गरेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको पनि सेयर कारोबार फुकुवा भएको हो । यी दुवै बैंकको मंसिर २ गते कारोबार फुकुवा भएको हो । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ (१) बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कारोबार फुकुवा गरेको हो । यी दुवै बैंकले गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको थियो । बैंकको एकीकृत कारोबार भने आगामी पुस मसान्तसम्म हुने बताइएको छ ।

नेप्सेले सिभिल बैंकको पनि सेयर कारोबार फुकुवा गरेको छ । हिमालयन बैंकसँग मर्जरमा जाने तथा गाभिने सम्झौता गरेसँगै बैंकको शेयर कारोबार नेप्सेले रोक्का गरिदिएको थियो । नेप्सेले सिभिल बैंकको आधारभूत सेयरधनी बाहेकेको सेयरधनीको सेयर कारोबार मंसिर ६ गतेदेखि फुकुवा गर्ने निर्णय गरेको हो । यी दुवै बैंक मर्जरमा जाने सम्झौता गरेसँगै असार ३० गतेदेखि नेप्सेले दोस्रो बजारको सेयर कारोबार रोक्का गरेको थियो ।

यस्तै, नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का राखेको साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीयको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले यी दुवै कम्पनीको गत मंसिर ७ गते आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यी दुवै कम्पनीबीच गत भदौ ३१ गते आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। नेप्सेले असोज २ गतेबाट यी दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो। दुवै लघुवित्तबीच मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ ।

एक आपसमा मर्जरमा जान सम्झौता गरेका कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको पनि सेयर कारोबार फुकुवा भएको छ । नेप्सेले मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि रोक्का रहेको कुमारी बैंकको सेयर कारोबार मंसिर ८ गते फुकुवा गरेको हो । यता, एनसीसी बैंकको भने गत मंसिर १२ गते सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एक आपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै बैंकको शेयर रोक्का गरेको थियो । यी दुवै बैंकबीच गत असोज १० गते मर्जरमा जान (स्वाप रेसियो १ः१) सम्झौता गरेका थिए ।

यस साता सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा भएको छ । प्रभु बैंकसँग मर्जर सम्झौता गरेको यो बैंकको सेयर कारोबार मंसिर ११ गतेबाट फुकुवा भएको नेप्सेले जनाएको छ । गत साउन १५ गते प्रभु बैंकल सेञ्चुर बैंकलाई प्राप्ति गर्ने निर्णय भएको थियो। सो निर्णयपछि साउन १६ गतेबाट कारोबार रोक्का रहेको थियो ।

नेप्सले सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । मर्जर सम्झौता गरेका यी दुवै कम्पनीको सेयर कारोबार नेप्सेले क्रमशः मंसिर १२ गते र १५ गते फुकुवा गरेको हो । यी दुवै कम्पनी एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो । गत असार २७ गते सिद्धार्थ र प्रिमियरबीच मर्जर सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

यस्तै, नेप्सेले अजोड इन्स्योरेन्ससंग मर्जर प्रक्रियामा रहेको प्रभु इन्स्योरेन्सको पनि सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको सेयर कारोबार मंसिर १५ गते फुकुवा भएको हो । कम्पनीको सेयर गत भदौ गतेदेखि रोक्कामा थियो ।

यता, आदर्श लघुवित्तको सेयर कारोबार पनि फुकुवा भएको छ । मंसिर १४ गतेको निर्णय अनुसार आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो । डिप्रोक्स र आदर्श लघुवित्तबीच गत असोज १४ गते गाभ्ने गाभिने सम्झौता गरेको थिए। सम्झौताभएपछि आदर्शको सेयर कारोबार रोक्का थियो। नेप्सेले आधारभूत शेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्