सातामा साढे ४२ अर्ब बढ्यो सेयर बजारको पूँजीकरण, नेप्से २९ अंक बढ्दा किन सुस्तायो कारोबार ? « Arthapath.com
९ माघ २०७९, सोमबार

सातामा साढे ४२ अर्ब बढ्यो सेयर बजारको पूँजीकरण, नेप्से २९ अंक बढ्दा किन सुस्तायो कारोबार ?



काठमाडौं । यो साता सेयर बजारमा धेरै लगानीकर्ताहरु अलि बढी अन्योलमा देखिए । उनीहरुले अव नेप्से बढिहाल्ने हो की अलि तलसम्म फर्कने हो भन्ने खुट्याउन नसकेको ब्यापार प्रवृत्तिले देखाएको छ ।

यसले धेरै लगानीकर्ता ‘पर्ख र हेर’ को मनस्थितिमा पुगेको देखिएको छ । लामो सार्वजनिक विदा र माघीलगायत चार्डपर्वले यो साता सेयर बजारलाई प्रभावित पारेको छ । पुस मसान्तको हिसाब मिलान गर्ने प्रक्रियामा पनि लगानीकर्ता लागेको हुनसक्छन् । यही कारण यो हप्ताको सेयर बजार अन्योलताकै बीच उकालो लागेको छ ।

यो साता नेपाली सेयर बजारमा तीन दिनमात्रै कारोबार भयो । यसले पनि नेप्सेमा ठूलो बदलाव देख्न सकिएन । यो हप्ता २९ अंक बढेर नेप्से २१ सय ७८ अंकमा पुगेको छ । सोमबारसम्म सार्वजनिक विदा भएपछि बजारमा धेरै लगानीकर्ताले सहभागिता जनाउन सकेनन् । यसको असर बजारको सूचकांकमा परेको छ । गत मंगलबार झण्डै ३३ अंक बढेको नेप्से बुधबार भने ९ अंक ओर्लियो । विहीबार पुनः ५ अंक बढेपछि नेप्से अघिल्लो साताको तुलनामा नयाँ उचाइमा पुगेको हो ।

गत गत मंगलबार २१ सय ३६ अंकमा न्यूनतम विन्दु बनाएको नेप्से बुधबार नै २२ सय १५ अंकको नजिक पुगेर फर्किएको थियो । यसरी ७८ अंकको उतारचढावमा रहे पनि नेप्सेको कारोबार रकम भने खुम्चिएको छ । अघिल्लो साता दैनिक औसत झण्डै ६ अर्बको कारोबार भएकामा यो साता औसतमा ३ अर्ब ८३ करोडको मात्रै सेयर किनबेच भयो । बुधबार अत्यधिक विक्री चाप आएपछि झण्डै ५ अर्बको कारोबार भएर नेप्से ९ अंक घटेको थियो । यसले बजार ओरालो लाग्ने संभावनालाई बढाएको छ ।

यो साताभरमा १ लाख ८८ हजार पटक ब्यापार हुँदा २ करोड ७७ लाख कित्ता सेयरको किनबेच भएको छ । कारोबार संख्यामा पनि यो साता गिरावट आएको छ । गत साता प्रतिदिन औसत १ करोड ४१ लाख कित्ता किनबेच भएकोमा यो साता ९२ लाख कित्ताका दरले मात्रै कारोबार भएको छ । बजार पूँजीकरणको तथ्यांक भने आशालाग्दो छ । यो हप्ता नेपाली सेयर बजारको आकार ४२ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ बढेको छ । सर्वसाधारणकै स्वामित्वमा भएको सेयरको मूल्य पनि १४ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भएको छ ।

बजार पूँजीकरणमा बढोत्तरी हुँदा यसले वित्तीय प्रणालीको तरलतालाई पनि बढाउन मद्दत गर्छ । तर यसका लागि बढेकै भाउमा सेयरको किनबेच भएर त्यसको भुक्तानी हुनु पर्छ । सट्टेबाजीले एउटाको खाताको पैसा अर्कोको खातामा पुग्छ र विस्तारै पूँजीगत लाभले वित्तीय प्रणालीमा मानिसहरुको निक्षेप बढ्न थाल्छ । बजार घट्दा त्यसरी नै मानिसहरुको सम्पत्ति खुम्चिन्छ ।

नेप्सेले हालसम्मको कीर्तिमानी उचाइबाट ४३ प्रतिशतभन्दा धेरै अंक गुमाइसकेपछि अहिले बढ्ने प्रयासमा छ । तर हालको विन्दुबाट पुनः १८०० कै स्तरतिर फर्किएपछिमात्रै दिगो बृद्धिको बाटो समात्न सक्ने संकेत यसअघिका बजार प्रवृत्तिहरुले देखाएका छन् ।


प्रतिक्रिया दिनुहोस्