रिलायन्सको आईपीओमा लेखा समितिको गम्भीर चासो, उठायो ५ प्रश्न « Arthapath.com
२५ असार २०८१, मंगलवार

रिलायन्सको आईपीओमा लेखा समितिको गम्भीर चासो, उठायो ५ प्रश्न



काठमाडौँ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमाथि चासो राखेको छ । समितिले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई उक्त आईपीओ बारे ‘जानकारी दिन’ भन्दै ५ वटा प्रश्न गरेर पत्राचार गरेको छ ।

आईपीओ जारी गर्ने अनुमति दिने निकाय अर्थात् धितोपत्र बजारको नियामक सेबोनले अबको ७ दिनभित्र संसदीय समितिलाई जवाफ दिनुपर्ने छ ।

पछिल्लो समय रिलायन्स स्पिनिङ मिल्सले आईपीओ जारी गर्दा प्रक्षेपित वित्तीय विवरणमा बढी नाफा हुने देखाएको भए पनि हालै सार्वजनिक भएका विवरणहरुले कम्पनीको वास्तविक नाफा ज्यादै कम देखाएको भनेर समितिले प्रश्न उठाएको हो ।

यसअघि संस्थागत लगानीकर्ताहरुका लागि जारी गरिएको आह्वान पत्रमा चालु आर्थिक वर्ष २०८०/८१ मा प्रतिसेयर ३२ रुपैयाँ ९० पैसा आर्जन गर्ने भनिए पनि गत चैतसम्म (९ महिना)को वित्तीय विवरण अनुसार २ रुपैयाँ ८ पैसामात्रै कमाएको भनेर जवाफ मागेको छ ।

लेखा समितिले अघिल्लो साल प्रतिशेयर ५४ रुपैयाँ कमाएको कम्पनीले यो वर्ष २ रुपैयाँमात्रै कमाउने अवस्था किन आएको हो भनेर सन्देह राखेको छ । संसदीय समितिले ‘यसअघि वित्तीय विवरण तयार पार्दा हेराफेरि (मेनिपुलेशन) भएको अनुमान गर्न किन नसकिने ?’ भनेर सेबोनसँग प्रश्न गरिएको छ ।

कम्पनीले आगामी विहीबारदेखि साढे ११ लाख कित्ता प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्न लागेको छ । सुरुआतमा १ करोड ७० लाख ७३ हजार ४०० थान सेयर भएको कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । अब सर्वसाधारणलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बेच्न लागेको हो ।

यो सबै सेयर बाँडफाँट भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड पुग्ने कम्पनीको आह्वानपत्रमा उल्लेख छ । आइपीओ निष्काशनपछि संस्थापक सेयरधनिको स्वामित्व ८९.८६ प्रतिशतमा झर्ने छ । योग्य संस्थागत लगानीकर्ताको स्वामित्व ४.०५६ प्रतिशत र सर्वसाधारणसँग ६.०८४ प्रतिशत स्वामित्व रहने छ ।

कम्पनीले रू. १०० अंकित मूल्यको सेयरमा ७२० रुपैयाँ ८० पैसा प्रिमिय जोडेर प्रतिकित्ता रू. ८२०.८० मा आइपीओ निष्काशन गर्न लागेको हो ।

बुक बिल्डिङ विधिबाट जारी भएको आइपीओमा सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि खरिद आवेदन दिन पाउँछन्। यस हिसाबले यो कम्पनीको आइपीओ खरिद गर्न सर्वसाधारणले कम्तीमा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

यस्ता छन् सेबोनलाई ५ प्रश्नः

१. उक्त कम्पनीको आधारमूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?

२. रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमा आइपीओ ल्याउँदा अर्थात् गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर, अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सीमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा मेनिपुलेशन भएको अनुमान गर्न किन नसकिने ?

३. सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीका तर्फबाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ३२.९० रुपैयाँ, २०८१/८२ मा ३२.८९ र २०८२/८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चैतसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो, सोको स्पष्ट जानकारी उपलब्ध गराइदिनुहुन।

४. उक्त कम्पनीमा बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थ बाँझिएको छ कि छैन ? बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता शेयरका लागि आवेदन दिएका थिए, सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन।

५. कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक–फरक प्रतिशेयर आम्दानी (हरेक आवमा घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र बोर्डको धारणा के हो ?


प्रतिक्रिया दिनुहोस्