ओली सरकारप्रति लगानीकर्ताको ‘दर्बिलो’ मनोबल, सेयर बजारको ‘रौनकदार यात्रा’ अब कता ? « Arthapath.com
५ श्रावण २०८१, शनिबार

ओली सरकारप्रति लगानीकर्ताको ‘दर्बिलो’ मनोबल, सेयर बजारको ‘रौनकदार यात्रा’ अब कता ?



काठमाडौं । ‘कांग्रेस–एमाले’को नयाँ सरकार गठन भएसँगै सेयर बजारमा रौनक फर्किएको छ । निकै लामो समय यता निरन्तर घटेको बजार नयाँ केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएसँगै एकाएक उत्साहमय बनेको छ । पछिल्लो एक सातामै नेप्से परिसूचक १० प्रतिशत बढेको देखिन्छ।

यो सातामा परिसूचक ९.९७ प्रतिशत बढेको हो । अघिल्लो साता २ हजार २०४.६१ अंकको बिन्दुमा बन्द भएको थियो । तर, यो साता भने २१९.७१ अंक बढेर २ हजार ४१४ दशमलव ३२ अंकको बिन्दुमा पुगेको छ । यो साता एक दिन मात्र सेयर बजारमा करेक्सन देखिएको छ भने चारै कारोबार दिन उच्च अंकको बढोत्तरी देखिएको हो । साताको पहिलो कारोबार दिन बजार ५२ दशमलव ९७ अंकको उछाल आएको थियो । त्यसको भोलिपल्ट अर्थात सोमबार भने १७.१८ अंकले घटेको थियो । त्यसपछिको लगातर तीन कारोबार दिन भने उच्च अंकको बढेको छ ।

गत मंगलबार ७० दशमलव १८ अंकले बढेर २ हजार ३१० दशमलव ५९ अंकको उचाईमा पुगेको थियो । जुन २७ महिना यताकै उच्च हो । यस्तै, साताको चौंथो कारोबार दिन पनि परिसूचक ५४ दशमलव शून्य ४ अंकले बढेर २ हजार ३६४ दशमलव ६३ अंकको बिन्दुमा पुगेको थियो । यता, साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । सो दिन बजार २.५२ प्रतिशत अर्थात् ५९ दशमलव ६८ अंकले बढेर २ हजार ४२४ दशमलव ३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

१३ वटै उपसमूहका परिसूचक बढ्यो, बैंकिङ्ग समूहमा उछाल

यो साता सेन्सेटिभ इण्डेक्स ११.३६ प्रतिशत, फ्लोट इण्डेक्स १०.६८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ११.७३ प्रतिशत बढेको देखिन्छ। यो साता १३ वटै उपसमूहको परिसूचकमा पनि बढोत्तरी देखिएको छ। यस साता बैंकिङ्ग समूहमा उच्च बढोत्तरी देखिएको हो । बैंकिङ्ग समूह १३.९९ प्रतिशत वृद्धि भएको छ अर्थात् एक सातामा मै १६७ दशमलव २१ अंकले बढेर १ हजार ३६२ दशमलव १६ अंकको बिन्दुमा पुगेको छ।

यस्तै, यस्तै, व्यापार समूह १२.७७ प्रतिशत, जलविद्युत समूह ११.६० प्रतिशत बढेको छ । अंकको आधारमा भने यो साता निर्जीवन बीमा समूह ७८२ दशमलव १६ अंक बढेको छ । यस्तै, जीवन बीमा पनि ७४७.३० अंक, उत्पादक तथा प्रशोधन समू ६२३.९७, होटल तथा पर्यटन ५४५.८४, विकास बैंक ४४१.९८, माइक्रोफाइनान्स ३१२.७१, फाइनान्स १८१.०५, लगानी समूह ७.०९ अंकले बढेको छ । यो साता म्युचुअल फन्ड भने सामान्य शुन्य दशमलव ७९ अंकले घटेको छ । अन्य समूह ११२.६० अंकले बढेको छ ।

कारोबार रकमले के संकेत गर्छ ?

बजारसँगै कारोबार रकमले पनि नयाँ कीर्तिमान नै राखेको छ । दैनिक औसत कारोबार नै साढे १० अर्ब हाराहारीमा पुगेको छ । अघिल्लो सातामा दैनिक ५ अर्ब औसतमा सेयर खरिदबिक्री हुँदै आएको थियो । तर, यो साता भने दैनिक औसत १० अर्ब ५० करोड १९ लाख बराबरको सेयर किनबेच भएको छ ।

गत साताभर कुल २८ अर्ब २६ करोड ४२ लाख ९ हजार रुपैयाँ बराबरको ५ करोड ८९ लाख २० हजार ९४७ कित्ता सेयर खरिदबिक्री भएको थियो । तर, यो साता भने कुल ५२ अर्ब ५० करोड ९८ लाख ७९ हजार रुपैयाँ बराबरको १३ करोड ९ लाख ६ हजार कित्ता सेयर किनबेच भएको थियो । कारोबारको रकमको आँकडाले अब बुलको यात्रा तय गरेको संकेत गरेको छ । यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि ३८ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ । बजार पुँजीकरण एक सातामै ३ खर्ब ४९ अर्ब रुपैयाँ बढेको हो ।

दरिलो बन्दै लगानीकर्ताको मनोबल, अब मार्केट ट्राभल्स कता ?

नयाँ सरकार निर्माणसँगै सेयर लगानीकर्ताहरुको आत्मवल पनि दरिलो बन्दै गएको देखिन्छ । विशेषगरि नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै सेयर लगानीकर्ताहरु उत्साहित भएका हुन् । उनी लगानीकर्ताले पनि निकै रुचाइएको अर्थमन्त्रीमा पर्छन् । पौडेलले अर्थमन्त्रालयको बागडोर सम्हालेपछि नै बजारमा रौनक छाएको छ । बजारमा झन्डै ३४ महिनापछि सुधारको बाटो छ ।

यो बिचमा राजनीति अस्थिरताका कारण लगानीकर्तामाझ ठुलो अन्यौलता थियो । लगानीकर्ताको मनोबल पनि खस्किदो थियो । तर, कांग्रेस–एमालेको सरकार गठनपछि उनीहरुको आत्मविश्वास बढेको बताइन्छ । अब बजारले पनि दीर्घकालिन लय समाएका उनीहरुको तर्क छ। सबै पक्षले माहोल सकरात्मक हुँदा बजारको आगामी यात्रा अझै सुखद हुने लगानीकर्ताहरुको अपेक्षा छ । ‘बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम पनि थुप्रिएको अवस्था छ । ब्याजदर पनि घट्दो ट्रेन्डमा छ । स्थायी सरकार निर्माणले लगानीकर्ताको मनोबल पनि दरिलो बन्दै गएकाले आगामी दिनमा बजार अझै सकरात्मक बाटो अघि बढ्छ’, एक लगानीकर्ताले बताए ।

केही दिनमा मात्रै सार्वजनिक हुने चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति पनि सेयर बजार मैत्री आउने लगानीकर्ताको अपेक्षा छ। नेपाल राष्ट्र बैंकले १–२ दिनमै मौद्रिक नीति जारी गर्ने तयारीमा छ । बिहीबार साँझ मात्रै प्रधानमन्त्री ओलीले आफ्ना प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडलाई नियुक्ति गरेका छन् । उनको नियुक्तिसँगै शुक्रबार आउने भनिएको मौद्रिक नीति पनि सरेको छ। खतिवडाकै चासोमा केही धकेलिएको मौद्रिक नीतिले बजारमैत्री नीति आउनेमा लगानीकर्ताको ठुलो अपेक्षा छ ।

मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा खुकुलो बनाउने अपेक्षा राखेका छ । उनीहरुले सेयर धितो कर्जामा व्यक्तिगत कर्जाको सीमा १५ करोड र संस्थागतमा २० करोडको सीमा खुकुलो बनाउन राष्ट्र बैंकलाई सुझाव पनि दिएका थिए । यस्तै, लगानीकर्ताहरुले सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गरेका छ ।

मौद्रिक नीति मार्फत यस्ता नीतिहरु खुकुलो सेयरले गति लिने छ । तर, लगानीकर्ताहरुको माग अनुसारको नीति नआएको खण्डमा भने आगामी साता बजार करेक्सन हुन सक्ने अनुमान गरिएको छ । ‘मौद्रिक नीति हामीले दिएको सुझावअनुसार नै आउने अपेक्षा छ। अहिलेको सरकारमा र्थमन्त्री, गभर्नर लगायतको ट्यूनिङ्ग पनि मिल्ने भएकाले बजारमैत्री नै नीति अवलम्बन हुनेछ’, ती लगानीकर्ताले भने ।

प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेलले पनि सेयर बजारलाई चलायमान बनाउने नीति लिनुपर्ने बताउँदै आएका छन् । विभिन्न संघ/संस्था, लगानीकर्तासंगको भेटघाट तथा छलफल र सार्वजनिक फोरमहरुमा पनि उनीहरुले सेयर बजारलाई खुकुलो बनाउने अभिव्यक्ति दिँदै आएका छन् । यसले पनि केही खुकुलो नीति आउने लगानीकर्ताको अपेक्षा छ।


प्रतिक्रिया दिनुहोस्