अर्थमन्त्रीको सेयर बजार लक्षित अभिव्यक्ति : साख जोगाउने चिन्ता कि दीर्घकालीन ‘ग्रोथ’को ?
काठमाडौं । नेपालीमा एउटा उखान छ नि – ‘नमच्चिने पिङको सय झड्का’ ! यो उखान कताकता नेपाली सेयर बजारसँग मिल्दोजुल्दो छ । बजार बढेपछि अब कहिल्यै घट्दैन भने जस्तै हुन्छ । लगानीकर्तामा यस्तो भ्रम सिर्जना हुन्छ – लाग्छ अब बजारमा कहिले घाटा हुँदैन । त्यही बजार जब घट्न सुरू हुन्छ नि – अनि संसार नै सक्किए झैँ हुन्छ ।
नेपाली सेयर बजारमा न आधारभूत विश्लेषणले काम गर्छ, न प्राविधिक विश्लेषणले । हल्लाको भरले नै बजार उथलपुथल बनिदिन्छ । सेयर बजार बढ्नुपर्ने र घट्नुपर्ने आधार हुन्छन् । तर ती आधारले सायदै काम गर्छ ।
सेयर बजारका लागि दीर्घकालीन रणनीति बनोस् नबनोस् सँग लगानीकर्तालाई त्यति सरोकार हुन्न जति विश्लेषक ठहरिएका केही व्यक्ति, नेता, मन्त्री तथा प्रधानमन्त्रीले दिने अभिव्यक्तिसँग सरोकार हुन्छ ।
यहाँ बजार घटबढका लागि प्रधानमन्त्री र मन्त्रीले दिने अभिव्यक्तिले सूत्रको काम गर्छ ।
पछिल्लो केही समययता बैंकको ब्याजदर निरन्तर ओरालो लागिरहेको छ, र लागिरहेको थियो । बैंकहरूको ब्याजदर एकल अंकमा छ, एकल अंकमै थियो । ऋण लिनका लागि पनि वातावरण सहज बन्दै गइरहेको अवस्थामा पनि रहँदा पनि सेयर बजारले उँभो गति लिन सकेन । लगानीकर्ताहरू ‘पर्ख र हेर’को मनस्थितिमै रहे । बजारमा ३–४ अर्ब हाराहारी मात्र कारोबार हुने अवस्था थियो । यो केही अगाडिको अवस्था हो ।
जब एमाले–कांग्रेसको सत्ता समीकरणमा सरकार बन्यो त्यसयता सेयर बजार अस्वाभाभिक रूपमा बढ्यो ।
उपप्रधान–एवं अर्थमन्त्रीको पदभार ग्रहण गर्दै लगानीकर्ताका प्रीय मानिएका विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे । त्यसपश्चात बजार एकाएक उकालो लाग्यो । थोरै ‘करेक्सन’का बीच करीब डेढ एक महिनामा बजार झन्डै एक हजार अंकले बढ्यो । अर्थमन्त्री पौडेलमात्र होइन प्रधानमन्त्रि केपी शर्मा ओलीले समेत बलिरहेको दियोमा घिउ थप्ने काम गर्थे ।
प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म बजारप्रति सकारात्मक अभिव्यक्ति दिन्थे । बजारमा कारोबारले दिनप्रतिदिन नयाँ कीर्तिमानी पनि बनायो । २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबारसहित ऐतिहासिक रेकर्ड बन्यो । बजार परिसूचक पनि करीब ३ वर्षयताकै उच्च बिन्दुमा पुग्यो । अन्ततः बजार ३०००.८१ बिन्दुमा पुगेर ओरालो लाग्यो । इन्ट्रा–डे कारोबारमा त ३ हजार ४८ अंकसम्म पुग्यो । बजार परिसूचक २०७८ भदौ २ गते बनाएको ऐतिहासिक बिन्दु ३१९८.६० नजिक नजिक नै पुगेर फर्कियो ।
यसरी छोटो समयमा नै बजार ठूलो उथलपुथल देखियो । यसअघि पनि विष्णु पौडेल अर्थमन्त्री हुँदा २ पटक सम्म बजारले ऐतिहासिक रेकर्ड बनाएको थियो । यो पटक ‘ह्याट्रिक’ हान्नेमा लगानीकर्ता तथा जानकार ढुक्क जस्तै देखिन्थे ।
तर त्यसो हुन सकेन । न बजार बढ्नुपर्ने खास कारण नै थियो । न त त्यसरी घट्नुपर्ने कारण नै ।
बजार बढ्दा वाहवाही पाएका अर्थमन्त्री पौडेलको बजार घटेपछि एकाएक निद्रा हराम भयो । बुधबार अर्थमन्त्री पौडेल अर्थमन्त्रालयका राजश्व सचिव, नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यवहाक अध्यक्ष लिएर नेप्सेको कार्यालय पुगेर बजार घट्नुको कारणबारे चासो व्यक्त गरे । बजारमा हुने अवाञ्छनीय गतिविधिलाई रोक्न निर्देशन दिए ।
‘बजार निरन्तर बढीरहेको थियो । मुलुकको राजनीतिक घटना क्रम पनि ठिकठाक छ । ३ हजार सम्म पुगेको नेप्से २५ सय मा कसरी आइपुग्यो ? दैनिक ३० अर्ब हाराहारीमा भइरहेको कारोबार पनि सुस्ताएको छ । यस्तो अवस्था किन आयो’, पौडेलले प्रश्न गरे । उनले सरकार पूँजी बजारको दिगो विकासको पक्षमा रहेको विश्वास समेत दिलाए ।
अर्थमन्त्री पौडेलले सकारात्मक प्रतिक्रिया दिएसँगै आइतबार बजार बढ्ने जानकारहरूले बताइरहेका छन् । लगानीकर्ताहरू समेत सामाजिक सञ्जालमार्फत आइबार बजार ’बुम बुम’ हुने प्रतिक्रिया दिइरहेका छन् ।
बजार बढ्नका लागि हुनुपर्ने दीर्घकालीन प्रयासको थालनी छैन । कमजोर कम्पनीहरूले प्रिमियम र बुक बिल्डिङका नाममा कौडीको सेयर सुनको भाउमा बेचिरहेका छन् । यसमा सम्बन्धित निकायको चासो हुन सकेकै छैन ।
प्रतिसेयर आम्दानी र नाफा ऋणात्मक भएका कम्पनीहरूको मूल्य आकाशिएको छ । यतातिर कसैलाई सरोकार छैन । बजार परिसूचकको अंक घटेमा भने अर्थमन्त्रीको निद्रा हराम भएको छ ।
कुनैपनि कम्पनीको सेयर मूल्य बढ्नुमा कम्पनीको मुनाफासँग सम्बन्धित हुनुपर्ने हो । तर यहाँ कम्पनीको वित्तीय अवस्थाको मूल्यांकन हुँदैन । कम्पनीको वित्तीय स्वास्थ्य खराब भएपनि कोही एउटा व्यक्तिले अफवाह फैलाएर त्यही कम्पनीको मूल्य बढ्ने प्रचलन बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कतिपयको वित्तीय अवस्था निकै कमजोर छन् । तर तीनै कम्पनीको सेयर मूल्य महँगो छ ।
बजारमा ‘इन्साइडर ट्रेडिङ’, ‘कर्नरिङ’ र भ्रम फैल्याउने काम भइरहेको छ । यतातिर न सरकारको नजर छ, न नियामक निकायले नै कारबाहीको दायरामा ल्याउन सकेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा सेयर बजार बढ्ने घट्ने कुरा कम्पनीको ग्रोथमा निर्भर रहन्छ । तर नेपालको सन्दर्भमा घाटामा गएका कम्पनीहरूको मूल्य महँगो भइरहेको हुन्छ ।
यसो हुँदा नेताहरूको बोलीकै भरमा बजारको टिकाइ दीर्घकालीन होला ? भन्ने प्रश्न समेत उठ्न थालेका छन् । नेतृत्वकर्ताहरू दीर्घकाल भन्दा पनि आफ्नो क्रेज घट्छ कि भन्ने चिन्तामा देखिन्छन् ।
कम्पनीको ’ग्रोथ’ बिना नै जबर्जस्त बढाएको बजारमा लगानीकर्ता फस्ने जोखिम झनै बढी देखिन्छ । सेयर बजारको बढोत्तरी र घटाईमा भएको राजनीतिकरणले दिर्घकालमा सोझासाझा लगानीकर्ताले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउने निश्चितप्राय छ ।
बजारलाई क्षणिक समयमा बढाउँदैमा दीर्घकालीन प्रगति सम्भव छैन भन्ने कुरामा लगानीकर्ता आफै सजक हुनुको विकल्प छैन ।
बजार दीर्घकालीन बनाउन बलियो नीतिगत व्यवस्थाको खाँचो छ । नेप्सेमा सूचीकृत कमजोर कम्पनीलाई कसरी बलियो बनाउने सरकारले सकारात्मक वातावरणको विकास गर्नुपर्छ । अहिलेको अवस्थामा सरकार नेप्सेको अंक बढाउनेतर्फ मात्र केन्द्रीत देखिएको छ । यसरी त फेरि पनि सेयर बजार ’हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैँ हुने देखिन्छ ।