सेयर बजारमा बीमा कम्पनीको आक्रामक लगानी विस्तार, कुनको ‘पोर्टफोलियो’ कति ? « Arthapath.com
२५ माघ २०८१, शुक्रबार

सेयर बजारमा बीमा कम्पनीको आक्रामक लगानी विस्तार, कुनको ‘पोर्टफोलियो’ कति ?



काठमाडौं । सेयर बजारमा लगानी गर्न नेपाली बीमा कम्पनीहरु निकै आक्रमक देखिएका छन् । कम्पनीहरुले बजारमा लगानी दोब्बर बढाएका छन् ।

एकै वर्ष झन्डै १६ अर्ब रुपैयाँ लगानी सेयर बजारमा थपेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा बीमा कम्पनीहरुले ३३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका छन् ।

यो गत आवको सोही अवधिको तुलनामा भने ९०.३९ प्रतिशत धेरै हो । एक वर्षमा कम्पनीहरुले १५ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ लगानी थपेका छन् । गत आवको दोस्रो त्रैमासमा कम्पनीहरुले १७ अर्ब ५० करोड ९९ लाख रुपैयाँ मात्रै सेयर बजारमा लगानी गरेका थिए ।

हाल संचालनमा रहेका मध्ये १३ वटा जीवन बीमा, १२ वटा निर्जीवन बीमा, २ वटा पुनर्बीमा र ३ वटा लघुबीमा कम्पनीहरुले सेयर बजारमा लगानी गर्दै आएका छन् ।

बीमा प्राधिकरणले लगानी नीति लचिलो बनाउँदै लगेपछि कम्पनीहरु बजारमा लगानी थप्न निकै एग्रेसिभ देखिएका छन् । नियामकीय व्यवस्थाअनुसार बीमा कम्पनीहरुले चुक्ता पुँजीको १० प्रतिशत रकम लगानी सेयर बजारमा गर्न पाउछन् । कम्पनीहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत पब्लिक कम्पनीहरुको सेयरमा भने १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । सोही नीतिगत सहजीकरणले पनि कम्पनीहरुलाई बजारमा लगानी विस्तार गर्न ठुलो टेवा पुगेको छ । गत वर्षको तुलनामा सेयर बजारमा पनि बढोत्तरी नै देखिएको छ ।

सेयर बजारमा जीवन बीमा कम्पनी लगानी दोब्बर बढ्यो, कुनको लगानी पोर्टफोलियो कति ?

सेयर बजारमा लगानी बढाउन जीवन बीमा निकै नै आक्रामक देखिएका छन् । एकै वर्ष कम्पनीहरुले ९७.६६ प्रतिशत लगानी बढाएका छन् । गत आवको दोस्रो त्रैमासमा कम्पनीहरुले १३ अर्ब ३ करोड ७९ लाख रुपैयाँ लगाानी गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने २५ अर्ब ७७ करोड ७ लाख रुपैयाँ कायम भएको छ ।


सबैभन्दा ठुलो लगानी पोर्टफोलियो हिमालयन लाइफको देखिएको छ । कम्पनीले बजारमा ७ अर्ब ३३ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । यो गत आवको तुलनामा १६३.३७ प्रतिशत धेरै हो ।

यता, दोस्रो स्थानमा रहेको नेपाल लाफले ३ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ रुपैयाँ लगानी गरेको छ । बजारमा लगानी बढाउन भने सिटिजन लाइफले निकै तगडा देखिएको छ । समिक्षा अवधिमा कम्पनीको बजारमा लगानी ५०७.२६ प्रतिशत वृद्धि भई ८६ करोड १३ लाख रुपैयाँ पुर्याएको छ ।

लगानी बढाउन सानिमा रिलायन्स, नेशनल, आइएमई, रिलायवल नेपाल, सन नेपाल, सूर्यज्योति लाइफ निकै आक्रामक देखिएका छन् । सबै जीवन बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन् ।


निर्जीवन बीमा तर्फ कसको लगानी कति ?

निर्जीवन बीमा कम्पनीहरुको सेयर बजारमा लगानी २६.३२ प्रतिशत वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीहरुले ३ अर्ब ४७ करोड ५९ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका थिए।

तर, चालु आवको सोही अवधिमा भने ४ अर्ब ३९ करोड ७ लाख रुपैयाँ पुर्याएका छन् । समिक्षा अवधिमा तीन वटा कम्पनीहरुको लगानी घटेको छ । तर, अन्य ९ वटा कम्पनीहरुको लगानी भने व्यापाक रुपमा बढेको छ ।

बजारमा राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै लगानी ७९ करोड ४१ लाख रुपैयाँ छ । यस्तै, नेको इन्स्योरेन्सको ६० करोड ५१ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीको ५३ करोड ३७ लाख , आइजीइआई प्रुडेन्सियलको ५२ करोड १० लाख, सिद्धार्थ प्रिमियरको ५० करोड ५७ लाख रुपैयाँ लगानी रहेको छ ।

लगानी बढाउन भने एनएलजी, नेपाल इन्स्योरेन्स, सानिमा जिआइसी तगडा देखिएका छन् ।

पुनर्बीमा र लघुबीमाको कति छ सेयर बजारमा लगानी ?

बजारमा लगानी थप्न दुई पुनर्बीमा कम्पनीहरु पनि आक्रामक नै छ । ६ महिनामै कम्पनीहरुले ३ अर्ब १० करोड १२ लाख रुपैयाँ लगानी गरेका छन् । यो गत आवको तुलनामा २११.३२ प्रतिशत धेरै हो । हिमालन रिइन्स्योरेन्स एक्लैले ३ अर्ब ६५ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेको छ । जबकि, गत आवको पुस मसान्तसम्ममा भने ४० करोड ७२ लाख रुपैयाँ मात्रै थियो ।

यता, नेपाल रिइन्स्योरेन्सको भने ९ करोड ४७ लाख रुपैयाँ मात्रै लगानी छ । यो गत वर्षको तुलनामा ८३.९२ प्रतिशत कमी हो ।


यस्तै, तीन लघुबीमा कम्पनीहरुले पनि बजारमा ७ करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन् । प्राधिकरणका अनुसार ६ महिनामा गार्डियन माइक्रो लाइफले ६ करोड २१ लाख, लिवर्टी माइक्रो लाइफले १ करोड ९ लाख रुपैयाँ लगानी गरेका छन् । यता, ट्रष्ट माइक्रो लाइफले भने १८ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्