त्रिवि उपप्राध्यापकको कैयौं विषयका परीक्षामा एक जना पनि पास भएनन् « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

त्रिवि उपप्राध्यापकको कैयौं विषयका परीक्षामा एक जना पनि पास भएनन्



व्यवस्थापनमा ४६ जना उपप्राध्यापक पदमा ८ जना मात्रै पास

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष लिएको उपप्राध्यापक पदको लिखित परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरेको छ । करीब ५ हजार जनाले विभिन्न विषयमा लिखित परीक्षा दिएकोमा ५१३ जना मात्रै परीक्षार्थी उत्तीर्ण भएको सेवा आयोग कार्यालयका प्रमुख केदारनाथ ढकालले जानकारी दिए । सेवा आयोगले विभिन्न विषयमा १६९ उपप्राध्यापक पदका लागि लिखित परीक्षा सञ्चालन गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीको मौखिक परीक्षा गरी अन्तिम नतिजा प्रकाशन गरिनेछ ।

परीक्षाफल अनुसार, कैयौं विषयमा आयोगले मागेको दरबन्दी पूर्ण हुने गरी समेत परीक्षार्थी उत्तीर्ण भएका छैनन्। जस्तै, व्यवस्थापन संकायका लागि आयोगले ४६ जना उपप्राध्यापक पदका लागि आवेदन माग गरे पनि आठ जना मात्र उत्तीर्ण भएका छन्। व्यवस्थापन संकायमा खुलातर्फ नै २५ जनाको आवेदन मागिएको थियो। आठजना मात्रै उत्तीर्ण भएपछि उनीहरु सबै उपप्राध्यापक बन्ने निश्चितसरह छ। व्यवस्थापन संकायमा ४९६ जनाले परीक्षा दिएका थिए। कानूनतर्फ २१ जना उपप्राध्यापक माग भए पनि ९ जना मात्र उत्तीर्ण भएका छन् । यो संकायका लागि ४४ जनाले लिखित परीक्षा दिएका थिए ।

परीक्षाफल अनुसार, कैयौं विषयमा आयोगले मागेको दरबन्दी पूर्ण हुने गरी समेत परीक्षार्थी उत्तीर्ण भएका छैनन्। जस्तै, व्यवस्थापन संकायका लागि आयोगले ४६ जना उपप्राध्यापक पदका लागि आवेदन माग गरे पनि आठ जना मात्र उत्तीर्ण भएका छन् ।

कतिपय विषयमा त एकजना पनि परीक्षार्थी उत्तीर्ण भएका छैनन्। गणित विषयतर्फ ५ जना उपप्राध्यापक माग भए पनि एक जना पनि उत्तीर्ण भएनन् । यो विषयको उपप्राध्यापक पदमा ११२ जनाले लिखित परीक्षा दिएका थिए। त्यस्तै, कम्प्युटर विज्ञानतर्फ १६ जना उपप्राध्यापक माग भए पनि कुनै परीक्षार्थी पनि लिखित परीक्षामा पास हुन सकेनन्। १२ जनाले कम्प्युटर विज्ञानको उपप्राध्यापकको लिखित परीक्षा दिएका थिए। एक उपप्राध्यापकको पदमा आवेदन मागिएको संस्कृति विषयका लागि लिखित परीक्षामा ७ जना सहभागी भए पनि कुनै परीक्षार्थी पनि उत्तीर्ण भएनन् ।

ग्रामीण विकास विषयमा ७ जना उपप्राध्यापकको माग भए पनि लिखित परीक्षामा ३ जना मात्र उत्तीर्ण भए। ८५ जनाले ग्रामीण विकास विषयको उपप्राध्यापक बन्न परीक्षा दिएका थिए । कम्प्युटर इन्जिनियरिङमा पाँच जनाको कोटामा तीन जना मात्र उत्तीर्ण भए । इलेक्ट्रिकल इन्जिनियरिङमा सात जनाको पदमा तीन जना मात्र उत्तीर्ण भए ।

त्यस्तै, रसायनशास्त्रमा १३ जना उपप्राध्यापक माग गरिए पनि ५ जना मात्र उत्तीर्ण भए । रसायनशास्त्रको उपप्राध्यापक पदमा २०६ जनाले लिखित परीक्षा दिएका थिए । त्यस्तै, भौतिकशास्त्रमा ३०५ जनाले परीक्षा दिए पनि ८ जना मात्र उत्तीर्ण भए। आयोगले भौतिकशास्त्रतर्फ १७ उपप्राध्यापक पदमा आवेदन मागेको थियो। त्यस्तै, प्राणीशास्त्रमा १६२ जनाले लिखित परीक्षा दिएकोमा ७ जना मात्र उत्तीर्ण भए । प्राणीशास्त्र पढाउन १७ उपप्राध्यापक माग गरिएको थियो । हिमालखबरबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्