क्यानाडाले नेपाली सहित १२ लाख मानिस लैजाने, हालसम्मकै धेरै आप्रवासी भित्र्याउने « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

क्यानाडाले नेपाली सहित १२ लाख मानिस लैजाने, हालसम्मकै धेरै आप्रवासी भित्र्याउने



काठमाडौं । क्यानडाले आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेको छ । यसको लाभ नेपालीले पनि लिन सक्ने त्यहाँको संघीय आप्रवासन मन्त्रालयले जनाएको छ ।

संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठुलो टेवा पु¥याउने भन्दै यस्तो योजना सार्वजनिक गरेका हुन् । मुलुकलाई ठुलो संख्यामा जनशक्ति आवश्यक पर्ने भन्दै उनले आप्रवासनद्वारा त्यसलाई परिपूर्ति गर्ने योजना रहेको बताए ।

राजधानी ओटावामा संवाददाताहरूसँग कुरा गर्दै मन्त्री मेन्डिसिनोले सन् २०२१ मा ४ लाख १ हजार आप्रवासीलाई स्थायी बसोबास (पीआर) अनुमति दिइने बताए । त्यस्तै २०२२ मा थप ४ लाख ११ हजार र २०२३ मा ४ लाख २१ हजार नयाँ आप्रवासीलाई पीआर अनुमति दिइने उनले बताए ।

‘क्यानडालाई थुप्रै कामदारहरू चाहिन्छ’, उनले भने, ‘त्यो परिपूर्ति गर्ने उपाय आप्रवासन हो ।’ मन्त्री मेन्डिसिनोले कोरोनाले मुलुकको अर्थतन्त्रलाई निकै क्षति पुगेको भन्दै आप्रवासन महत्वपूर्ण रहेको बताए । ‘

महामारी पहिले आप्रवासनद्वारा अर्थतन्त्र माथि लैजाने तथा सरकारको लक्ष्य प्राप्तिका लागि आप्रवासन महत्वकांक्षा थियो’, उनले भने, ‘यो अहिले अपरिहार्य छ ।’ यदि सरकारको यो नीति कार्यान्वयन भए सन् १९११ पछि सबभन्दा बढी क्यानडामा आप्रवासी भित्रिने इतिहास बन्नेछ ।


प्रतिक्रिया दिनुहोस्