हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस



काठमाडौँ । सरकारद्वारा गठित हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले मस्यौदा तयार पारेको छ । “दुई दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकारात्मक प्रभाव पर्न जाने देखिएकोले,” मस्यौदामा भनिएको छ, “सार्वजनिक निकायहरूमा हप्तामा दुई दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिब रहेको व्यहोरा समिति सिफारिस गर्दछ ।”

प्रतिवेदनको मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय घिमिरे, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल र अर्थ मन्त्रालयका प्रतिनिधिले तयार पारेका हुन् ।

“कतिपय खर्च–इन्धन, विद्युत्, पानी तथा सरसफाइ, यातायात खर्चहरू करिब १६ देखि २० प्रतिशतसम्म कटौती गर्न सकिने हुन्छ,” प्रतिवेदनको मस्यौदमा दुई दिन बिदा दिनुको फाइदाबारे लेखिएको छ, “आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सामान्य अनुमान गर्दा हप्तामा दुई दिनको सार्वजनिक बिदा दिने व्यवस्थाले वर्षभरीमा करिब १ अर्ब ६४ करोड ९१ लाख रूपैयाँ बचत हुने देखिन्छ ।”

हप्तामा ५ दिन (४० घण्टा) कार्यालय समय र २ दिन सार्वजनिक बिदा दिने विषयमा सरकारले निर्णय गरेको अवस्थामा निजामती, सैनिक, प्रहरी, सशस्त्र प्रहरी तथा सामुदायिक विद्यालयका शिक्षक, विश्वविद्यालयका प्राध्यापक एवं सरकारी संस्थानहरूमा करिब ५ लाख कर्मचारीले दुई दिन बिदा पाउनेछन् ।

सरकारी कर्मचारीले दुई दिन बिदा पाउँदा आफ्नै पालनपोषणभित्रको परिवारभित्र करिब २५ लाखले फुर्सदको समय प्राप्त गर्ने मस्यौदामा उल्लेख छ । निजी क्षेत्रमा पनि दुई दिन सार्वजनिक बिदा लागू गरेमा १० लाख र परिवारसहित ५० लाखले दुई दिन फुर्सद पाउने जनाइएको छ ।

निजी र सरकारी कर्मचारीलाई हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदा ७० देखि ८० लाख मानिसहरूले हप्ताको दुई दिन बिदा उपयोग गर्न पाउने मस्यौदामा देखाइएको छ ।

“दुई दिनको बिदामध्ये हप्तामा एक दिन आराम गरेर बाँकी एक दिन घुमघामका लागि निस्कँदा ८० लाख मानिसको १० प्रतिशत मात्र हुँदा ८ लाखले आफ्नो घर, टोल भन्दा अन्यत्रको पर्यटकीय तथा मनोरञ्जनात्मक क्षेत्रमा व्यतित गर्न सक्ने अनुमानका आधारमा पनि यो दुई दिने बिदा आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोगी बन्ने अनुमान गर्न सकिन्छ,” मस्यौदामा लेखिएको छ ।

कोरोना महामारीले पर्यटन क्षेत्र धराशायी बनेपछि पर्यटन प्रवद्र्धनको लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिनेसम्बन्धी अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले अध्ययन समिति गठन गरेको थियो ।

समितिले विश्वका १२७ देशको सार्वजनिक बिदाको समेत अध्ययन गरेको थियो। अध्ययन गरिएका १२७ मध्ये ११५ देशमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरेको पाइएको थियो। अध्ययनमा परेका एसियाका ४३ देशमध्ये ३८ वटामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिइँदै आएको छ। यस्तै, सार्कका ८ देशमध्ये नेपालबाहेक सबैमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने प्रावधान रहेको प्रतिवेदनको मस्यौदामा उल्लेख छ ।देखापढी


प्रतिक्रिया दिनुहोस्