दशैँको टीका लगाउने मन्त्रको अर्थ के हो ? « Arthapath.com
२९ आश्विन २०७८, शुक्रबार

दशैँको टीका लगाउने मन्त्रको अर्थ के हो ?



काठमाडौं । दशैँमा टीका लगाउँदा आशीर्वाद स्वरुप भन्ने दुई संस्कृत श्लोक छन् । यसमध्ये नारीलाई टीका लगाएर आशिर्वाद दिँदा भन्ने भन्त्र ‘दुर्गा सप्तसती (चण्डी)’को अर्गला स्तोत्रबाट लिइएको हो । पुरुषलाई दिने आशिर्वादको मन्त्र भने कुन स्रोतबाट लिइएको भन्ने उल्लेख छैन ।

देवी चामुण्डा

दशैँमा आशिर्वाद दिँदा भन्ने मन्त्र र त्यसको नेपाली भावार्थ यस्तो छः

नारीलाई आशिर्वाद दिँदा भन्ने मन्त्रः

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।

अर्थात्,

सबैभन्दा उत्कृष्ठ एवम् विजयशालिनी माता जयन्ती हुन् । आफ्ना भक्तलाई जन्म र मृत्युको चक्रबाट मुक्ति दिनेवाली मोक्षप्रदायिनी माता मंगला हुन् । प्रलयकालमा सम्पूर्ण सृष्टि नै निलिदिन सक्ने महादेवीको नाम काली हो । हातमा कपाल र गलामा मुण्ड (टाउकाको) माला धारण गर्ने देवी पकालिनी हुन् । अष्टांग योग, उपाषना र कर्ममार्फत् दुःसाध्य (ज्यादै कठीन) साधना गरेर प्रापत गर्ने देवी दुर्गा हुन् ।

आफ्नो करुणाका कारण सम्पूर्ण भक्तमात्र होइन, विरोधीलाई पनि क्षमा दिनेवाली माता जगत् जननी नै क्षमा हुन् । शिवकी अर्धाङ्गिनी बनेर संसारको कल्याण (शिव) गर्नेवाली माता शिवा हुन् । सम्पूर्ण प्रपञ्च (सांसारिक माया, अलौकिक शक्ति, छल)की स्वामिनी माता धात्री हुन् । यज्ञभाग ग्रहण गरेर देवतालाई पोषण दिनेवाली माता स्वाहा हुन् । श्राद्ध, पिण्ड र तर्पण ग्रहण गरेर पितृलाई पोषण दिनेवाली माता स्वधा हुन् । देवी जगदम्बाका यी सबै स्वरुपलाई प्रणाम छ ।

हे देवी चामुण्डा ! तपाइँको जय होस् । सम्पूर्ण प्राणीहरुको पीडा हर्नेवाली देवीको जय होस् । सबैको आत्मामा र सबै ब्रह्माण्डमा सर्वत्र रहनेवाली देवी तपाइँको जय होस् । माता कालरात्रि ! तपाइँलाई मेरो नमस्कार छ ।

पुरुषलाई आशिर्वाद दिँदा भन्ने मन्त्रः

आयुद्र्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं बिदुरे भवति भावताम् किर्तिश्च नारायणे ।।

अर्थात्,

द्रोणाचार्यका छोरा चीरञ्जिवी अश्वत्थामाको जस्तो दीर्घायु होस् । भगवान रामका पिता महाराज दशरथ (१० वटा रथमा सवारहुनेवाला)को जस्तो कान्ति र समृद्धि होस् । श्रीरामकै समान शत्रु नाश गर्ने सामथ्र्य होस् । राजा नहुष (धर्ति र स्वर्ग दुबैतिरका राजा) झैं ऐश्वर्य र आधिपत्यका स्वामि होस् । वायु (हावा)को जस्तो गति होस् ।

महाभारतका युवराज दुर्योधनको जस्तो सम्मान (जसका अघि भीष्म पितामह, गुरु द्रोणाचार्यसमेत नतमस्तक थिए) होस् । सन्तनुपुत्र भीष्मको जस्तै शौर्य होस् । श्रीकृष्णका दाइ बलरामझैं बलवान् होस् । कान्तिपुत्र युधिष्ठिरझैं सत्यनिष्ठ होस् । पाण्डव र कौरवका काका विदुर झैं ज्ञानी होस् । नारायण (भगवान विष्णु)का झैं कीर्ति होस् ।

यी दुई मन्त्र नारी र पुरुषलाई भिन्दाभिन्दै रुपमा आशिर्वाद दिन प्रयोग गर्ने भए पनि जानकारहरु दुबै मन्त्र नारी वा पुरुष दुबैका लागि उपयोगी रहेको बताउँछन् बताउँछन् । पुरुष पात्रबाट पुरुषहरुले र नारी पात्रबाट नारीहरुले उत्प्रेरणा लिन सकुन् भनेर यस्तो भिन्दाभिन्दै मन्त्रको प्रयोग गर्ने अभ्यास भएको हुनसक्छ ।

यी दुबै मन्त्रको भाव नजानी वा सही उच्चारण नगरी आशिष दिएर त्यो फलिभूत हुन्न भन्ने मान्यता छ । यही कारण दुबै मन्त्रको भावार्थ बुझेपछि यसको प्रयोगमा सजिलो हुने छ ।


प्रतिक्रिया दिनुहोस्