नरसिम्हनको “ सीता – अ टेल अफ एन्सिएन्ट लभ स्टोरि ” पुस्तक विमोचित « Arthapath.com
२० मंसिर २०७८, सोमबार

नरसिम्हनको “ सीता – अ टेल अफ एन्सिएन्ट लभ स्टोरि ” पुस्तक विमोचित



काठमाडौं । लेखिका भानुमती नरसिम्हनको “सिताः अ टेल अफ एन्सिएन्ट लभ” पुस्तक विमोचन सम्पन्न भएको छ । आर्ट अफ लिभिङद्वारा शुक्रबार आयोजित एक सांगितिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो । लेखिकाको साथै मेडिटेशन शिक्षक, इन्टरनेसनल वुमन्स कन्फरेन्सको डाइरेक्टर र आर्ट अफ लिभिङको वुमन वेल्फेयर र बाल संस्कार विभाग प्रमुख पनि हुनुहुन्छ । कार्यक्रममा नेपालको प्रथम महिला एवम् महिला अधिकारकर्मी डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यता र सरकारी सेवाका उच्च पदाधिकारीहरु सहित २८० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले लेखिकासँग सीताको जीवनीबाट सिक्न सकिने नेतृत्व क्षमता सम्बन्धि गहन छलफल गरेका थिए । लंकाको राजा रावणबाट अपहरित भएपछि अशोकवाटिकामा टहल्दै गर्दा सीताको आफ्नै विगतका सम्झनाहरुको संगालोले पाठकलाई अन्तिमसम्म नै तानेर राख्छ । विभिन्न प्रकाशित पुस्तक तथा उपन्यासहरु, धार्मिक ग्रन्थहरुका कहानीहरु/किस्साहरु एवम् पुस्तौँदेखि सुन्दै/सुनाउँदै आएको कहानीहरुलाई समेटेर पुस्तकमा लेखिकाले सरल रुपमा आफ्नो बुझाईहरु प्रस्तुत गरेको छ । यो पुस्तकमा प्रतिभा कुमारीको १६ वटा आकर्षक इलस्ट्रेटिव चित्रहरु पनि समावेश गरिएको छ ।

मिथिला क्षेत्रकि प्रिय राजकुमारी सीता भारतीय ईतिहासमा अत्यन्त सम्मानित नारी हुन् । उनको लोकप्रियताको बाबजुद पनि उनलाई कमैले मात्र बुझेका थिए । उनले सत्यलाई आत्मसात गर्दै जीवनको हरेक संघर्षलाई आदर्शको साथ स्विकारिन् । उनले जीवनमा धेरै त्याग गर्नुप¥यो तर उनी जहाँँ पुगिन् त्यहाँ कहिल्यै केही कुराको कमी भएन । यस्तो लाग्थ्यो उनको जन्म रामकै निम्ती भएको थियो । हरेक परिस्थितिमा रामप्रति सीताको समर्पण र सीताप्रति रामको प्रेम छचल्किन्थ्यो ।

पुस्तकको बारेमा बोल्दै डा. आरजु राणा देउवाले भनीन्, “महिला अधिकारकर्मीको हैसियतले मैले जहिले पनि सीताको सहनशील र शान्त व्यक्तित्व माथि प्रश्न उठाउने गर्दथेँ तर जब म बुझ्ने भएँ मैले महशुस गरेँ कि उनको शान्त र सहनशील स्वभावमा पनि बहादुरी थियो । आफुमाथि आइपरेको हरेक चुनौतीहरुलाई उनले साहस र बुद्धिमताको साथ सामना गरिन् । रावणजस्तो शक्तिशाली, धनी, पराक्रमी र बुद्धिमानले पनि उनको दृढता, सहनशीलता र साहसलाई जित्न सकेन । कलिलो उमेरमै उनले प्रदर्शन गरेको परिपक्वता र बुद्धिमत्ता सदैव उदाहरणीय छ ।

यस पुस्तक पढ्ने जो कोहीले मानव अवतारमा भगवानको दर्शन पाउँछ । पुस्तकले जनकपुरको पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । कथाशैलीको बारेमा लेखिकाले भनीन् “सीताको जीवनप्रतिको बुझाई जहिले पनि स्वार्थरहित, करुणामय र सत्यवादी थियो । उनको नजरबाट उनकै कथाहरु प्रस्तुत गर्न पाउनु गौरवको कुरा थियो । ज्ञानले मानिसलाई आफ्नो भित्री आत्मासँग जोड्छ । पानीको थोपा जब समुद्रसँग मिल्छ, यो पनि समुद्र नै हुन्छ । सीताले रामसँग मात्र हैन, आफ्नो माता सुनयना र पिता जनकसँग, आफ्नो बहिनी उर्मिलासँग र प्रकृतिसँग पनि नजिकको सम्बन्ध राखेकि थिइन् । उर्मिला पनि कथा पछाडिको उत्तिकै बलियो पात्र हुन् र उनको बहादुरी र सहनशीलता पनि प्रसंशनीय छ ।


प्रतिक्रिया दिनुहोस्