सुदूरपश्चिममा पुसे १५ मनाइँदै « Arthapath.com
१५ पुष २०७८, बिहीबार

सुदूरपश्चिममा पुसे १५ मनाइँदै



काठमाडौं– सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ मनाइने गरिन्छ । हरेक वर्ष पुस १५ गते मनाइने पुसे प्रन्ध्रमा रातभरी दन्त्यकथा, आइना, बातै (कहानी) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड, निसौसे रोटीलगायत मिठा परिकार खानपकाएर खाने गरिन्छ ।

आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठो खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको संस्कृतिका जानकारहरु बताउँछन् ।

यस दिन डोटेली संस्कृति अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर सुदूरपश्चिमबासीले पुसे १५ मनाउने गर्छन । यो पर्वलाई ‘पन्नरी रात’ पनि भन्ने गरेका छन् ।

पुस पन्ध्रका राति टोल छिमेकका भेला भएर मुढाको आगो बालेर ताप्ने, जाग्राम बस्ने, चामलको पिठोबाट बनेको निसौसे रोटी, तरुल, पिडालु, सखरखण्ड लगायत खाने र दन्त्य कथा भन्ने सुन्ने गर्छन् ।

पर्व मनाउन एक ठाउँमा भेला हुनेहरूले १५ हात लामो (झन्डै २० फिट) मूढोको आगो ताप्नुपर्ने र एक–अपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउने चलन पनि रहि आएको छ ।

आज अर्थात पुस पन्ध्रको रातको लागि के–के पकाउने भन्ने दिउँसो नै तयारी स्वरुप हरेक घरका गृहणी खानाका मीठा परिकार पकाउने तयारीमा लागेका हुन्छन् । सो पर्वमा विवाहित छोरीवेटीलाई घरमा आमन्त्रण गरी स्वागत एवम् सत्कार गर्ने चलन पनि रहेको छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको छ ।

घरको बुढ्यौली अर्थात पाको मान्छेले दन्त्य कथा र बातै सुनाउने र आगो ताप्दै सुन्ने गरेका हुन्छन् । पुस १५ को यो अवसरले पुराना संस्कार सिक्न पाउँने एक अवसर पनि रहेको छ ।

तर आधुनिक प्रविधिको विकास, आधुनिकतातिर ढल्कँदै गएको समाज र व्यस्त समयका कारण यो प्रचलन पातलिँदै गएको भन्ने बुढ्यौलीको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्