यातायात व्यवस्थापन गर्न १० बुँदे निर्णय : उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छोडिने « Arthapath.com
१६ आश्विन २०८१, बुधबार

यातायात व्यवस्थापन गर्न १० बुँदे निर्णय : उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छोडिने



काठमाडौं । काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो ।

छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो । बैठकले मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको विभागका प्रवक्ता इश्वरी दत्त पनेरुले जानकारी दिए ।

बैठकपछि जारी विज्ञप्तिमा बाढीपहिरोबाट ज्यान गुमाउने यात्रु तथा यातायात मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस विपद्बाट ज्यान गुमाउने यातायात मजदुरको विवरण तथा दुर्घटनाग्रस्त सवारीको क्षतिको विवरण सङ्कलन गरी आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।

सडकमा पहिरो आएर वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने, विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनीकरण गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा गर्नै परे सावधानी एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

देशभरिका विपद्सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने, यातायातको अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पुर्याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीमा अनुरोध गरिएको छ ।

यस्तै अत्यधिक वर्षाका कारणले ‘रेड जोन’मा परेका सडकखण्ड तथा सडकमा हेभी इक्युपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने तथा वर्षातको कारणले अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले पनि आफूसँग भएका हेभी इक्युपमेन्ट प्रयोग गरी बाटो खुलाउन तथा आवश्यक उद्धारमा सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि भएको छ ।

निर्णयहरु :-
१. मिति २०८१।०६।११ र १२ गते भएको अविरल वर्षाको कारणले आएको बढी तथा पहिरोबाट ज्यान गुमाउनु हुने यात्रु तथा यातायात मजदुरहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै यस विपद्बाट ज्यान गुमाउने यातायात मजदुरहरुको विवरण तथा दुर्घटनाग्रस्त सवारीको क्षतिको विवरण सङ्कलन गरी आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने ।

२. सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बिच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरुलाई यथाशिघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने साथै विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनिकरण गर्न अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा गर्ने परे सावधानी एवं सतर्कता अपनाउनु हुन सर्वसाधारणलाई अनुरोध गर्ने ।

३. देशभरीको विपद सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेज मार्फत सम्प्रेषण गर्न अनुरोध गर्ने ।

४. यस विभागमा मिति २०८१।०६।०८ गते बसेको बैठकबाट असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ्ग खुल्ला गरिएको र धेरै यात्रुहरुले टिकट लिई सकेको अवस्थामा मिति २०८१।०६।११ र १२ गते परेको अविरल वर्षाले सडक ठाँउ ठाँउमा अवरुद्ध रहेको तथा जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पुर्वानुमानले समेत अझै केहि दिन वर्षा हुने पुर्वानुमान जारी गरेकोले अग्रीम टिकट लिई सकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पुऱ्याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ्ग गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद् सम्बन्धि सूचनालाई समेत आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्नु हुन यातायात व्यवसायीहरुमा अनुरोध गर्ने ।

६ . काठमाण्डौबाट छट्ने यात्रुबाहक बसहरुले सार्वजनिक यातायातबाट सेवा दिँदा हाल जोखिमयुक्त रहेको काठमाडौ-नारायणगढ सम्मको सडक खण्डको अवस्थालाई मध्यनजर गर्दै काठमाण्डौबाट सवारी साधन छुटे पछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने ।

७. मध्यम तथा लामो दुरीमा सवारी साधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथिमिक स्वास्थ्य उपचारका सामाग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने ।

८. वैकल्पिक मार्गहरुको पहिचान गरी ठूला सवारी साधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटोहरु छनौट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गहरुको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाईट मार्फत जानकारी गराउने ।

९. अत्याधिक वर्षाका कारणले रेड जोनमा परेका सडक खण्ड तथा सडकहरुमा हेभि ईक्युपमेन्ट तैनाथ राख सडक विभागलाई अनुरोध गर्ने ।

१०. वर्षातको कारणले अबरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले पनि आफुसँग भएका हेभि ईक्युपमेन्ट प्रयोग गरी बाटो खुलाउन तथा आवश्यक उद्धार कार्यमा सहयोग गर्न अनुरोध गर्ने ।


प्रतिक्रिया दिनुहोस्