दशैँको तेस्रो दिनः त्रिदेवीको शक्ति दायिनी माता चन्द्रघण्टाको आरधना गरी मनाइँदै « Arthapath.com
१९ आश्विन २०८१, शनिबार

दशैँको तेस्रो दिनः त्रिदेवीको शक्ति दायिनी माता चन्द्रघण्टाको आरधना गरी मनाइँदै



काठमाडौं । आज नवरात्रीको तेस्रो दिन । यस दिन देवी दुर्गाको तृतीय स्वरुप चन्द्रघण्टाको पूजा आरधना गरी मनाइँदै छ । माता चन्द्र घण्टाको स्वरुप सौम्य छ । देवीको यस स्वरुपमा उनका १० हात र तीन नेत्र रहेको बताइन्छ । आगोजस्तै गाढा सुनौलो वर्णकी माता चन्द्रघण्टा बलवान सिंहमा आरुढ हुन्छिन् ।

शिवजीको शीरको अर्धचन्द्र यिनै देवीको शीरमा घण्टाजस्तै देखिने गरी सुशोभित भएका कारण यिनलाई चन्द्रघण्टा भनिएको हो । माताका अघिल्ला दुई स्वरुप मूलतः महाकाली नै भए पनि चन्द्रघंटा भने महाकाली, महालक्ष्मी र महासरस्वतीको एकीकृत स्वरुप हो ।

देवी चन्द्रघण्टाले हरेक हातमा भिन्दाभिन्दै अस्त्र शस्त्र धारण गरेकी छन् । उनका हातमा गदा, धनुष, बाण, त्रिशूल, खड्ग, चक्र, तरवार, बज्रजस्ता शस्त्रास्त्र छन् । साथसाथै कमल फूल, जप माला, कमण्डलू र लक्ष्मीको घडाजस्ता कल्याणकारी साधन पनि छन् । चन्द्रघण्टालाई शक्ति र ज्ञानको स्रोत मानिन्छ ।

सुगन्ध मन पराउनेवाली माता चन्द्रघण्टाको आरधना गर्दा साधकको अहंकार नाश हुने र शान्ति, सौभाग्य एवम् सम्पत्ती प्राप्त हुने विश्वास गरिन्छ । उनको साधना गर्ने साधकले सुगन्धको महसुस गर्ने र कयौं किसिमका आवाज सुनिन सक्छ । यस्तो बेला साधक बढी सावधान रहनुपर्ने हुन्छ ।

तान्त्रिकहरुको मतमा माता चन्द्र घण्टाको उपासना गर्दा साधकमा वीरता, निर्भयताका साथै सौम्य र विनम्रताको गुण पनि विकास हुन्छ । यस साधनाले मान्छेलाई पराक्रमी बनाउने र प्रेत साधनाबाट पनि रक्षा गर्ने बताइन्छ ।

योग साधना गनेहरुले माता चन्द्र घण्टालाई मणिपुर चक्र अर्थात् नाभी चक्रमा ध्यान केन्द्रित गरी जागृत गर्नु पर्छ ।

माताको पूजामा रातो फूल र दूध तथा दूधजन्य सामाग्रीको प्रयोग गर्नु पर्छ । मातालाई मह वा खिर पनि प्रसाद लगाउन सकिन्छ । शैव संस्कृतिका शुक्ल पक्षको तृतीयाको अन्य हिसाबले पनि विशेष महत्व छ । माताको बीजमन्त्र हो, ‘ऐं श्रीं शक्तयै नमः’ हो । नवार्ण मन्त्रको आधा स्वरुप अर्थात् ‘ॐ ऐं ह्रीं क्लीं’ मन्त्रको जपले पनि मातालाई खुसि पार्न सकिन्छ ।

माताको उपासना मन्त्रः

पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यं चंद्रघण्टेति विश्रुता ।।

माताको महामंत्रः

या देवी सर्वभूतेषु मां चंद्रघंटा रूपेण संस्थिता
नमस्तस्यै नसस्तस्यै नमस्तस्यै नमो नमः


प्रतिक्रिया दिनुहोस्