शुरू भयो तिहार, आज धनतेरसमा केके किन्ने र कुन बेला किन्ने ?
काठमाडौँ । तिहार अर्थात् प्रकाश, चेतना र ऐश्वर्यको पर्व हाम्रो घर आँगनमा आइपुगेको छ । यसको पहिलो दिन आज धनतेरस परेको छ । आज मंगलबार बिहान ११ः ०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अधिकारीहरुले जनाएका छन् । त्यसैले आज विहान ११ बजेपछि धनतेरससँगै तिहार पनि शुरू भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार मंगलबार दिउँसोदेखि धनतेरस अर्थात् धन–त्रयोदशी पर्व मनाउनुपर्ने छ । यस दिन धनका देवता कुबेरको पनि पूजा आरधना गरिन्छ । धन र सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडाकुँडा र गरगहना किन्ने गर्छन् । त्यही भाँडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ ।
धनतेरसका दिन सुन, चाँदीजस्ता बहुमूल्य धातु, हिरा, मोति, माणिक्यजस्ता रत्नदेखि तामा, चरेसजस्ता चम्किला र ऐश्वर्य जनाउने धातुका सरसामान खरीद गर्नु राम्रो मानिन्छ । पानीका भाँडा र कुचो पनि किन्नु भन्ने चलन छ । लक्ष्मी–गणेशको मूर्ति यस दिन किन्नु राम्रो मानिन्छ । माटो वा फलामको दीयो पनि किन्दा राम्रो हुन्छ ।
मूलतः आर्थिक लाभका लागि पानीका भाडा, कारोबारमा बृद्धिका लागि धातुको दियो, सन्तान सम्बन्धी समस्या समाधानका लागि तामाको थाली, स्वास्थ्य तथा आयुका लागि घन्टी, घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने र खाने भाँडाकुँडा खरीद गर्नु राम्रो हुन्छ । आज सामान किन्नका लागि दिउँसो पौने १२ बजेदेखि सवा १ बजेको समय उपयुक्त मानिएको छ । विहान साढे १० बजेदेखि नै लाभ बेला सुरु हुने भएकाले यसले उचित परिणाम दिन्छ । अपराह्न साढे २ देखि ४ बजेको बीचमा पनि सामान किन्दा शुभ हुने देखिन्छ ।
शुरू भयो तिहार
यस वर्ष यम–दीप दान भने भोलि अर्थात् बुधबारदेखि शुरू हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको छ । सायंकाल (साँझ)मा त्रयोदशी भएका दिन यमदीपदान शुरू गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनु पर्ने शास्त्रीय व्यवस्था छ ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमराज अर्थात् मृत्युका देवताबाट हुने जोखिम कम हुने ठानिन्छ । यस्तो विधी यमपञ्चक भरी अर्थात् भाइटीकाका दिनसम्म गरिन्छ । परिवारका सदस्य संख्याको आधारमा नदी वा तलाउ वा पिपलको बोटमा लगेर दक्षिण फर्काएर दियो बाल्नुलाई यमदीप दान भनिन्छ । यसो गर्दा अकाल मृत्यु वा मृत्युतुल्य कष्टबाट जोगिने धार्मिक विस्वास रहँदै आएको छ ।
कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । त्यसै दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने छ ।
कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।
गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा पनि यसैदिन परेको छ । काठमाडौँ उपत्यकाका नेवार समुदायले कार्तिक शुक्ल प्रतिपदाको सूर्योदयलाई ‘नयाँ वर्ष’का रुपमा मनाउँछन् । त्यसकारण नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।
भाइटीका कात्तिक १८ गते पर्छ । त्यस दिन विहान ११ः३७ बजे टीकाको शुभ साइत परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
प्रकाशको पर्व
झिलीमिली (प्रकाश)को चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख शहरमा थरीथरीका बत्ती बाल्न शुरू भइसकेका छन् । मठ मन्दिर र घरहरु सिंगार्ने, झिलिमिली बत्ति बाल्ने काम सुरु भइसकेको छ ।
लक्ष्मीपूजाका दिन दुनियाँको भलो होस् भनी भैलो खेलिन्छ । गोवर्द्धन पूजाका दिन द्यौसी खेल्ने गरिन्छ । कतैकतै सामाजिक सहायताका निम्ति तिहार अर्थात् यमपञ्चक सुरु भएदेखि नै द्यौसी, भैलो खेल्न थाल्ने प्रबृत्ति पनि सुरु भएको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि नै द्यौसी, भैलो खेल्ने परम्परा पनि रही आएको छ ।
कौडा, लङ्गुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । यसले जोखिम लिएर चल्ने र सम्पत्तीलाई भाग्यको कृपासँग जोड्ने काम गरिदिन्छ छ । तर धेरै पैसा वा अन्य स्वरुपको सम्पत्ती राखेर जीत, हारका रुपमा जुवा खेल्दा कतिले भने धन सम्पत्ति नै सिध्याउने पनि गर्छन् । यस्तो जुवालाई मनोरञ्जनको तहसम्म सीमित राख्दा राम्रो हुन्छ । तर यो विकृतिको रुपमा विकास हुन थाल्यो भने उल्टै समाजलाई नै हानि पुर्याउँछ भनेर अचेल जुवातासमा राज्यले नियन्त्रण गर्न थालेको छ ।
उमंग छर्न बन्दुक, तोप पड्काउने चलन छ । त्यसलाई सानो आकारमा पटाका पड्काएर समाजका नकारात्मक शक्तिलाई भगाउने काम गरिन्छ ।