तपाईँलाई तुलसीको धार्मिक एवम् औषधीय महत्वबारे कति जानकारी छ ?
काठमाडौँ । आज हरिबोधनी एकादशी एवम् तुलसी विवाह । यस दिन तुलसीलाई देवी लक्ष्मी र शालिग्राम (शिला)लाई भगवान विष्णुको स्वरुप मानेर यी दुईबीच विवाह गराइदिने परम्परा छ । तुलसीको उत्पत्ति नै संसारलाई संक्रमण र रोगबाट बचाउनका निम्ति भएको मानिन्छ ।
धार्मिक मान्यतामा तुलसीको सबैभन्दा सुन्दर वर्णन पद्म पुराणमा गरिएको छ । त्यहाँ भगवान शंकरको मुखबाट तुलसीको वर्णन गरेको पाइन्छ । उक्त पुराणका अनुसार तुलसीले अत्यन्त पूण्यदायीनी र पवित्र देवीको रुपमा अथ्र्याएको छ ।
पुराण अनुसार तुलसीको महात्यमात्रै सुन्नाले पनि आजीवन गरेका पाप नष्ट हुन्छ भनिएको छ । तुलसीको पत्ता, फूल, मूल (जरा), हाँगा, बोक्रामात्रै होइन, तुलसी रोपिएको माटो पनि पवित्र हुन्छ भनिएको छ ।
तुलसीको काण्ड वा हाँगालाई घोटेर बनाएको चन्दनलाई ‘हरि–चन्दन’ भनिन्छ । यस्तो हरिचन्दन लगाउने मानिस सदैव नारायणको निकट रहने पुराणमा उल्लेख छ । तुलसीको सुकेका हाँगाबाट दीप बालेर भगवान नारायणलाई चढाउने हो भने १० करोड दीप–दानको फल मिल्ने बताइन्छ ।
कुनै ब्राह्मणले तुलसीका सुकेका हाँगालाई समीधा बनाएर हवन गर्यो भने एक दाना तीलको हवन गर्दा समेत अग्निष्टोम यज्ञ (पाँच दिनसम्म चल्ने एक वैदिक यज्ञ)को फल मिल्ने उल्लेख छ । तुलसीको दाउरा बालेर पकाएको नैवेद्य भगवान केशवलाई चढाउने हो भने पर्वत समान अन्नदान गरेको फल मिल्छ भनिएको छ ।
अगरबत्ती वा कुनै धूपजस्तै तुलसीको सुकेको हाँगामा गाईको घ्यू दलेर भगवान विष्णुलाई धूप अर्पण गर्ने हो भने १०० यज्ञ अनुष्ठान र १०० गाई दान गरे बराबरको फल मिल्ने भनिएको छ । तुलसीको फेदको हिलो निधारमा लगाएर विष्णुको पूजाआरधना गर्ने व्यक्तिले एक दिनमै १०० दिनको पूजाको फल पाउँछ ।
तुलसाको जराको माटोले नुहाउने हो भने तीर्थ स्नानको फल मिल्छ । तुलसीको नयाँ मञ्जरी (फूल)ले भगवान विष्णुको पूजा गर्ने व्यक्ति सूर्य–चन्द्र रहुञ्जेलसम्म पून्य भोगिरहन्छ भनिएको छ । तुलसीले पूजा गर्दा श्रीहरिले भयंकर उत्पात, रोग तथा संकटको नास गरिदिन्छन् भन्ने पुराणमा वर्णन छ ।
हरेक दिन तुलसीदल (तुलसीको पात)ले विष्णुको पूजा गर्ने व्यक्ति धनवान् हुने उल्लेख गरिएको छ । तुलसीको मूर्ति सम्पूर्ण सिद्धिहरु प्रदान गर्नेवाला हुन्छ । तुलसीको जरामा ब्रह्मा जी, मध्येभागमा जनार्दन र मञ्जरीमा रुद्र देवको निवास हुन्छ भनिएको छ । जुन घरमा तुलसी हुन्छ, त्यो घरमा दरिद्रता, दुःख, भय, रोग अडिँदैन भन्ने पनि मान्यता छ ।
जहाँको हावामा तुलसीको सुगन्ध हुन्छ, त्यहाँका दशै दिशा र चारै किसिमका जीव (बद्ध, मुमुक्षु, मुक्त र नित्य) पवित्र हुन्छन् भनिएको छ । यदि शिव मन्दिरमा तुलसी रोपिदिन्छ कोही भने त्यो तुलसीको मञ्जरीमा जति बिज (बिऊ) हुन्छ, त्यति नै युगसम्म स्वर्गमा निवास गर्छ भनिएको छ ।
जसको मृत शरीर तुलसीको काठले जलाइन्छ, ऊ विष्णु लोक (बैकुण्ठ)मा जान्छ पनि भनिएको छ । यही कारण चितामा तुलसीका हाँगा राखेर शव जलाउने गरिन्छ । यदि मृत व्यक्ति व्यभिचार आदि पापले ग्रस्त छ भने पनि तुलसीको चितामा शव जलाउने हो भने उसको आत्मा शुद्ध हुन्छ भनिएको छ ।
श्राद्ध वा पिण्डदान गर्दा तुलसीदल मिलाएर पिण्डदान गर्नाले १०० वर्षसम्म पितृ तृप्त रहन्छन् ।
औषधीय महत्व
तुलसीलाई आयुर्वेदले पनि निकै महत्व दिएको छ । यसमा अधिकतर रोगको उपचार गर्नसक्ने औषधीय गुण हुने बताइन्छ । खोकी, स्वासप्रस्वास सम्बन्धि रोग, रक्तचाप, मोटोपना, दन्त रोग, किटाणुका कारण उत्पन्न हुने रोग र पाचन समस्याहरुको उपचारमा तुलसी अत्यन्त महत्वपूर्ण हुने बताइन्छ । यसले मानिसको शरीरमा रोग प्रतिरोधी शक्ति बढ्ने बताइन्छ ।
भिटामिन र खनिज तत्वहरुको भण्डारका रुपमा तुलसीलाई लिइन्छ । भिटामिन सी, क्याल्सियम, जिङ्क, आइनर र क्लोरोफिन यसमा पाइन्छ । यसका अलवा सिट्रिक, ट्याटेरिक र मेलिक एसिड पनि पाइन्छ । यसमा हुने ‘एन्टी–इन्फ्लेमेटरी’ एवम् ‘एन्टी–ब्याक्टेरियल’ गुणले मानिसलाई विभिन्न रोग तथा संक्रमणबाट जोगाउँछ ।
खालि पेटमा तुलसीको पत्ता खानाले मानिसलाई आन्तरिक र बाह्य दुबै तवरले फाइदा हुनसक्छ । यसमा ‘एन्टी–अक्सिडेन्ट’ पाइने भएकाले संक्रमणसँग लडेर शरीरलाई मजबूत बनाउँछ । तनाव कम गर्नमा पनि तुलसीपत्ता उपयोगी हुने बताइन्छ ।
ब्लड–सुगरको स्तरलाई नियन्त्रित राख्नमा तुलसीले मद्दत गर्छ । यसैकारण मधुमेहका बिरामीका लागि पनि तुलसीपत्ता उपयोगी हुने छ । फोक्सो र स्वासप्रस्वास सम्बन्धि समस्याका निम्ति तुलसी अत्यन्त राम्रो औषधि मानिन्छ । ट्युबरकोलोसिसका विरामी र धूम्रपानको सेवन गर्नेहरुलाई पनि शारीरिक हानी कम गर्न तुलसी उपयोगी हुन्छ ।
हड्डी तथा जोनीमा हुने दुखाइ एवम् सुन्निने समस्याको उपचारका लागि पनि तुलसी एक वैकल्पिक औषधि हो । स्ट्रेस हार्मोन कोर्टिसोललाई ठीक स्तरमा कायम राख्न तुलसीले उपयोगी भूमिका खेल्छ । कोर्टिसोलको मात्रा शरीरमा घट्ने बित्तिकै तनाव कम हुने र मन चंगा हुनमा मद्धत गर्छ ।
तुलसीले ग्यास्ट्रिक जुस जारी गर्न शरीरलाई उत्तेजित पार्छ । यसले पाचन प्रणालीलाई सक्रीय र सबल बनाउँछ । कलेजो र मूत्राशयलाई ‘डिटक्स’ गर्नमा पनि तुलसीले मद्दत गर्छ । तुलसीमा पाइने इयुजिनोल र एक्टीअक्सिडेन्टले शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ ।
तुलसीको चिया पिउनाले शर्दी र चिसोका कारण हुने एलर्जी तथा खोकि नियन्त्रण गर्न मद्दत मिल्छ । यसका कयौँ फाइदा छन् ।
त्यसैले त हिन्दु नारीहरु हरेक दिन विहान घाम झुल्किनु अघि नै तुलसीको पूजा गरेर पातको पानी खान्छन् । यही तुलसीलाई सृष्टिको पालन र सन्तुलन गर्नेवाल शक्ति अर्थात् भगवान विष्णुको पत्नी मानिन्छ । यसको मतलव पनि मानिस र संसारको पालन पोषणका निम्ति तुलसी ज्यादा महत्वपूर्ण छ ।