‘मोबाइल मनी’ सञ्चालन गर्न क्लियरिङ हाउससँग सम्झौता, अब एनटीसीको मोबाइलबाटै सामान किनेको पैसा तिर्न सकिने « Arthapath.com
९ जेष्ठ २०७८, आईतवार

‘मोबाइल मनी’ सञ्चालन गर्न क्लियरिङ हाउससँग सम्झौता, अब एनटीसीको मोबाइलबाटै सामान किनेको पैसा तिर्न सकिने



काठमाडौं । नेपालमा मोबाइल मनी अर्थात् मोबाइल बैंकिङबाटै खुद्रा कारोबारको भुक्तानी गर्ने व्यवस्था मिलाउन नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले स्थापना गरेको कम्पनी अब नेपाल क्लियरिङ हाउससँग जोडिएको छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ्ग हाउसबीच डिजिटल भुक्तानी सेवामा सहकार्य गर्नेबारे एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम नेपाल क्लियरिङ हाउसको राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग गरेर डिजिटल पेमेण्टन्स कम्पनीले भुक्तानी फछ्र्योट गर्ने व्यवस्था उल्लेख छ । यसका लागि क्लियरिङ हाउसका आइपीएस एवम् कनेक्ट आइपीएसजस्ता प्रणालीको प्रयोग हुने छ ।

यो सम्झौताबाट देशका कुनाकाप्चा र दुर्गम गाउँसम्म मोबाईलको माध्यमबाट वित्तीय पहुँच विस्तार गर्ने र खुद्रा कारोबारलाई नोटरहित बनाउनमा सहयोग गर्ने अपेक्षा गरिएको छ । भारतमा लामो समयदेखि मोबाइल बैंकिङको प्रयोगबाट खुद्रा कारोबार हुँदै आएको छ । अहिले उनीहरु गाउँ तहसम्मै बारकोडको प्रयोग बढाइरहेका छन् । नेपालमा भने लामो बहसपछि दूरसञ्चार कम्पनी बैंकीङ कारोबारमा आउन लागेको हो ।

अहिले पनि नेपालमा यस्तो सेवाको प्रारम्भिक परिक्षणमात्रै भइरहेको कम्पनीले जनाएको छ । यो मोबाईल वालेट सञ्चालनमा आएपछि अनलाईन र अफलाईन दुबै अवस्थामा तथा फिचर फोन प्रयोगकर्ताहरुले समेत मोबाईल वालेट प्रयोग गर्न मिल्ने छ । यो कम्पनीले हालैमात्र नेपाल राष्ट्र बैंकबाट ‘नमस्ते पे’ नाममा भुक्तानी सेवा सञ्चालन गर्ने अनुमति पाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्