अर्को सातादेखि गुगल फोटोको निःशुल्क स्टोरेज बन्द, के हुन्छ विकल्प ? « Arthapath.com
९ जेष्ठ २०७८, आईतवार

अर्को सातादेखि गुगल फोटोको निःशुल्क स्टोरेज बन्द, के हुन्छ विकल्प ?



काठमाडौं । गुगलले अर्को साता अर्थात् जुन १ देखि आफ्ना प्रयोगकर्तालाई दिँदै आएको असीमित फोटोहरू निःशुल्क भण्डारण गरिदिने सुविधा हटाउँदै छ । गत वर्षको नोभेम्बरमै यस्तो घोषणा गरिएको थियो । अब जीमेल र गुगल ड्राइभजस्तै गुगल फोटोजमा पनि प्रतिखाता १५ जिबीसम्म मात्रै स्टोरेज हुने छ ।

यद्यपि, यो महिनाको अन्त्यसम्म भण्डारण भएका तस्वीरको हकमा यस्तो सीमा नलाग्ने बीबीसीले बताएको छ । तर त्यसपछि भने नयाँ तस्वीर स्टोरेज गर्न यही सीमामा बस्नुपर्ने हुन्छ । अब मोबाइलबाट जति फोटो खिचे पनि त्यसलाई राख्नमा ‘हाइसञ्चो’ हुने दिन सकिए ।

गुगल फोटोजमा राखिएको फोटो क्लाउडमा स्टोर हुने भएकाले मोबाइल फेर्दा पनि वर्षौ अघिको फोटो पनि हामीसँगै रहन्छ । गुगलले पनि सन् २०१५ मा ‘लाइफटाइम अफ मेमोरिज’ अर्थात् ‘जीन्दगीभरीको याद’ दिलाउने भन्दै निःशुल्क फोटो स्टोरेज सुविधा दिएको थियो । गुगलले केही महिनाअघि फोटोजमा हरेक हप्ता २८ अर्ब नयाँ तस्वीर तथा भिडियोहरू अपलोड भइरहेको जनाएको थियो ।

त्यसो त, गुगल फोटोजजस्तै याहूको स्वामित्वमा रहेको ‘फ्लिकर’ले सन् २०१८ सम्म आफ्ना प्रयोगकर्तालाई १ टेराबाइट (१ हजार जीबी) सम्म तस्वीर तथा भिडियो भण्डारण गर्ने निःशुल्क सुविधा दिएको थियो । त्यसपछि भने यो प्लेटफमर्मा अहिले जम्मा १ हजार तस्वीर निःशुल्क राख्न पान्छ । त्यसमा पनि २०० एमबीभन्दा ठूलो फोटो र १ जीबीभन्दा ठूलो भिडियो यसमा राख्न पाइन्न । थप भण्डारणका लागि मासिक ७ अमेरिकी डलर वा वार्षिक ६० डलर तिर्नुपर्छ ।

गुगलले पनि आफ्नो अर्को क्लाउड सुविधा ‘गुगल वान’मा १०० जीबीसम्म तस्वीर भण्डारण गर्न मासिक २ डलर वा वार्षिक २० डलर तिर्नुपर्ने व्यवसथा गरेको छ । मासिक ३ डलर वा वार्षिक ३० डलर तिरेर २०० जीबीसम्म क्लाउड भण्डारण गर्ने सुविधा गुगलले दिएको छ ।

गुगलले निःशुल्क रुपमा असीमित तस्वीर भण्डारण गर्ने प्रतिबद्धताबाट पछाडी फर्केपछि कयौं प्रतिस्पर्धी संस्थाहरूले विरोध गरेका छन् । सन् २०१५ देखि यता अन्य प्रतिस्पर्धी कम्पनीले अर्बैं डलरको ब्यापार गुमाइसकेको र अहिले आएर गुगलले पैसा लिन्छु भनेपछि संसारभरका मान्छेलाई एकसाथ ‘ठग्न खोजेको’ आरोप लागेको छ ।

कतिपय युरोपेली अदालतमा त गुगलका विरुद्ध मुद्दा पनि परेको छ । प्रतिस्पर्धीले गुगललाई ‘प्रविधिको दुनियाँमा एकाधिकार स्थापित गर्न खोजेको’ भनेका छन् । जुन विस्वब्यापी स्वतन्त्र ब्यापार व्यवस्थाको विरुद्ध हुनेभन्दै न्यायिक निरुपणको पहल पनि सुरु भएको छ ।

विबाद जता रुमल्लिए पनि अब गुगल फोटोजमा धेरै तस्वीर र भिडियो संग्रहित गरिसकेका ग्राहकले थप फोटो राख्न पाउने छैनन् । अब सन् २०१९ मा फ्लिकर प्रयोगकर्ताले जस्तै आफ्ना पुराना फोटो डिलिट गर्नथाल्नु पर्ने छ या पैसा तिर्नुपर्ने छ । यदी गुगललाई फोटो राखेबापत पैसा तिर्ने हो भने नेपालबाट अर्बैं रुपैयाँ एकसाथ बाहिरिने छ ।

अब उपभोक्ताले गुगल फोटोजका अतिरिक्त आइक्लाउड फोटोज, फ्लिकर, फोटोबकेटजस्ता विभिन्न प्लेटफर्महरूको छनोट गर्नसक्छन् । यी प्लेटफर्ममा पनि केही हदसम्म निःशुल्क तस्वीर भण्डारण गर्ने सुविधा छ । व्यवसायिक फोटोग्राफरका लागि स्मग मग र ५००पीएक्सजस्ता प्लेटफर्महरू पनि उपयुक्त हुनसक्छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्