आधा सस्तो मूल्यमा ‘सीजी नेट’ले सुरु गर्यो इण्टरनेट सेवा « Arthapath.com
१८ जेष्ठ २०७८, मंगलवार

आधा सस्तो मूल्यमा ‘सीजी नेट’ले सुरु गर्यो इण्टरनेट सेवा



काठमाडौं । अर्बपति ब्यापारी विनोद चौधरीको कम्पनी सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । सीजी टेलिकमको लाइसेन्स लिएर मोबाइल सेवाप्रदायकको रुपमा सञ्चार उद्यममा आउने प्रयास गरे पनि सरकारले यो कम्पनीलाई लाइसेन्स नदिएपछि चौधरी ग्रुपले इण्टरनेटको व्यापारमा हात अघि बढाएको हो ।

यसअघि टर्किस मोबाइल कम्पनी टर्कसेलसँगको साझेदारीमा नेपालमा मोबाइल सेवा दिनेबारे सीजी टेलिकमले प्रयास गरेको थियो । यसअघि एनसेलको सेयर बेचेर गएको टेलिया कम्पनीकै अधिकतर स्वामित्वमा रहेको टर्कसेललाई नेपाल भित्र्याउन तत्काल नपाउने भएपछि इण्टरनेटको व्यवसायमार्फत् आफ्नो उपस्थिति दर्बिलो बनाउने उद्देश्यले सीजीले सेवा सुरु गरेको छ ।

कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ सेवा सञ्चालनमा ल्याएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने कम्पनीले बताएको छ । सीजी कम्युनिकेसन्सले जम्मा ९९९ रुपैयाँमा १२० एमबीपीएस गतिको इण्टरनेट सेवा उपलब्ध गराउन थालेको जनाएको छ ।

‘सीजी नेट’ दूरसञ्चार प्राधिकरणबाट देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) को अनुमति पाएको छ । कम्पनीले शुरुवाति चरणमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सेवा उपलब्ध गराउने जनाएको छ । हालका लागि भने ललितपुरको जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको सेवा प्राप्त गर्न सक्ने छन् ।

एक वर्षभित्रै उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने कम्पनीले जनाएको छ । सीजी नेटको वार्षिक प्याकेज लिने उपभोक्ताले यसको जडान र राउटर निःशुल्क पाउने छन् । मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क दिइने कम्पनीले बताएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्