शुरू भयाे ‘नमस्ते पे’, अब ‘टुकटुके’ फोनबाट पनि पैसा पठाउन सकिने « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

शुरू भयाे ‘नमस्ते पे’, अब ‘टुकटुके’ फोनबाट पनि पैसा पठाउन सकिने



काठमाडौँ । अव तपाइँसँग स्मार्ट फोन नभए पनि डिजिटल भुक्तनी गर्न सक्नुहुने छ । नेपालजस्तो देशमा सबैले स्मार्ट फोन बोक्न सक्ने अवस्था छैन । नेपाल डिजिटल पेमेन्ट कम्पनीले पहिलोपल्ट फिचर/ बार (सामान्य की-प्याडवाला) फोनबाटै पनि विद्युतीय भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । यसलाई पहाडतिरका गाउँघरमा टुकटुके फोन भन्ने गरिन्छ ।

मङ्गलवार सोल्टी होटेलमा भएको एक कार्यक्रममा ‘नमस्ते पे’को औपचारिक सुरुवात गरिएकाे छ । डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले *500# डायल गरेर फिचर फोनबाटै पनि नगद भुक्तानी गर्न मिल्ने जानकारी दिए । 

२ वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुरू गरेको डिजिटल नेपाल अभियानलाई सघाउ पुर्याउन नेपाल टेलिकम र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले नेपाल डिजिटल पेमेन्ट कम्पनी सञ्चालनमा ल्याउने सम्झौता गरेका थिए । सम्झौता भएको २ वर्षपछि पेमेन्ट कम्पनीले मूर्त रूप लिएर कारोबार शुभारम्भ गरेको सीईओ कृष्ण भण्डारीले बताए । 

अनलाइन भुक्तानीलाई सहज बनाउन शुरू गरेको ‘नमस्ते पे’ ले अझै निजी क्षेत्रको सेवा प्रदायक कम्पनी एनसेलसँग समेत सहकार्य गर्ने छ । सबै किसिमको विद्युतीय भुक्तानी सेवा दिने नमस्ते पे मा अन्य वालेटले दिन नसकेको फिचर फोनबाट सहजै कारोबारको सुविधा प्रदान गर्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।  

कार्यक्रममा नेपाल दूरसञ्चार कम्पनीको सञ्चालक समितिको अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र वाणिज्य बैङ्कका सञ्चालक समितिको अध्यक्ष तथा अर्थ मन्त्रालयका पूर्व सचिव रामशरण पुडासैनीले १ हजार ५ सय रुपैयाँ ट्रान्सफर गरेर औपचारिक सुरुवात गरे ।

‘नमस्ते पे’ बाट हाल मोबाइल टप-अप गरेर विजुली र खानेपानीको महशुल तिर्न मिल्ने बताइएकाे छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नमस्ते पे ले इन्टरनेट बिना पनि ग्राहाकलाई सेवा दिन सक्ने बताए । नेपाल डिजिटल पेमेन्ट कम्पनीको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ४० करोड रहेको छ । जसमा नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कको ३८ प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपालमा हाल १४ ओटा यस्ता वालेट कम्पनी सञ्चालनमा रहेका छन् । 

नेपाली बजारमा उपलब्ध केही फिचर (बार) फाेन ।

Tags :

प्रतिक्रिया दिनुहोस्