चार्डपर्वमा इण्टरनेटः बढ्दो प्रयोग, चुलिँदो प्रवर्ध्दन « Arthapath.com
२४ आश्विन २०७८, आईतवार

चार्डपर्वमा इण्टरनेटः बढ्दो प्रयोग, चुलिँदो प्रवर्ध्दन



काठमाडौं । कोरोना भइरस महामारीपछि विशेषतः इण्टरनेटको प्रयोगमा ठूलो विस्तार भएको छ । यही कारण अब दूरसञ्चार क्षेत्रमा पनि भ्वइस सेवाभन्दा इण्टरनेटको ब्यापार बढ्न थालेको छ । दूरसञ्चार पुर्वाधारमा भएको सुधारसँगै केही वर्षयता नेपालमा यण्टरनेटको माग तीव्र गतिमा बढिरहेको थियो । कोरोना महामारीले यसलाई अझ धेरै टेवा पुर्यायो ।

विभिन्न किसिमका इण्टरनेट सेवा प्रदायकको उपभोक्ता गणना गर्ने हो भने देशको जनसंख्याभन्दा २ प्रतिशत बढी प्रयोगकर्ता भइसकेका छन् । नेपालमा ब्रोडब्याण्ड इन्टरनेट चलाउनेको संख्या गत असार मसान्तसम्म ३ करोड १० लाख ८३ हजार जना पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । पछिल्लो एक वर्षमा मात्रै ८० लाखभन्दा धेरै मानिसहरुले आफ्नो जीवनमै पहिलो पटक इण्टरनेटको प्रयोग गर्न थालेका छन् ।

एकै व्यक्तिले मोबाइलका फरक फरक नेटवर्क र फिक्स्ड इण्टरनेटको समेत प्रयोग गर्दै आएका छन् । यही कारण सबै मानिस इण्टरनेटको पहूँचमा नपुग्दा पनि प्रयोगकर्ताको संख्या बढी देखिएको हो । इण्टरनेटको खपतमा भएको बृद्धिलाई चार्डपर्वको बेला कम्पनीहरुले ल्याउने योजनाबाट पनि पुष्टि गर्छ । अहिले सबै दूरसञ्चार कम्पनीहरुले इण्टरनेट प्रवद्र्धन गर्ने प्रयास गरिरहेका छन् ।

नेपालमा इण्टरनेटको उपयोग मूलतः फेसबुक, टिकटक, युट्युबजस्ता प्लेटफर्ममा बढी हुन्छ । धेरै मानिसहरु फेसबूकको म्यासेञ्जर एपलाई स्वदेश वा विदेशमा भएका आफन्त एवम् साथिसँग सम्पर्क स्थापित गर्ने माध्यमको रुपमा प्रयोग गरिरहेका छन् । यसैका लागि इण्टरनेट सेवा प्रदायकहरुले भारी मात्रामा उपहार तथा स्कीमहरु घोषणा गरेका छन् ।

नेपाल टेलिकम

नेपाल टेलिकमको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट चलाउनेको संख्या २ लाख ९० हजार २३ जना छन् । कम्पनीले एउटैमा ३ अर्थात फाईबर टु दी होम ९एफटीटिएच०मार्फत इन्टरनेट, भिडियो र भ्वाइस सेवा दिईरहेको भएपनि यसमा ग्राहक आकर्षित गर्न दशैंका लागि भन्दै छुट्टै प्याकेज ल्याएको छैन । तर कम्पनीले प्रदान गर्ने मोबाईल ब्रोडब्याण्डका लागि भने चाडपर्व लक्षित ‘फेस्टिबल अफर’ सार्वजनिक गरिसकेको छ ।

कम्पनीले उक्त अफर असोज २१ गतेदेखि कात्तिक २ गतेसम्म र तिहार, न्हुँदया र छठका लागि कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध गराउने छन् ।

जसमा, डाटा प्याक अन्तर्गत रु। २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक रु ६९ मा उपलब्ध हुनेछ । यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ ।

रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

सुविसुको दक्षिणा अफर

नेपालका इन्टरनेट सेवाप्रदायकमध्ये तेस्रो स्थानमा परेको सुविसुका इन्टरनेट प्रयोगकर्ता २ लाख १० हजार ५ सय १३ जना छन् । कम्पनीले यीबाहेक अन्य ग्राहकलाई आकर्षित गर्नकै लागि ‘दक्षिणा अफर’ नामक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको उक्त अफरअन्तर्गत ५० एमबीपीएस गतिको इन्टरनेटलाई बर्षमा १३ हजार ९ सय ९९ रुपैयाँमै लिन पाईने छ । यो प्याकेजमा जडान शुल्क, डिभाईसको मूल्य र भ्याट पनि जोडिएको छ । यसको रकम इसेवामार्फत भुक्तानी गरे १ हजार रुपैयाँ क्यासब्याक पनि पाईने कम्पनीले जानकारी दिएको छ ।

वर्ल्डलिंकको ‘दशैंको बहार डबल उपहार’

प्रयोगकर्ताका आधारमा सबैभन्दा बढी प्रयोगकर्ता भएको र ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक हो । गत असार मसान्तसम्म कम्पनीका ग्राहक ५ लाख ११ हजार ६ सय ८१ पुगेका छन् । कम्पनीले अझै ग्राहकहरुलाई आकर्षित तुल्याउन दशैं तिहारको मौका पारी ‘दशैंको बहार डबल उपहार’ नामक अफर सार्वजनिक गरेको छ ।

उक्त अफरअन्तर्गत कम्पनीका नयाँ ग्राहकले इन्टरनेट जोड्न चाहेको खण्डमा १ सय एमबीपीएस गतिको इन्टरनेट बार्षिक १९ हजार ५ सय पर्नेछ । यस्तै कम्पनीले दशैंलाई मध्यनजर गर्दै ४०, ६०, ८० र १ सय एमबीपीएस गतिको ६ महिने र १२ महिने प्याकेज सार्वजनिक गरेको हो ।

जसको मूल्य ६ महिने प्याकेजमा क्रमशः ७ हजार ९ सय, ८ हजार ६ सय, १० हजार १ सय र ११ हजार ५ सय तोकेको छ । यस्तै यही प्याकेजहरुको १२ महिनाका लागि मूल्य भने क्रमशः १३ हजार २ सय, १४ हजार ४ सय, १६ हजार ८ सय र १९ हजार २ सय रुपैयाँ तोकिएको छ ।

यी प्याकेजमा १ देखि ३ ओटासम्म टिभीसमेत चलाउन मिल्ने सुविधा दिईएको छ । यी मुल्यहरु २०, ३०, ४० र ५० एमबीपीएस गतिको मूल्य हुन् । कम्पनीले दशैंको मौकामा पुरानै मूल्यमा स्पीड थप गरेर इन्टरनेट प्रदान गर्न लागेको हो ।

भायोनेटको ‘बडादशैंमा बडा स्पिड बढा टिभी’
अन्य सवाप्रदायकजस्तै भायानेटले पनि बडा दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एम आइ एन्ड्रोइड टिभीमा भारी छुटसहतिको बडा स्पीड, बडा टिभी अफर सार्वजनिक गरेको छ ।

कम्पनीको उक्त अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सकिनेछ ।

साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्रतिशत सम्म छुट पाउन सक्नेछन् ।

टेकमाइन्डको फेस्टिभ अफर

चितवनको भरतपुरमा मुख्य कार्यालय भएको टेकमाईन्डले पनि दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको फेस्टिभ अफर नामको अफरमा २५ एमबीपीएस गतिको इन्टरनेट १० हजार ५ सय रुपैयाँ तिरेर बर्षभरीका लागि जडान गर्न सकिने छ । जसमा १ सय मिटर ड्रप वायर, राउटरको मूल्य र भ्याट समावेश गरिएको छ ।

पछिल्लो समय बजारमा राम्रो पकड जमाउने प्रयासमा रहेको प्रभु डिजिटल, सिजी नेटलगायत र बजारमा राम्रै उपस्थिति रहेको क्लासिक टेकले भने दशैंकै लागि भन्दै कुनै अफर सार्वजनिक भईसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्