डिजिटल नेपालको अवधारण साकार तुल्याउन सञ्चार सेवाको पहुँच स्थापितमा प्रतिबद्ध: निर्देशक पौडेल « Arthapath.com
२२ माघ २०७९, आईतवार

अन्तर्वार्ता:

डिजिटल नेपालको अवधारण साकार तुल्याउन सञ्चार सेवाको पहुँच स्थापितमा प्रतिबद्ध: निर्देशक पौडेल



काठमाडौं । वि. स. २०६० माघ २२ गते ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रुपान्तरण भएको ‘नेपाल टेलिकम’ आज आफ्नो स्थापनाको गौरवमय १९ औं वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ ।

१९ वर्ष अघि कम्पनीमा रुपान्तरण हुँदा संस्थाको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा यहि २०७९ मंसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार २ करोड १३ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता १ करोड १५ लाख भन्दा बढी रहेका छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल २०७८ चैत्र महिनादेखि प्रबन्ध निर्देशकका रुपमा कम्पनीमा कार्यरत छन् । दक्षिण कोरियाको कोरियन एड्भान्स इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट सूचना प्रविधिमा स्नातकोत्तर गर्नुभएका उहाँले कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त हुनुभन्दा अगाडि नेपाल सरकारबाट राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी प्रमुखका रुपमा नियुक्त भई सफलतापूर्वक कार्यभार सम्हालिसक्नुभएको छ ।

सूचना प्रविधिको क्षेत्रमा दख्खल राख्नुहुने प्रबन्ध निर्देशक पौडेल नेपाल विद्याभूषण ’ख’ द्वारा विभूषित हुनुहुन्छ यसका साथै, विगतमा नेपाल सरकारको सूचना प्रविधिको डिजिटलाइजेसनमा विज्ञका रूपमा समेत उनले भूमिका निर्वाह गरिसक्नुभएको छ । उनीसँग सूचना प्रविधिको क्षेत्रमा विभिन्न जिम्मेवारीमा रही १५ वर्षभन्दा लामो समय कार्य गरेको अनुभव रहेको छ ।

कम्पनीको उन्नाइसौँ वार्षिकोत्सवको सन्दर्भमा कम्पनीका सेवा विस्तार, गुणस्तरको सुनिश्चितता, नवीन प्रविधिको प्रयोग गरी नयाँ सेवाहरुको उपलब्धतालगायत समसामयिक विषयमा प्रबन्ध पौडेलसंग स्मारिका सम्पादन कुराकानीको सार संक्षेप

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी प्राप्त गर्नुभएको करिब एक वर्षको अवधिमा संस्थामा सकारात्मक परिवर्तन ल्याउने योजना र कार्यक्रमको कार्यान्वयन गर्ने प्रयासलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

नेपाल टेलिकममा प्रबन्ध निर्देशकको जिम्मेवारीमा आएको झन्डै एक वर्षको अवधिमा यहाँका सम्पूर्ण कर्मचारी र व्यवस्थापनबाट पाएको पूर्ण सहयोग र समर्थनले मलाई उत्साहित बनाएको छ यस अवधिमा दूरसञ्चार सेवालाई देशव्यापी रुपमा थप विस्तार गर्नुका साथै नयाँ प्रविधिहरुमार्फत प्रभावकारी सेवा सुलभ दरमा प्रवाह गरिएका छन् । डिजिटल नेपाल बनाउने नेपाल सरकारको योजनालाई साकार बनाउन कम्पनीले सहयोग पुयाउने कार्य पनि गरिरहेको छ । प्राविधिक र भौगोलिक कोणबाट सम्भव भएसम्म स्थानीय निकायका सबै वडाहरुमा फोरजी एलटीई सेवा विस्तार गर्नुका साथै अप्टिकल फाइबरमार्फत अत्याधुनिक प्रविधिबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा एक माध्यमबाट उपयोग गर्न सकिने एफटीटीएच सेवाको पहुँच पुरÞ्याउने योजना कार्यान्वयन गरिरहेका छौं । सन्तुष्ट कर्मचारीले नै सफल संस्था बनाउने मान्यतालाई आत्मसात् गर्दै यस अवधिमा कम्पनीमा कार्यरत जनशक्तिको सेवासुविधाको पक्षमा निर्णयहरु गरिएका छन् । नयाँ प्रविधिबाट अत्याधुनिक सेवाहरु प्रवाह गर्ने क्रममै तत्काल हामी फाइभजीको परीक्षण गर्दै छौं । समग्रमा मुलुकका थुप्रै स्थानहरुमा सेवा विस्तार गरी राजस्वलाई समेत सकारात्मक विन्दुमा पुरÞ्याउन सफल भएका छौं । यही अवधिमा संस्थाको आर्थिक सूचकांकमा पनि आशलाग्दो सुधारको संकेत देखा परेको छ । यी सबै कार्यहरुबाट संस्था थप सबल र समृद्ध बन्ने मार्गमा अग्रसर रहेको मैले महसुस गरेको छु ।

मुलुकमा डिजिटल डिभाइडलाई न्यूनीकरण गर्ने सरकारी योजनाको कार्यान्वयनको एउटा महत्वपूर्ण स्टेक होल्डरका रुपमा नेपाल टेलिकमलाई लिइएको छ । यसमा टेलिकमको तर्फबाट कसरी भूमिका निर्वाह गरिरहनुभएको छ ?

मुलुकका सुगमदेखि दुर्गम सबै क्षेत्रहरुलाई सेवाको पहुँचमा ल्याई डिजिटल डिभाइड न्यूनीकरण गर्न आवश्यक हुने दूरसञ्चारका पूर्वाधारहरुको निर्माण कार्यलाई तीव्रता दिइएको छ । यस अवधिमा ७७ वटै जिल्लाका ७३९ स्थानीय तहहरुमा फोरजी एलटीई सेवाको पहुँच स्थापित गर्न सफल भएका छौं। यसअघि नै मुलुकका ६८ वटा जिल्लामा विस्तार गरिएको एफटीटीएच सेवा अन्य स्थानहरुमा पुयाउने योजनाका साथ कामहरु अघि बढाएका छौं । यस अवधिमै ताप्लेजुङ, रसुवा, जाजरकोट र रोल्पामा यो सेवाको विस्तार गरिएको छ । गुणस्तरीय दिगो सेवा निरन्तर प्रवाह गर्ने क्रममै देशभरका टीडीएम प्रविधिमा आधारित अधिकांश टेलिफोन र इन्टरनेट सेवालाई फाइबरमा स्तरोन्नति गरिएको छ । साथै थप १२ वटा स्थानीय तहमा एफटीटीएच सेवाको विस्तार गरिएको छ । यस अवधिमा हामीले अन्य कुनै माध्यमबाट सेवा उपलब्ध गराउन नसकिने दुर्गम र विकट उच्च हिमाली ८ वटा स्थानहरुमा समेत हेलिकप्टरबाट सामान र उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गराएका छौं। उच्च हिमाली तथा अति दुर्गम स्थानहरुमा तुलनात्मक रुपले उच्च लगानी हुने भए तापनि सेवा विस्तार गरिएको छ । गत वैशाखदेखि कम्पनीले थप १६३ फोरजी, १६० टुजी र ४ वटा थ्रीजी नयाँ साइटहरुबाट सेवा विस्तार गरेको छ । यसका साथै अरु कुनै पनि प्रविधिबाट सेवा उपलब्ध गराउन सम्भव नहुने स्थानहरुमा भू– उपग्रहमार्फत मोबाइल सेवा विस्तार गरी सुलभ दरमा सेवा उपलब्ध गराइएको छ । हाल थ्रीजी सेवा उपलब्ध भइरहेका अत्यन्त विकट र दुर्गम स्थानका रुपमा रहेका १४ वटा स्थानीय तहहरुमा पनि फोरजी सेवाको उपलब्धताका लागि अध्ययन गरिरहेका छौं । उल्लिखित सम्पूर्ण कार्यहरुबाट डिजिटल डिभाइड न्यूनीकरण गरी मुलुकका सबै स्थानहरुमा दूरसञ्चार सेवाको पहुँच स्थापित गर्ने कार्यमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिइएको छ ।

राज्यले राष्ट्रिय गौरवका योजनाका रुपमा प्राथमिकतामा राखेको सूचना महामार्ग निर्माण तथा सबै वडाहरुलाई समेत ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा ल्याउने महत्वाकांक्षी योजनालाई कार्यान्वयनमा ल्याउन आवश्यक हुने फाइबर र फोरजी सेवा विस्तार कुन चरणमा पुगेको छ ?
.
मुलुकभर अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराई नेपाल सरकारको डिजिटल नेपाल निर्माणको योजना साकार बनाउन मोबाइल, एफटीटीएच सेवा र अप्टिकल फाइबरको विस्तारमा कम्पनी चुस्त योजनासहित अघि बढिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको लगानीमा Opatical Fiber/Microwave Radio मार्फत थप गुणस्तरीय सेवाप्रवाहका लागि संरचना तयार हुँदै छ। सो अलावा कम्पनीको आफ्नै लगानीमा समेत विगतमै तयार भएका र तयार हुने क्रममा रहेका VSAT, Optical Fiber /Microwave Radio का संरचनासमेत छन् । सूचना महामार्गका लागि अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न हुने क्रममा रहेको छ । मुलुकका ७७ वटै जिल्लाका स्थानीय तहमा टुजी, थ्रीजी मोबाइल सेवाको पहुँच पुगिसकेको तथा ७५३ मध्ये ७३९ स्थानीय तहमा फोरजी सेवा उपलब्ध गराइसकेको छ । पूर्वनिर्धारित योजनाबमोजिम फोरजी विस्तारको कार्य समग्रमा ९८ प्रतिशत सम्पन्न भएको छ । यस अवधिमा फोरजी सेवाको पहुँच नपुगेका स्थानहरुमा नयाँ साइटमार्फत सेवाप्रवाह गरिएको छ । यसै गरी मुलुकका ६८ जिल्लामा अप्टिकल फाइबरमार्फत एफटीटीएच सेवा उपलब्ध गराइएको छ ।मुलुकका चार स्थानमा फाइभजीको परीक्षण गर्ने उपकरण जडान गरी परीक्षण गर्ने कार्य जारी रहेको छ ।

नेपाल टेलिकमलाई समृद्ध र सेवाग्राहीको रोजाइको संस्था बनाउन यस अवधिमा के–कस्ता नयाँ कार्यहरु भइरहेका छन् ?
अत्याधुनिक दूरसञ्चार सेवाहरु आम उपभोक्तालाई सहज दरमा उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले ग्राहकका रुचि बमोजिमका सेवा प्रवाह गर्दै आएको छ । यसै क्रममा फोरजी मोबाइल सेवा, एफटीटीएच सेवाका साथै अन्य सुलभ दरका अफरहरु पनि उपलब्ध गराउँदै आएको छ । सेवाहरुलाई थप गुणस्तरीय र दिगो बनाई ग्राहकवर्गको आवश्यकता र रुचिको सम्बोधन गर्न कम्पनीले सम्भव भएसम्मका प्रविधिहरु भीस्याट, माइक्रोवेभ, जीएसएम, अप्टिकल फाइबर आदिको प्रयोग पनि गरिरहेको छ । कम्पनीले नयाँ प्रविधिको e-SIM को देशव्यापी वितरण शुरु गरेको छ मोबाइल सेवाको अत्याधुनिक संस्करणको रुपमा रहेको फाइभजीको परीक्षण गर्ने क्रम जारी रहेको छ । डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्यान्ड सेवा उपलब्ध गराइएको छ । फोरजी सेवाको पहुँचमा रहनुभएका मुलुकभरका सेवाग्राहीहरुले यो सेवा प्राप्त गरी आफ्नो आवश्यकताबमोजिमको स्पिड प्रयोग गर्न सक्नुहुनेछ यसका साथै VoLTE को प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ भने VoWIFI सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको छ । मुलुकभर सेवा विस्तार, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको छ । नयाँ प्रविधिको प्रयोग गरी ग्राहक सेवा गर्ने हाम्रा योजनाहरुको चुस्त कार्यान्वयनसँगै संस्थाको समृद्धिमा सहयोग पुग्नेछ
.
मुलुकमा दूरसञ्चार र सूचना प्रविधिको विस्तारमा के–कस्ता अवसर र चुनौतीहरु रहेका छन् ?

डाटा सेवाको मागमा निरन्तर भइरहेको वृद्धि टेलिकम सेवाप्रदायकका लागि अवसरका रुपमा रहेको छ । यस अवसरलाई व्यावसायिक परिदृश्यमा रुपान्तरण गर्न मुलुकभर सेवा विस्तार गर्न आवश्यक रहन्छ कम्पनीको सेवा विस्तारमा प्रभाव पार्न सक्ने बाह्य निकायहरु जस्तै– वन, सडक, स्थानीय निकायसँगको समन्वयमा थप सुधार गर्दै जानुपर्दछ। अन्य पूर्वाधार तयार गर्ने निकायहरुले (सडक विस्तारलगायतका) काम गर्ने क्रममा टेलिकमका पूर्वाधारहरुमा बारम्बार क्षति पुग्न गई सेवा अवरुद्ध हुने गरेको छ । साथै, पूर्ण प्रतिस्पर्धात्मक अवस्थामा अत्याधुनिक दूरसञ्चार सेवाप्रवाह गर्नुपर्ने उपकरण र प्रविधिको खरिद प्रक्रियामा सहयोग पुग्ने गरी व्यावहारिक रुपमा सहज हुने प्रावधानसहितको नियमावली र विनियमावली तयार गरी कार्यान्वयन गर्न आवश्यक रहेको छ ।

कम्पनीका सेवाहरुको गुणस्तर र मर्मत सम्भारका सम्बन्धमा ग्राहकका गुनासाहरुको सम्बोधन गर्ने परम्परागत प्रणालीलाई स्तरोन्नति गर्नेतर्फ केही पहल भएका छन् कि ?

कम्पनीले उपलब्ध गराइरहेका सेवाहरुको निरन्तरता र गुणस्तरीयता कायम गर्न कम्पनी सदा सचेत रहेको छ । यस क्रममा कम्पनीका सेवाहरु अत्यधिक प्रयोग हुने ठूला शहर तथा घना बस्ती भएका इलाकामा रेडियो नेटवर्कको निरन्तर स्तरोन्नति गरिनुका साथै नयाँ नेटवर्कहरु थप गर्ने गरिएको छ । माइक्रोवेभबाट जोडिएका मोबाइल टावरहरुलाई अप्टिकल फाइबरबाट र भीस्याटबाट जोडिएका मोबाइल टावरहरुलाई माइक्रोवेभ लिंकबाट प्रतिस्थापन/स्तरोन्नति गर्ने गरिएको छ । ठूला रिपिटर हबहरुमा जेनेरेटरसहितको पावर ब्याकअप र अप्टिकल फाइबरको ब्याकहल लिंकको व्यवस्था गरिएको छ । साथै, अप्टिकल लिंकको क्षमतामा स्तरोन्नति गरिएको छ ।

बिलिङ प्रणाली र कोर नेटवर्क प्रणालीलाई स्तरोन्नति र सुधार गरी सेवाको उपलब्धतामा वृद्धि गरिएको छ इन्टरनेट क्षमताको लागि आवश्यक ब्यान्डविथको विस्तार तथा लोकल क्यास सर्भर क्षमतामा व्यापक विस्तार गरिएको छ सेवाहरुको निरन्तर उपलब्धताका लागि दैनिक १२ घण्टा मर्मत सम्भार गर्ने गरी जनशक्ति व्यवस्थापन गरिएको छ । यसका अलावा गुनासाहरु सम्बोधन गर्नेतर्फ हाल सञ्चालनमा रहेका १९८, १४९८ र देशभर छरिएर रहेका टेलिकम कार्यालयहरुलाई थप व्यवस्थित गर्न आवश्यकता अनुसार स्तरोन्नति गरिनेछ यी प्रयासहरुबाट कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि हुने भएकोले ग्राहकवर्गबाट आउने गुनासा नै न्यूनीकरण हुने अपेक्षा गर्न सकिन्छ ।
.
फाइभजी सेवाको परीक्षण गर्ने कार्य कुन अवस्थामा रहेको छ र परीक्षणको आवश्यकताका बारेमा केही प्रकाश पारिदिनुहुन्छ कि ?

हाल कार्यान्वयनमा रहेको फोरजी सेवा विस्तार आयोजनामा उल्लेख भएअनुसार मुलुकका चार स्थानमा फाइभजीको परीक्षण समेत गर्नुपर्ने प्रावधान रहेको हुनाले उपकरण जडान गरी परीक्षण गर्ने कार्य जारी रहेको छ । जीएसएम प्रविधि अन्तर्गत हाल सञ्चालनमा रहेका टुजी, थ्रीजी र फोरजीभन्दा फाइभजी प्रविधि प्राविधिक रुपमा नै फरक Architecture बाट सञ्चालन हुने भएकोले भविष्यमा फाइभजीलाई व्यावसायिक रुपमा सञ्चालन गर्न कम्पनीमा हाल प्रयोगमा रहेका पूर्वाधार र उपकरणहरु Compatible हुने/नहुने, स्तरोन्नति गर्नुपर्ने नपर्ने, विस्थापन गर्नुपर्ने/नपर्ने, विश्लेषण गर्न आवश्यक हुन्छ साथै, ग्राहकवर्गलाई फाइभजी सेवा प्रयोगमा आकर्षित गर्न कम्पनीले गर्नुपर्ने कार्यहरुको अध्ययन पनि आवश्यक हुन्छ । यो परीक्षणले यिनै अध्ययनहरुमा सहयोग पुग्ने हुनाले सर्वसाधारण ग्राहकले हाल प्राप्त गरिरहेको मोबाइल सेवामा तात्विक नकारात्मक असर नपुग्ने गरी फाइभजीको परीक्षण गर्ने तयारी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्