अर्को महिनादेखि भारत घुम्न जाने नेपालीले क्युआरमार्फत् भुक्तानी गर्न पाउने « Arthapath.com
२६ मंसिर २०८०, मंगलवार

अर्को महिनादेखि भारत घुम्न जाने नेपालीले क्युआरमार्फत् भुक्तानी गर्न पाउने



काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी कारोबार अर्को महिनादेखि सुरु हुने भएको छ । नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले मंगलबार आयोजित एक कार्यक्रममा आगामी जनवरीदेखि भुक्तानी प्रणाली सुरु हुने बताए ।

दुई देशबीच डिजिटल भुक्तानी सम्बन्धि सम्झौता भइसकेको छ । यसका लागि आवस्यक डिजिटल पूर्वाधारहरु तयार पार्ने काम भइरहेकाले आगामी महिनादेखि प्रणाली सञ्चालनमा आउने राजदूत श्रीवास्तवले बताए । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका दौरान उक्त सम्झौता भएको थियो ।

सम्झौता अनुसार नेपाल क्लियरिङ हाउस र भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाले आवस्यक पूर्वाधार तयार पारिरहेका छन् । यो प्रणाली कार्यान्वयनमा आएपछि नेपालीले भारतमा क्युआर स्क्यान गरेर पैसा तिर्न सक्नेछन् । यस्तो पैसा नेपालकै बैंक खाताबाट काटिने छ ।

भारतीय नागरिकले पनि उतैको बैंकमा जम्मा गरेको पैसा नेपालमा यसैगरी क्युआर स्क्यान गरेर खर्च र भुक्तानी गर्न सक्ने छन् । तर कारोबारको सीमाबारे भने आआफ्ना देशका केन्द्रिय बैंकहरुले अलग अलग प्रबन्ध गर्नसक्ने छन् । यसका लागि आवस्यक कानुनी व्यवस्था पनि एक महिनाभित्रै टुंग्याउन आफूहरु प्रयत्नरत रहेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्