अमेरिकाले प्रतिबन्ध लगाउनु अघि नै बन्द भयो टिकटक, नयाँ राष्ट्रपतिले के गर्लान् ?

काठमाडौँ । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकलाई प्रतिबन्ध लगाउने एउटा कानुन कार्यान्वयनमा आउनुअघि सो सञ्जाल ‘अफलाइन’ भएको छ।
अमेरिकी प्रयोगकर्ताहरूलाई सम्प्रेषण गरिएको सन्देशमा टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा भएको भन्दै ‘अब तपाईँहरूले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने जानकारी गराइएको थियो।
‘हामी भाग्यशाली छौँ कि राष्ट्रपति ट्रम्पले आफूले सत्ता सम्हालेपछि टिकटक पुनर्बहाली गर्न समाधान खोज्न तयार रहेको सङ्केत दिनुभएको छ’, त्यसमा भनिएको छ।
यसअघि उक्त सञ्जालले बाइडन प्रशासनले प्रतिबन्ध कार्यान्वयन हुने आश्वस्त नगरे आइतबारबाट सेवा बन्द हुने चेतावनी दिएको थियो।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यसअघि आफूले टिकटकलाई ९० दिन प्रतिबन्धबाट उन्मुक्ति दिने बताएका थिए।
प्रयोगकर्ताहरूले अमेरिकामा गुगलको एप स्टोरमा टिकटक देखा नपरेको र टिकटक डटकममा भिडिओ पनि देखा नपरिरहेको जनाएका छन्।
यसअघि उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतवारबाट अमेरिकामा आफ्नो सेवा ‘नचल्ने बनाउन’ बाध्य हुने बताएको थियो।
शुक्रवार ढिलोगरी जारी गरेको एक विज्ञप्तिमा टिकटकले व्हाइटहाउस र अमेरिकी न्याय मन्त्रालयले ‘टिकटक उपलब्ध गराउनका लागि एकीकृत गरिएका सेवा प्रदायकहरूलाई आवश्यक ढङ्गले स्पष्ट पार्न र आश्वासन दिन असफल भएको’ आरोप लगाएको थियो।
उसले सरकारले टिकटकमाथि तत्काल लाग्न सक्ने प्रतिबन्ध उल्लङ्घन गर्नेलाई कारबाही हुँदैन भन्ने आश्वासन नदिए ‘जनवरी १९ बाट आफूले सेवा अवरुद्ध गर्न बाध्य हुने’ उल्लेख गरेको थियो। शुक्रवार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो।
अमेरिकी सर्वोच्च अदालतले आफ्नो आदेशमा उक्त चिनियाँ भिडिओ शेअरिङ एपको माऊ कम्पनी बाइटडान्सलाई अमेरिकामा चल्ने टिकटक आइतवारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो।

अमेरिकी कानुनमा के छ?
सन् २०२४ को अप्रिलमा पारित भएको उक्त कानुनले बाइटडान्सको अमेरिकी संस्करणलाई अमेरिकी कम्पनीलाई नै बिक्री गर्न वा पूर्ण रूपमा प्रतिबन्धको सामना गर्न बाध्य पार्छ। टिकटकले उक्त कानुनलाई अदालतमा चुनौति दिँदै अमेरिकी प्रयोगकर्ताको वाक् स्वतन्त्रताको उल्लङ्घन हुने तर्क गरेको थियो।
तर सर्वोच्च अदालतको आदेशको अर्थ आगामी दिनमा अमेरिकी खरिदकर्ता नभेटिएसम्म एपको अमेरिकी संस्करणलाई एप स्टोर तथा वेब होस्टिङ सेवाबाट हटाउनु पर्छ भन्ने हो।
यो प्रतिबन्धले पहिले नै आफ्नो फोनमा टिकटक एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूलाई असर गर्दैन भन्ने ठानिएको थियो। यद्यपि प्रतिबन्ध लागु भएपछि अपडेटहरू उपलब्ध नहुने र अन्ततः एप प्रयोगयोग्य नहुने बन्छ।
शुक्रवारको टिकटकको विज्ञप्तिले तुरुन्तै हालका सबै प्रयोगकर्ताहरूको टिकटकको पहुँच समाप्त हुने र कसैले डाउनलोड पनि गर्न नमिल्ने सङ्केत गरेको थियो।
बिदाइ सन्देश
टिकटकमा चर्चित भएका व्यक्तिहरूले आसन्न प्रतिबन्धअघि आफ्ना फलोअर्सहरूलाई बिदाइ सन्देश दिँदै भिडिओहरू पोस्ट गरेका थिए। एकजना टिकटक कन्टेन्ट क्रिएटर निकोल ब्लूमगार्डनले टिकटकमा नहुँदा महत्त्वपूर्ण रूपमा आम्दानी गुम्ने बताइन्। अर्की कन्टेन्ट क्रिएटर एरिका थम्पसन पनि टिकटकमा उपलब्ध हुने शैक्षिक सामग्री गुम्दा त्यसले समुदायमा ‘ठूलो नोक्सानी पुर्याउने’ बताइन्।
केही प्रयोगकर्ताहरूले उनीहरूले उत्पादन गर्ने सामग्रीहरू हेर्न अर्को एपमा उपलब्ध हुने जानकारी पनि दिइरहेका छन्। त्यसमा अर्को चिनियाँ भिडिओ शेअरिङ एप ‘रेड नोट’ पनि रहेको छ। त्यो अमेरिकामा अहिलेसम्म सीमित प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेको एप हो।
निर्णायक भूमिकामा ट्रम्प

राष्ट्रपति जो बाइडनको कार्यकाल सोमवार सकिँदैछ र त्यसै दिन डोनल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथग्रहण गर्ने छन्। ह्वाइट हाउसले यसअघि नै कानुन लागु गर्ने विषय आगामी राष्ट्रपतिमा निर्भर गर्ने बताइसकेको छ।
ट्रम्पले सुरुमा यो कदमलाई समर्थन गरेका थिए । तर पछि उनले आफू प्रतिबन्धविरुद्धमा रहेको सङ्केत गरेका छन् । ‘म टिकटकबारे धेरै पछि गएर मात्र निर्णय लिन्न, तर परिस्थितिको मूल्याङ्कन गर्ने मसँग पर्याप्त समय चाहिँ हुनुपर्छ’, उनले शुक्रवार भनेका थिए।
उनले आफूले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग कुराकानी गरेको र टिकटकलगायतका विषयमा पनि छलफल गरेको खुलासा समेत गरेका छन्। गत डिसेम्बरमा ट्रम्पले एपको लागि आफूसँग ‘न्यानो स्थान’ रहेको बताएका थिए।
सन् २०२४ को चुनावमा युवा मतदाताहरूलाई प्रभावित गर्न टिकटकले मद्दत गरेको भन्दै उनले त्यस्तो बताएका थिए। यद्यपि ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा कार्यकारी आदेशमार्फत् समान खालको प्रतिबन्ध लगाउन खोजेका थिए।
अमेरिकी आरोप के हो ?
बाइटडान्सले टिकटक नबेच्ने वाचा गर्दै अमेरिकी निर्णय फिर्ता नभएसम्मका लागि आइतवारदेखि अमेरिकामा एप बन्द गर्ने जनाएको छ। अमेरिकी संसद्मा डेमोक्र्याटिक र रिपब्लिकन दुवै दलका सांसदहरूले गत वर्ष टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए।
उनीहरूले टिकटकको चिनियाँ सरकारसँग सम्बन्ध भएको र उसले बेइजिङलाई प्रयोगकर्ताका गोप्य जानकारीहरू उपलब्ध गराउने आशङ्का गरेका छन्। टिकटकले चाहिँ बेइजिङलाई प्रयोगकर्ताको जानकारी शेअर नगर्ने दोहोर्याउँदै आएको छ।
उक्त सम्भावित प्रतिबन्ध चिनियाँ जासुसीबारे अमेरिकामा बढ्दो चिन्ताबीच अघि बढाइएको थियो। साइबर सुरक्षासम्बन्धी कम्पनीहरूले उक्त एपले प्रयोगकर्ताको विवरण सङ्कलन गर्न सक्ने औल्याएका छन्।
बेइजिङले भने चिनियाँ कम्पनीलाई आफ्नो तर्फबाट सूचना सङ्कलन गर्न दबाब दिएको भनी लगाइएको आरोपलाई अस्वीकार गर्दै आएको छ र उसले प्रतिबन्धको आलोचना गरेको छ।
टिकटकले उक्त अमेरिकी कानुनले अभिव्यक्ति स्वतन्त्रतालाई खतरामा पार्ने र प्रयोगकर्ता, विज्ञापनदाता, सामग्री उत्पादक र कर्मचारीलाई असर पार्ने तर्क गर्दै आएको छ।
अहिले टिकटकमा ७ हजार अमेरिकी कर्मचारीहरू छन्।

अहिलेसम्म केके भयो ?
अप्रिल २४, २०२४ः राष्ट्रपति बाइडनले दुवै राजनीतिक दलद्वारा समर्थन गरिएको टिकटकसम्बन्धी विधेयकमा हस्ताक्षर गरे। त्यसमा टिकटकको माऊ कम्पनी बाइटडडान्सले ६ महिनाभित्र अमेरिकामा आफ्नो शेअर बेच्नुपर्ने र त्यसो नगरे प्रतिबन्ध सामना गर्नुपर्ने व्यवस्था छ।
मे ७, २०२४ः टिकटकले त्यसलाई वाक् स्वतन्त्रताको अधिकारमाथिको हस्तक्षेप’ भन्दै मुद्दा दायर गर्यो।
अगस्ट २, २०२४ः अमेरिकी सरकारले टिकटकले गैरकानुनी रूपमा बालबालिकाको डेटा सङ्कलन गरेको र आमाबाबुले आफ्ना बच्चाहरूको खाता मेटाउन खोज्दा असफल भएको आरोप लगाउँदै टिकटकमाथि मुद्दा दर्ता गरायो।
डिसेम्बर ६, २०२४ः २०२५ को सुरुमा अमेरिकामा रहेको आफ्नो हिस्सा बिक्री गर्नु पर्ने वा प्रतिबन्धको सामना गर्नु पर्ने कानुनविरुद्ध टिकटकले गरेको मागदाबीलाई सङ्घीय पुनरावेदन अदालतले अस्वीकार गरिदियो।
डिसेम्बर २७, २०२४ः राष्ट्रपतिका रूपमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको सर्वोच्च अदालतलाई आफूले ‘राजनीतिक समाधान’ खोजिरहेको भन्दै आसन्न प्रतिबन्धलाई पछि सार्न आग्रह गरे।
जनवरी १०, २०२५ः सर्वोच्च अदालतका ९ जना न्यायाधीशहरूले टिकटक र त्यसमा सामग्री उत्पादन गर्नेहरूको प्रतिनिधित्व गर्ने वकिलबाट उनीहरूको बहस सुने।
जनवरी १७, २०२५ः अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै टिकटकलाई केही दिनभित्र प्रतिबन्ध लगाउन सक्ने कानुनलाई अघि बढाउन आदेश दियो।
जनवरी १९, २०२५ः टिकटकले आफ्नो अमेरिकाको हिस्सा बेच्नु पर्ने वा प्रतिबन्धको सामना गर्नु पर्ने अन्तिम मिति। टिकटकले त्यस दिनदेखि अमेरिकामा आफ्नो सेवा बन्द हुने चेतावनी दिएको छ।
बीबीसी नेपाली सेवाबाट साभार ।