इनड्राइभले ललितपुरमा खोल्यो आफ्नो कार्यालय

काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक इनड्राइभले ललितपुरमा आफ्नो आधिकारिक कार्यालयको भव्य उद्घाटन गरेको छ ।
शुक्रवार आयोजित विशेष समारोहमा कम्पनीले नेपाली चालक समुदायसँगको सहकार्यलाई थप सुदृढ गर्दै ग्राहक सन्तुष्टिमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो नयाँ कार्यालय इनड्राइभको नेपालमा विस्तारको महत्त्वपूर्ण कदम हो । यसले चालकहरूलाई प्रत्यक्ष सहयोग, प्रशिक्षण, र समुदाय केन्द्रित पहलहरू मार्फत सशक्त बनाउने लक्ष्य राखेको छ। साथै, काठमाडौं उपत्यकामा गुणस्तरीय, भरपर्दो, र पारदर्शी राइड सेयरिङ सेवा सुनिश्चित गर्न यो कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
इनड्राइभले यो कार्यालयमार्फत चालकहरूलाई नियमित प्रशिक्षण, व्यक्तिगत सहयोग, र सेवा सम्बन्धी समस्याहरूको तत्काल समाधान प्रदान गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार, यो कार्यालयले चालकहरूलाई सशक्त बनाउन, स्थानीय बजार अनुरूप सेवा अनुकूलन गर्न, र सामुदायिक साझेदारीलाई प्रोत्साहन गर्न केन्द्रित हुनेछ ।
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राइड सेयरिङ सेवा सञ्चालन तथा नियमन नियमावली २०८२ को विवादलाई उल्लेख गर्दै भने, ‘‘राइड सेयरिङ एपले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सहज बनाएको छ । सर्वसाधारणले सस्तो, भरपर्दो र विश्वासिलो यातायातको साधन रोज्न पाउनुपर्छ । राइड सेयरिङलाई हटाउनु भन्दा व्यवस्थित गर्न आवश्यक रहेको बताए ।’’

इनड्राइभ ड्राइभर अपरेसन एप्याक रिजनका प्रमुख निकलाई ओलिसभले काठमाडौं उपत्यकाका लागि इनड्राइभको औपचारिक कार्यालय सुरु गरेकोमा खुसी व्यक्त गर्दै भने, ‘‘यो कार्यालय केवल कार्यस्थल मात्र नभई, चालकहरूलाई सफल बनाउन र इनड्राइभसँग जोडिएको महसुस गराउने समर्थन केन्द्र हो ।’’
इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले उत्साह व्यक्त गर्दै भनिन्, “नेपाल हाम्रो लागि महत्त्वपूर्ण बजार हो । यो कार्यालय चालकहरूसँगको हाम्रो बलियो साझेदारीको प्रतीक हो। हामी चालक–केन्द्रित प्लेटफर्म निर्माणमा प्रतिबद्ध छौँ, जसले उनीहरूलाई प्रेरणा, सीप, र समुदायसँग जोडिन अवसर प्रदान गर्छ ।”