लयमा फर्कदै पर्यटन व्यावसाय, विदेशी पर्यटकको आवागमनमा उत्साह « Arthapath.com
१९ फाल्गुन २०७९, शुक्रबार

लयमा फर्कदै पर्यटन व्यावसाय, विदेशी पर्यटकको आवागमनमा उत्साह



काठमाडौं । नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । वर्ष सन् २०२३ को पहिलो दुई महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा उलेख्य बृद्धि भएको छ ।

कोरोना महामारीका कारण पछिल्लो ३ वर्ष (२०२०, २०२१ र २०२२) सम्म विदेशी पर्यटकको आगामन न्यून थियो । तर, २०२३ मा भने विदेशी पर्यटकको आवागमनमा उत्साह देखिएका छ ।

नेपाल पर्यटन बोर्डबाट प्राप्त पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार वर्ष २०२३ को फेव्रुअरीसम्म विदेशी पर्यटकको आगामन २४९ प्रतिशतले बढेको छ ।

२०२२ को फ्रेवुअरीसम्म नेपालमा ३६ हजार ७४१ जना विदेशी पर्यटक आएका थिए । तर, यो बर्ष फेव्रुअरीसम्म १ लाख २८ हजार ३२९ जना विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष जनवरीमा ५५ हजार ७४ र फ्रेवुअरीमा ७३ हजार २५५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्ष जनवरीमा १६ हजार ९७५ र फेव्रुअरीमा १९ हजार ७६६ जना विदेशी पर्यटक आएका थिए ।

२०१९ को अन्त्यबाट विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो ।

कोरोना संक्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन प्रभावित भएको थियो । तर, अहिले कोरोना महामारी साम्य भएसँगै विदेशी पर्यटक बढ्न थालेको हो ।

फेव्रुअरीमा नेपालमा भारतबाट सबैभन्दा धेरै पर्यटक आएका छन् । तथ्यांकअनुसार उक्त महिनामा भारतबाट १८ हजार ४०१ जना पर्यटक आएका छन् । नेपालमा बढी पर्यटक आउनेमा अमेरिका भने दोस्रो स्थानमा छ । फ्रेवुअरीमा अमेरिकाबाट ७ हजार ८८७ जना पर्यटक नेपाल भित्रिएका थिए । तेस्रो स्थानमा रहेको थाइल्याण्डबाट ४ हजार ८०२ जना पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, चौथो स्थानमा भने बेलायत रहेको छ ।

तथ्यांकअनुसार बेलायतबात ४ हजार ३४५ पर्यटक आएका छन् । यसैगरि, दक्षिण कोरियाबाट ३ हजार २४६ जना, अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

बढ्न थाले चिनियाँ पर्यटक

पछिल्लो समय उत्तर छिमेकी मुलुक चिनबाट आउने पर्यटक समेत बढ्न थालेका छन् । कोरोनाका कारण चीनले लामो समयसम्म आफ्नो नागरिकलाई विदेश भ्रमणमा जान रोक लगाएको थियो ।

तर, चीनले ६ फ्रेवुअरीबाट आफ्ना नागरिकलाई विदेश भ्रमणका लागि खुल्ला गरेको छ । त्यसपछि नेपालमा चिनबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको बोर्डले जनाएको छ । फ्रेवुअरीमा मात्रै चीनबाट २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएको बोर्डको भनाइ छ ।

नेपालमा कोरोना नियन्त्रण गर्न २०७६ चैत १० गते (मार्च २०२०) बाट लकडाउन गरिएको थियो । त्यसभन्दा अघिसम्म भने नेपालमा पर्यटकको आगमन उच्च थियो । २०२० फेव्रुअरीसम्म १ लाख ७७ हजार ८९२ जना विदेशी पर्यटक नेपाल आएका थिए । त्यसपछि भने नेपालमा आउने विदेशी पर्यटकको संख्या घटेको थियो ।

तथ्यांकअनुसार २०२१ को प्रेवुअरीसम्म १८ हजार २० जना र २०२२ प्रेवुअरीसम्म ३६ हजार ७४१ जना मात्रै पर्यटक आएको थिए । तर, यो वर्ष २०२० कै हारहारीमा विदेशी पर्यटक आउन थालेको बोर्डको भनाइ छ । अब केही समयमै पर्यटन आवागमन कोरोना अघिकै अवस्थामा आउन सक्ने बताइएको छ ।

कुन महिनामा कति पर्यटक भित्रिए ?


प्रतिक्रिया दिनुहोस्