नेपाली पर्यटन बजारमा फर्किएको रौनकता: ४७ महिना पछि यसरी तोडियो विदेशी पर्यटक आगमन रेकर्ड « Arthapath.com
१५ कार्तिक २०८०, बुधबार

नेपाली पर्यटन बजारमा फर्किएको रौनकता: ४७ महिना पछि यसरी तोडियो विदेशी पर्यटक आगमन रेकर्ड



काठमाडौं । नेपालमा एक महिनामै सवा लाख बढी विदेशी पर्यटक घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल घुम्न आएका हुन् ।

बोर्डका अनुसार हवाई मार्गबाट सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् । सीमा क्षेत्रबाट पर्यटकको तथ्याङ्क भने बोर्डले राख्ने गरेको छैन । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक (सवारी साधन) मार्फत पनि आउने गर्छन् । 

एकै महिनामा १ लाख बढी पर्यटक आउँदा नेपाली पर्यटन बजारमा थप रौनकता थपिदिएको छ । नेपालमा पर्यटक आगमनको मुख्य सिजन भनेकै अक्टोबरदेखि मार्च, अप्रिलसम्म मानिन्छ । यो समयमा नै धेरै विदेशी पर्यटकहरू नेपाल घुम्न आउने गर्दछन् । पर्यटन सिजन सुरु भएकाले आगामी महिनामा अझै बढ्ने बोर्डको भनाई छ । 

सन् २०२३ को अक्टोबरमा आएका विदेशी पर्यटकको सङ्ख्या ४७ महिनापछिको धेरै हो । यसअघि सन् २०१९ को डिसेम्बरमा नेपाल घुम्न आउने पर्यटक एक महिनामै १ लाख नाघेको थियो । २०१९ को डिसेम्बरमा १ लाख ८६६ जना विदेशी पर्यटकले नेपाल घुमेका थिए । सोही वर्षको नोभेम्बर महिनामा १ लाख ३४ हजार ९६ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । त्यो सङ्ख्या नै हालसम्मकै उच्च हो । तर, मासिक रूपमा आउने पर्यटकको सङ्ख्यामा ४७ महिनापछि रेकर्ड तोडिएको हो ।

नेपालमा विदेशी पर्यटकको आगमन र पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको छ । विदेशी पर्यटक आगमन निरन्तर वृद्धि भएको छ, जसले व्यवसायमा फस्टाउँदै गएको छ । कोरोना महामारीले शिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको छ । कोरोना कालमा पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो । तर, पछिल्लो समय महामारी साम्य भएको छ । योसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढी रहेको छ, जसले व्यवसायमा पनि थप उत्साह थपिदिएको हो । 

सन् २०२३ को १० महिनामा (जनवरीदेखि अक्टोबरसम्म) कुल ८ लाख ९ हजार ६७८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसका आधारमा मासिक औसत ८० हजार ९६७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यस वर्षको जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मे महिनामा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६, अगस्टमा ६७ हजार १५३ र सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटन नेपाल घुम्न आएका थिए । गत वर्ष सन् २०२२ मा पनि वार्षिक ६ लाख १४ हजार १४८ जना नेपाल आएका थिए । 

अक्टोबरमा कुन देशबाट कति पर्यटक नेपाल घुमे ?

नेपालमा भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, बङ्गलादेश, श्रीलङ्का र इटालीबाट सबैभन्दा धेरै पर्यटक आउने गरेका छन् । 

यीमध्ये पहिलो नम्बरमा भने भारत रहेको छ । अक्टोबरमा भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक नेपाल भ्रमण गरेका छन् ।  दोस्रो स्थानमा भने अमेरिका छ । बोर्डका अनुसार अमेरिकाबाट अक्टोबरमा १४ हजार ८ सय ७९ जनाले नेपाल भ्रमण गर्न आएका छन् । 

तेस्रो स्थानमा रहेको बेलायतबाट पनि ८ हजार २७१ जना, चौथो स्थानमा रहेको चीनबाट ६ हजार ८८०  र अस्ट्रेलियाबाट ६ हजार ७५ जना पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार  अक्टोबरमा जर्मनीबाट ५ हजार २७१, फ्रान्सबाट ४ हजार २९२, बङ्गलादेशबाट २ हजार ५०७, श्रीलङ्काबाट २ हजार ४६७ र इटलीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् । 


प्रतिक्रिया दिनुहोस्