पर्यटन आगमन बढेसँगै ठुला तारे होटलहरुको व्यापारमा सुधार, नाफा पनि ४७ प्रतिशत बढ्यो

काठमाडौं । ठुला तारे होटलहरुको नाफा ४७ प्रतिशत बढेको छ । पर्यटन आगमन बढेसँगै होटलहरुको नाफामा वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पर्यटन तथा होटेल समूहको आम्दानी र नाफा बढेको छ । हाल नेप्सेमा सोल्टी होटल, सिटी होटेल, ओरियण्टल होटल (र्याडिसन), तारागाउँ रेजेन्सी, चन्द्रागिरी हिल्स र कालिञ्चोक दर्शन सूचीकृत छन गरि ६ वटा होटलहरु सूचीकृत छन् ।
यी कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनसार ७९ करोड ५ लाख बढी नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा भने ४६.९२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीहरुले ५३ करोड ८० लाख रुपैयाँ नाफा कमाएका थिए ।
पछिल्लो समय आन्तरिक र व्याह्य पर्यटकहरुको संख्या पनि बाक्लिदो छ । आर्थिक गतिविधि पनि बढ्दै गएको छ । जसले होटेलहरुको व्यापारमा सुधार आएको छ । पर्यटक आगमन वृद्धिले नै यस क्षेत्रको आम्दानी पनि बढेको छ । जसले खुद नाफामा सुधार आएको हो । ९ महिनामा ६ वटा होटलहरुको आम्दानी ४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा १४.११ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा यी कम्पनीहरुले कुल ४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
पछिल्लाो समय पर्यटक आगमन मासिक १ लाख बढी छ । पर्यटन बोर्डका अनुसार गत अप्रिल (सन् २०२४) मा १ लाख ११ लाख ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, गत मार्चमा पनि १ लाख २८ हजार १६७ जना विदेशी पर्यटक नेपाल आएका थिए । मुलुकको सम्रग पर्यटन आवागमनको अवस्था कोभिड अघिकै अवस्थामा पुगेको छ । आर्थिक शिथिलताले सुस्ताएको नेपाली पर्यटन बजार बिस्तारै लयमा फर्किएसँगै होटेलहरुको व्यापार पनि बढेको छ । व्यापार बढेसँगै उनीहरुको नाफामा बढोत्तरी देखिएको छ ।
कालिचोक दर्शनको नाफा उछाल, सोल्टी कमाएको सर्वाधिक
समिक्षा अवधिमा कालिञ्चोक दर्शनको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ६४ लाख रुपेयाँ मात्रै नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३.८४ गुणा बढेको छ । समिक्षा अवधिमा कम्पनीले २ करोड ४७ लाख ४७ हजार रुपैयाँ कमाएको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २ पैसा छ ।
रकमको आधारमा भने सोल्टी होटलले सर्वाधिक नाफा कमाएको छ । समिक्षा अवधिमा सोल्टीको नाफा ११.०८ प्रतिशत बढेर ४१ करोड २३ लाख रुपैयाँ पुगेको छ । यस्तै, तारागाउँ रेजेन्सीको नाफा पनि ३९.५३ प्रतिशत बढेर ३३ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । यता, चन्द्रगिरी हिल्सको नाफा पनि ३८.८१ प्रतिशत बढेर १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यसैगरि अेरिण्टलको नाफा पनि ९.९१ प्रतिशत बढेर ६ करोड ५९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
यता, सिटी होटेलले पनि नोक्सानी घटाएको छ । गत आवको तेस्रो त्रैमासमा २१ करोड ६१ लाख बढी नोक्सानी रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनी १५ करोड ३७ लाख रुपैयाँ मात्रै घाटामा छ । सिटिले व्यापार बढेसँगै नोक्सानी घटाएको हो ।
सोल्टी र तारागाउँको व्यापार १ अर्ब माथि, अन्यको कसको आम्दानी कति ?
समिक्षा अवधिमा सबैभन्दा धेरै व्यापार सोल्टी होटेलले नै गरेको छ । सोल्टीले ९महिनाामा १ अर्ब ६८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा भने ११.३८ प्रतिशत बढी हो । दोस्रो सूचीमा रहेको तारागाउँ रेजेन्सीले पनि १ अर्ब ९६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । गत वर्षको तुलनामा कम्पनीको आम्दानी ११.४२ प्रतिशत बढेको हो ।
समिक्षा अवधिमा कालिञ्चोक दर्शनको व्यापार शतप्रतिशत बढेको छ । कम्पनीको आम्दानी १०१.१४ प्रतिशत बढेर ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
यस्तै, समिक्षा अवधिमा ओरियण्टलको आम्दानी ८१ करोड ९६ लाख, चन्द्रागिरीको ६९ करोड ७३ लाख र सिटी होटेलको ४२ करोड ७ लाख रुपैयाँ छ । यी होटेलहरको आम्दानी गत वर्षको तुलनामा क्रमशः १७.९७ प्रतिशत, १०.८६ प्रतिशत २२.९२ प्रतिशत वृद्धि भएको हो ।