नेपाललाई ‘शान्तिको गन्तव्य’ बनाउनु पर्ने पर्यटनमन्त्रीको धारणा, भने– वैदिक कालदेखि नै हामी शान्तिको पक्षमा’ « Arthapath.com
११ आश्विन २०८१, शुक्रबार

नेपाललाई ‘शान्तिको गन्तव्य’ बनाउनु पर्ने पर्यटनमन्त्रीको धारणा, भने– वैदिक कालदेखि नै हामी शान्तिको पक्षमा’



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले ४५ औं विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख गरे । उनले नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक रहेको र ‘कतै नेपाललाई हेरेर नै यो नारा आएको हो कि’ भन्ने लागेको बताए ।

उनले बैदिक कालमा वेदका ऋचाहरुमा हाम्रा ऋषिमुनिले पृथ्वीमा शान्ति, जलमा शान्ति, आकाशमा शान्ति, वनस्पतीमा शान्तिको पक्षमा कामना गर्ने गरेको उल्लेख गरे । ‘त्यही बेलामा जलवायु परिवर्तनको असर पृथ्वीले भोग्नु पर्ने छ र हामीले आकाश, जल, वायु, पृथ्वी सबैमा शान्ति खोज्नु पर्ने छ भन्ने कुरा अनुमान गरिएको रहेछ’, उनले भने ।

भागवान बुुद्धले पञ्चशीलको अवधारणा मार्फत शान्तिको सन्देश विश्वलाई दिएका थिए । केही समय अघि नेपालमा शान्ति प्रक्रियाको अनुगमन गर्न आएको राष्ट्र संघले पनि ‘नेपालीहरु आफैँ शान्ति कायम गर्न सक्षम छन्’ भनेर धन्यवाद दिँदै फर्किएको उनले उल्लेख गरे । उनले भने, ‘वैदिक कालदेखि आधुनिक कालसम्म हामी शन्तिको पक्षमा रहेको र यो वर्षको नारा हामीलाई नै हेरेर बनाएको हो कि भन्ने लागेको छ ।’

मानिसका निम्ति भौतिक शान्तिसँगै मानसिक शान्ति पनि आवश्यक रहेका कारण पर्यटनलाई हाम्रो सम्बृद्धिसँग जोड्न सकिने र नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्ने उनको धारणा थियो ।

फरक प्रसंगमा मन्त्री पाण्डेले भने, ‘नेपालको पर्यटनको विकास गर्न नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वमा पु¥याउन जरुरी छ ।’ आफूले लिएको जिम्मेवारी सबैले पुरा गर्नु पर्ने भन्दै उनले यदि काम गर्न नसक्ने हो भने जिम्मेवार निकायमा रहेको जो कसैले राजीनामा दिनु पर्ने बताए ।

पछिल्लो समय लगानीकर्तालाई माफियाको संज्ञा दिने गरको भन्दै उनले निजी क्षेत्रप्रतिको नकारात्मक सोचलाई बदल्नु पर्ने बताए । साथै निजी क्षेत्रले पनि देश र देशबासीको हितमा आफ्नो लगानी र उद्यमलाई विकास गर्नुपर्ने उनको धारणा छ ।

यदि नीजि क्षेत्र अघि नलाग्ने हो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केही गर्न नसक्ने बताउँदै उहाँले भने, ‘लगानी गर्नेहरू माफिया होईनन् समृद्धिका वहाक हुन् ।’ उनले ‘नेपालको आकाश सुरक्षित छैन’ भन्ने भाष्यलाई चिर्नु पर्ने र नेपाली ध्वजा बाहकलाई चुस्त बनाउनु पर्ने उल्लेख गर्दै पर्याप्त विमान बिना वायुसेवा निगमले प्रभावकारी सेवा दिन नसक्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्