कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकामा धेरै, ट्रम्पले भने चिनले गलत रिपोर्ट दियो « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकामा धेरै, ट्रम्पले भने चिनले गलत रिपोर्ट दियो



काठमाडौं । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।

अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ ।  ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो ।

यद्यपि, ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ । यहाँ हालसम्म १ हजार २ सय मानिसको कोरोनाका कारण ज्यान गएको बीबीसीले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै इटलीका ८ हजार २ सय १५ मानिसको ज्यान गएको छ । यहाँका कुल संक्रमितको संख्या भने ८० हजार ५ सय ८९ छ । कोरोना प्रकोप नियन्त्रणउन्मुख देखिएको चीनमा ३ हजार २ सय ९१ को ज्यान गइसकेको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म २४ हजार मानिसको ज्यान गइसकेको छ । १९७ देशका ५ लाख ३१ हजार मानिस संक्रमित छन् ।

ट्रम्पले के भने ?

बीबीसीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही समयमा नै अमेरिकामा नियमित काम सुरु हुनसक्ने बताएका थिए । तर त्यसको केही समयमा नै अमेरिका भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको हो । बिहीबार यो तथ्यांकबारे बोल्दै ट्रम्पले मुलुकमा उल्लेख्य मात्रामा भइरहेको कोरोना भाइरस परीक्षणको कारण धेरै संक्रमित फेला परेको बताए ।

अहिलेसम्म अमेरिकाको ५० ओटै राज्यमा भाइरसको संक्रमण फैलिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अहिलेसम्म ५ लाख ५२ हजार मानिसमा भाइरस संक्रमण भए/नभएको परीक्षण गरिएको छ ।

राष्ट्रपति ट्रम्पले चीनले सार्वजनिक गरेको तथ्यांकमा पनि आशंका व्यक्त गरेका छन् । उनले सञ्चारकर्मीहरुलाई भने, ‘तपाईंहरुलाई चीनमा कति (बिरामी) छन् भन्ने थाहा छैन ।’ ट्रम्पले भाइरस रोक्न थप कडाइका कदम चाल्ने कुरालाई भने अस्वीकार गरेका छन् । उनले अब छिटै नै अमेरिकीहरु आफ्नो काममा फर्किने दाबी गरे ।बिबिसी


प्रतिक्रिया दिनुहोस्