अफ्रिकी पूर्वराष्ट्रपति मन्डेलाबारे अमेरिकी राष्ट्रपति ट्रम्पले विवादित टिप्पणी गरेको खुलासा « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

अफ्रिकी पूर्वराष्ट्रपति मन्डेलाबारे अमेरिकी राष्ट्रपति ट्रम्पले विवादित टिप्पणी गरेको खुलासा



कामठाडौं । रंगभेदविरुद्धको आन्दोलनका प्रणेता तथा दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मन्डेलाबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विवादित टिप्पणी गरेको खुलासा भएको छ । ट्रम्पका पूर्व वकिल माइकल कोहेनले यसबारे खुलाएका हुन् । कोहेनका अनुसार ट्रम्पले मन्डेलालाई उनी नेता नै नभएको टिप्पणी गरेका थिए । ट्रम्पलाई कोहेनले आरोप लगाएको बारे शनिबारको वासिंटन पोस्टमा रिपोर्ट प्रकाशित छ । अर्को हप्ता प्रकाशित हुन लागेको कोहेनको पुस्तकमा उनले ट्रम्पलाई यस्तो आरोप लगाएका हुन् ।

जहाँ ट्रम्पले मन्डेलालाई ‘गरिब नेता’, ‘तुच्छ व्यक्ति’, ‘ऊ एक गधा हो’ जस्ता गाली दिएको उल्लेख छ । यस्तै मन्डेलाले नै दक्षिण अफ्रिकालाई ध्वस्त पारेको र उनी कुनै नेता नै नभएको आरोप ट्रम्पले लगाएका छन् । यस्तै कुनै पनि अस्वेत नेताले नेतृत्व गरेको देश नबिग्रेको ठाउँ नै नरहेको ट्रम्पको जिकिर छ । ‘काला व्यक्तिले चलाएको कुनै पनि देश भन, जुन बिग्रिएको छैन । उनीहरु पूर्ण रुपमा ट्वाइलेट हुन्,’ ट्रम्पको आरोप छ ।

ह्वाइट हाउसकी प्रवक्ता केले म्याकएनानीले भने कोहेनको आरोपको विश्वसनीयतामाथि प्रश्न उठाएकी छन् । ‘माइकल कोहेन एक असक्षम र बदनाम वकिल हुन् । जसले कंग्रेसलाई नै झुट बोले । उनले विश्वसनीयता गुमाइसकेका छन् । र उनले झुटको सहाराबाट फाइदा लिन खोजेको कुरा अनौठो छैन,’ म्याकएनानीले भनिन् । ट्रम्पले पनि कोहेनलाई ‘एउटा मूसो र झुट’ भएको आरोप लगाएका छन् । कोहेनले भने ट्रम्पका रिपोर्टरहरुबाट आफूलाई बारम्बार जन मार्ने धम्की आएको बताएका छन् । कोहेन अमेरिकी कंग्रेसलाई झुट बोलेको भन्दै जेल सजाय समेत भोगिसकेका वकिल हुन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्