नेपाली रुपैयाँको भाउ घटेको घट्यै, चार वर्षमा २८ प्रतिशतसम्म सस्तियो, के फरक पर्छ ? « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

नेपाली रुपैयाँको भाउ घटेको घट्यै, चार वर्षमा २८ प्रतिशतसम्म सस्तियो, के फरक पर्छ ?



काठमाडौं । नेपालमा सटही सुविधा पाइने सबै विदेशी मुद्राको तुलनामा नेपाली रुपैयाँ भारी मात्रामा सस्तिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बेलायति मुद्रा पाउण्ड स्टर्लिङको भाउ यो महिना हालसम्मकै उच्च भयो । अष्ट्रेलियन डलरको मूल्य पनि कीर्तिमानी स्तरमा महँगिएको छ ।

नेपालमा अमेरिकी डलरपछि सबैभन्दा बढी कारोबार हुने युरोको भाउ चार वर्षको अन्तरालमा करीब २८ प्रतिशत महँगिएको छ । चार वर्षअघि आजकै दिन अर्थात् सन् २०१७ को अप्रिल २९ मा नेपालमा युरोको सटहीदर एक सय १२ रुपैयाँ थियो भने अहिले एक सय ४४ रुपैयाँ पुगेको छ ।

संसारकै महँगो मुद्रा कुवेती दिनारको भाउ ३ सय ३८ रुपैयाँबाट बढेर ३ सय ९६ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले अहिले भारतीय रुपयेबाहेक २० वटा मुद्रालाई सटही सुविधा दिएको छ । यसमध्ये अमेरिकी डलर र पश्चिम एसियाका खाडी मुलुकहरुको मुद्रा सबैभन्दा कम दरमा महँगिएका छन् । त्यो भनेको पनि झण्डै १६ प्रतिशतको अधिमूल्यन् हो ।

विदेशी पैसा महँगिनुको अर्थ हाम्रो राष्ट्रिय मुद्राको क्रयशक्ति कमजोर हुनु हो । यसले नेपालभित्र आर्जन गर्ने व्यक्तिको सम्पत्ती घटेको देखाउँछ । मुद्रा सस्तिनु एक हिसाबले अर्थतन्त्र कमजोर बन्दै जाने संकेत हो । हाम्रोजस्तो आयातमुखि अर्थतन्त्रमा स्वदेशी मुद्राको भाउ घट्दा विदेशबाट ल्याउने सामानका लागि महँगो मूल्य तिर्नुपर्ने हुन्छ ।

यसले स्वदेशभित्रको बजार भाउ महँगिने र सरकारले लिएको ऋणको लागत पनि बढ्ने हुन्छ । ‘मुद्रा सस्तिँदा हामीले निर्यात बढाउन सक्ने हो भने अर्थतन्त्रलाई लाभ हुने थियो,’ दक्षिण एसियाली ब्यापार र वातावरणसम्बन्धी अध्ययन गर्ने संस्था सावतीका कार्यकारी अध्यक्ष डा पोषराज पाण्डे भन्छन् । जापान, चीनजस्ता मुलुकले आफ्नो निर्यात बढाउन जबरजस्ती मुद्राको भाउ सस्तो पार्ने प्रयास पनि गर्दै आएका छन् । सन् २००८ को वित्तीय संकटपछि यस्तो प्रबृत्ती देखिएको थियो, जसलाई ‘मुद्रा युद्ध’ भनिएको थियो ।

स्वदेशी मुद्रा कमजोर हुँदा उत्पादन लागत घट्ने हुन्छ । कर्मचारीलाई दिने पारिश्रमिक, घरजग्गाको भाडादेखि स्वदेशी कच्चापदार्थको मूल्य पनि सस्तो पर्छ । यसबाट उत्पादन लागत कम पर्ने र सस्तो मूल्यमा विदेश निर्यात गर्नसक्ने संभावना बन्दछ । तर हाम्रोजस्तो सबै चिज विदेशबाटै किनेर चलाउने अर्थतन्त्रमा भने आफ्नो मुद्रा सस्तिँदा घाटा हुन्छ ।

नेपाली मुद्रालाई भारतीय रुपयेसँग स्थिर विनिमयदर कायम गरिएकाले अन्तरराष्ट्रिय मुद्रा बजारमा भारुको भाउ घटबढ हुँदा नेपाली मुद्राको भाउ पनि सोही अनुसार घटबढ हुने गरेको छ । अहिले भारतीय अर्थतन्त्र अझै कमजोर हुँदै गएका काण भविष्यमा नेपाली मुद्रा अझै कमजोर हुनसक्ने जोखिम बढेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्