जनसंख्याको अनुपातमा नेपालको मृत्युदर विश्व औसतभन्दा आधा कम « Arthapath.com
९ जेष्ठ २०७८, आईतवार

जनसंख्याको अनुपातमा नेपालको मृत्युदर विश्व औसतभन्दा आधा कम



काठमाडौं । भलै अहिले नेपालमा कोरोना महामारीको संक्रमण दर र मृत्यु विस्वाका अधिकांश मुलुकको तुलनामा तीव्र छ । तर अहिलेसम्मको अवस्थामा पनि नेपाल त्यति खराब स्थितिमा पुगिनसकेको तथ्यांकले देखाउँछ । यसलाई विषम त्रासदीको समयमा पनि केही आशा गर्ने र आत्मविस्वास बनाइराख्ने एउटा सन्देशको रुपमा लिन सकिन्छ ।

संसार भरको कोरोना भाइरसबारे प्रामाणिक आँकडा प्रकाशित गर्ने वेवसाइट वल्डोमिटरका अनुसार अहिले पनि प्रति १० लाख जनसंख्यामा मृत्यु दरका हिसाबले नेपाल संसारको ११० औं मुलुक हो । अर्थात् जनसंख्याका आधारमा महामारीमा मर्नेको संख्या अरु १०९ मुलुकमा नेपालको भन्दा ज्यादा छ । नेपालमा आइतवार साँझसम्मको तथ्यांक अनुसार नेपालमा ६ हजार ३४६ जनाले कोभीड १९ का कारण ज्यान गुमाएका छन् । यो हरेक १० लाखजनामध्ये २१४ जना हो ।

उक्त वेवसाइटले नेपालको जनसंख्या २ करोड ९६ लाख मानेको छ । जबकी केन्द्रिय तथ्यांक विभागले आइतवार नेपालको जनसंख्या ३ करोड ३ लाख ४६ हजार ५१० जना पुगेको उल्लेख गरेको छ । यो तथ्यांक मान्ने हो भने प्रति १० लाख जनसंख्यामा २०९ जनाले ज्याद गुमाएको देखिन्छ । जबकी अहिले विश्वको औसत आँकडाले प्रत्यक १० लाख जनसंख्यामध्ये ४४५ जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । अर्थात् विश्व औसत नै हाम्रो अहिलेको मृत्युदरको तुलनामा दोब्बर भन्दा पनि बढी छ ।

जनसंख्याको अनुपातमा संक्रमितको आँकडाले पनि नेपाल विश्व सूचीको १११ औं स्थानमा छ । यसो हुनुमा एउटा महत्वपूणर् कारण चाहीँ नेपालमा परिक्षण असाध्यै कममात्र भएको देखिन्छ । जनसंख्याको तुलनामा परिक्षण गर्ने मुलुकको सूचीमा नेपाल १४७ औं नम्बरमा छ । असाध्यै कममात्रको परिक्षण गरेकाले यस्तो तथ्यांक आएको मान्न सकिने आधार यही हो ।

विस्वब्यापी रुपमै घट्दै छ महामारीको गति

विश्वब्यापी तथ्यांकले अहिले कोरोना महामारीको दोस्रो लहर मत्थर हुँदै गएको देखाउँछ । झण्डै १ महिनाअघि २९ अप्रिलमा संसारभर एकै दिन ९ लाख ३ हजार २४८ जना नयाँ संक्रमित थपिएका थिए । त्यसयता संक्रमणको सिकार हुने मानिसहरुको संख्या लगातार घट्दो प्रबृत्तीमा छ । नेपाली समय अनुसार आईतबार साँझ ६ बजेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ७५ हजार ४०९ जना संक्रमित थपिएका छन् ।

मृत्युको तथ्यांक पनि त्यस्तै देखिन्छ । संक्रमणको आँकडाले पहिलो लहरभन्दा दोस्रो लहरमा धेरै मानिसलाई एकसाथ आक्रमण गरेको देखिए मृत्युदर भने पहिलो लहरमै बढी भएको औपचारिक आँकडा छ । गएको २० जनवरीमा संसारभर १७ हजार २८९ जनाको कोरोना भाइरसका कारण ज्यान गएको थियो ।

दोस्रो लहरका क्रममा २८ अप्रिलमा सबैभन्दा धेरैले ज्यान गुमाए । त्यस दिन १५ हजार ३ सय ७४ जनाको ज्यान गएको थियो । जुन पछिल्लो २४ घण्टामा ज्यान गुमाउने १ हजार ९२५ भन्दा ८ गुणा बढी हो । यसरी करीब एक महिनायता महामारी विश्वब्यापी रुपमा साँघुरिँदै गएको छ ।

हटस्पटबाट उम्किने बाटो
अहिलेसम्म अवस्था विग्रिसकेको छैन भन्दाभन्दै पनि पछिल्ला दिनका तथ्यांकले नेपाल संसारकै ‘हटस्पट’ मध्येको एक हो भन्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । अहिले नेपालमा सक्रीय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको वल्डोमिटरको तथ्यांक छ । यो विश्वकै १९ औं नम्बरमा पर्ने संख्या हो ।

यो सूचीमा भारत, अमेरिका, ब्राजिल, रुस, मेक्सिकोजस्ता अत्यधिक जनसंख्या भएका मुलुकहरु पर्छन् । नेपालभन्दा कम जनसंख्या भएका नेदरल्याण्ड्स, होण्डुरस, स्वेडेनजस्ता युरोपेली मुलुकमा अहिले पनि सक्रीय संक्रमितको संख्या नेपालभन्दा बढी छ ।

पछिल्लो २४ घण्टामा धेरै मान्छे मर्नेको सूची हेर्ने हो भने चाहीँ नेपाल अत्यन्त खतरनाक अवस्थामा रहेको देखिन्छ । यो सूचीमा रुस, मेक्सिको र इरानजस्ता अत्यधिक जनसंख्या भएका मुलुकपछि नेपालको स्थान छ । अर्थात् नेपाल संसारकै सर्वाधिक मृत्युदर भएको मुलुकको रुपमा देखिन्छ । यसमा आशालाग्दो कुरा के भने, छिमेकी भारतमा कोरोना महामारी नियन्त्रण उन्मुख छ ।

यसले नेपालमा पनि चाँडै नै महामारी नियन्त्रणतर्फ जाने संकेत देखिएका छन् । केही दिनयता सरकारी आँकडाले पनि संक्रमण थपिनेभन्दा निको हुनेको संख्या बढी भएको देखिएको छ । मृत्युको आँकडा पनि क्रमशः घट्दै गएको छ ।

अर्कातिर विश्व समुदायको ध्यान नेपाललाई सहायता गर्नेमा खिचिएको छ । अक्सिजन लगायत प्राण रक्षाका लागि अत्यावस्यक सामाग्रीको आपूर्ति बढ्न थालेको छ । खोपका लागि विभिन्न दाता राष्ट्रले सहयाताका हात अघि बढाएका छन् । सरकारले पनि खोप आयात गरेर चाँडो धेरै मानिसलाई लगाउने अवसर छँदैछ । समय छँदै महाब्याधि नियन्त्रणमा सरकार अलि बढी जिम्मेवार हुने हो भने नेपाल अत्यन्त खराब परिस्थितिसम्म पुग्न पाउँदैन थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्