अन्तराष्ट्रिय बैंकिङ प्रणाली धरासायी बन्न थालेपछि बिटक्वाइनमा ओइरिए लगानीकर्ता « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

अन्तराष्ट्रिय बैंकिङ प्रणाली धरासायी बन्न थालेपछि बिटक्वाइनमा ओइरिए लगानीकर्ता



काठमाडौं । अन्तरराष्ट्रिय वित्तीय प्रणालीमा समस्या देखिन थालेपछि बिट्क्वाइन लगायतका भर्चुअल मुद्राको भाउ धमाधम उकालो लागेका छन् । परम्परागत बैंकिङ क्षेत्रमा एकपछि अर्को संकट देखिन थालेको बेला कयौं लगानीकर्ता डिजिटल मुद्रा बजारमा लगानी बढाउन थालेका छन् ।

पछिल्ला सात दिनमा बिटक्वाइनको भाउ २५ प्रतिशत हाराहारी बढेको छ । दोस्रो ठूलो बजार पूँजीकरण भएको क्रिप्टो मुद्रा इथेरमको भाउ पनि १२ प्रतिशत हाराहारी महँगिएको छ । बीएनबी, सोलाना, पोल्काडट, र्पाप्ड बिटक्वाइन, चेनलिंकजस्ता उच्च बजार पूँजीकरण भएका डिजिटल भर्चुअल मुद्राको भाउ पनि दोहोरो अंकमा उकालो लागेको छ ।

सोमवारको बिहानी कारोबारमा बिटक्वाइनको भाउ ५ प्रतिशत बढेर प्रतिगोटा साढे २८ हजार डलरभन्दा माथि पुगेको क्वाइनबेसले उल्लेख गरेको छ । यो ९ महीना यताकै उच्च हो । अमेरिकामा त्यहाँको १६ औं ठूलो बैंक बैंक सिलिकन भ्याली (एसभी बैंक) धराशायी बनेयता विश्वको बैंकिङ क्षेत्रमा व्यापक हलचल मच्चिएको छ ।

औपचारिक बैंकिङ क्षेत्रमा देखिएको यस्तो उथलपुथलको लाभ बिट्क्वाइनजस्ता क्रिप्टो मुद्राले पाएका छन् । अहिले यी भर्चुअल मुद्राको भाउ धमाधम उकालो लागिरहेको छ । अमेरिकी नियामकहरूले एसभी बैंकका निक्षेपकर्ताको निक्षेप जोगाइदिन थप पहल गरेको भए पनि अमेरिका र अन्यत्र बैंकिङ क्षेत्र कमजोर बनेको चिन्ता मत्थर हुन सकेको छैन ।

अमेरिकी राष्ट्रपतिकै सम्बोधनले पनि बजारको ओरालो यात्रालाई जोगाउन सकेको छैन । अमेरिकाबाट सुरु भएको बैंक संकटमा पर्ने यात्रा अहिले युरोप आइपुगेको छ । स्वीट्जरल्याण्डको क्रेडिट स्वीस बैंक धरासायी हुन थालेपछि नियामकले राज्यमाथि नै ठूलो भार पर्नसक्ने देखदेख्दै सकेसम्म छिटो बैंक बेचाउन भूमिका खेलेको छ ।

आइतवार अबेरमात्रै सबैभन्दा ठूलो स्वीस बैंक ‘यूबीएस’ले ३ अर्ब स्वीस फ्रयांकमा क्रेडिट स्वीस किन्ने सहमत भएको छ । वित्तीय प्रणालीको लहरो तन्किँदै जाँदा अहिले विश्वभरका प्रमुख सेयर बजार पनि लगातार ओरालो लागेका छन् । सेयर बजारमा घट्दो आकर्षणले पनि बिट्क्वाइन र यस्तै भर्चुअल मुद्राको मूल्य चुलिनमा सहयोग गरेको छ ।

सन् २०२३ सुरु भएयता सुनको भाउ केवल ९ प्रतिशतले बढेको छ । तर यहीबीचमा बिट्क्वाइनको भाउ ७० प्रतिशतभन्दा धेरैले उकालो लागिसकेको छ । नेपाली समय अनुसार सोमबार साँझतिर बिट्क्वाइनको भाउ केही ओर्लिन सुरु गरेको भए पनि पछिल्ला साढे ३ महिनामा बढेको मूल्यले यसमा खासै घाटा देखिएको छैन । तर बिटक्वाइनजस्तै ठूलो बजार पूँजीकरण भएका अन्य कयौं क्रिप्टोकरेन्सीको मूल्य भने यसको अनुपातमा अझै फराकिलो रफ्तारले बढ्न सकेका छैनन् ।

एजेन्सीको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्