चीनियाँ ई-कमर्सदेखि इलेक्ट्रिक गाडीसम्म अमेरिकी निशानामाः बीवाईडी, अलीबाबा र बाइडु पनि ब्ल्याक लिस्टमा
काठमाडाैं । अमेरिकाले चीनका स्थापित बहुराष्ट्रिय व्यापारिक कम्पनीहरू अलीबाबा, बीवाइडी र बाइडुलाई चिनियाँ सेनालाई सहयोग पुर्याउने कम्पनीको रूपमा वर्गीकृत गर्दै ब्याक्ल लिस्टमा राखेकाे छ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार आफ्नो ‘ब्ल्याकलिस्ट’ परिमार्जन गर्दै चीनका सबैभन्दा लोकप्रिय र ठूला व्यावसायिक ब्रान्डहरूलाई यसमा समेटेको हो।
यो प्रतिबन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी चिनफिङबीच बेइजिङमा दुई दिने शिखर सम्मेलन भएको एक महिना पनि नपुग्दै आएको हो।
सन् २०२१ मा सुरु गरिएको पेन्टागनको “चिनियाँ सैन्य कम्पनीहरू” को सूचीमा हाल १८८ कम्पनी पुगेका छन्, जुन सन् २०२५ मा १३४ मात्र थिए।
यो सूचीमा परेका कम्पनी र तिनको नियन्त्रणमा रहेका भगिनी संस्थाहरू चालू महिनाको अन्त्यदेखि लागू हुने नयाँ नियम अनुसार अमेरिकी रक्षा सम्झौताका लागि अयोग्य ठहरिनेछन्।
पेन्टागनका अनुसार चिनियाँ सेनाको स्वामित्व वा नियन्त्रणमा रहेका वा चीनको ‘सैन्य-नागरिक समायोजन’ रणनीतिमा योगदान पुर्याउने कम्पनीहरू यस सूचीमा पर्छन्। साथै, सूचीमा पर्नका लागि ती कम्पनीहरूको केही व्यावसायिक गतिविधि अमेरिकामा पनि सञ्चालन भएको हुनुपर्छ।
पेन्टागनले अलीबाबा, बीवाइडी र बाइडुले चीनको सरकारी ‘एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिसन’ र ‘उद्योग तथा सूचना प्रविधि मन्त्रालय’ सँगको आबद्धतामार्फत चिनियाँ सेनाको विकासमा सहयोग पुर्याइरहेको दाबी गरेको छ।
यता वासिङ्टन डीसीस्थित चिनियाँ दूतावासले अमेरिकाको यो निर्णयको कडा शब्दमा निन्दा गरेको छ। दूतावासका प्रवक्ताले यसलाई ‘भेदभावपूर्ण’ कदमको संज्ञा दिँदै अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई आवश्यकताभन्दा बढी बङ्ग्याएको आरोप लगाएका छन्।
विदेशमा व्यापार गर्ने चिनियाँ कम्पनीहरूले सम्बन्धित देशको नियम र कानुनको पूर्ण पालना गरिरहेकाे भन्दै दुतावासले चिनियाँ कम्पनीहरूका लागि निष्पक्ष र गैर-भेदभावपूर्ण वातावरण बनाउनुपर्ने बताएकाे छ।
चीनको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी अलीबाबाले पनि आफूलाई कालोसूचीमा राख्नुको कुनै आधार नभएको भन्दै कम्पनीलाई गलत रूपमा प्रस्तुत गर्ने प्रयासविरुद्ध सबै कानुनी कदमहरू चाल्ने चेतावानी दिएकाे छ।
बीवाइडी र बाइडुले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्।
अलीबाबा, बाइडु र बीवाइडी चीनका सबैभन्दा प्रतिष्ठित ब्रान्ड हुन्, जसले क्रमशः ई-कमर्स, इन्टरनेट सर्च इन्जिन र इलेक्ट्रिक सवारी साधन (ईभी) को बजारमा शीर्ष स्थान ओगटेका छन्।
साधारणतया रक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार नभएका यस्ता घरेलु ब्रान्डहरूलाई कालोसूचीमा राख्ने काम गत वर्ष प्रविधि कम्पनी ‘टेन्सेन्ट’ (विच्याटको स्वामित्व भएको कम्पनी) लाई सूचीकृत गरेपछि सुरु भएको हो।
यसपटकको सूचीमा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स कम्पनी ‘रोबोसेन्स टेक्नोलोजी’ र ‘युनिट्री रोबोटिक्स’ लाई पनि थपिएको छ।














