१११ मेगावाटको रसुवागढी आयोजनाबाट विद्युत उत्पादन गरी परीक्षण सुरु
काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी परीक्षण गर्न थालिएकाे छ। रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ र २ मा निर्माण भएकाे १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी परीक्षण थालिएकाे हो।
यसका लागि कात्तिक २४ गतेबाट योजनाको विद्युतगृहदेखि चिलिमे हबसम्मको १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज गरिएकाे कम्पनीले जनाएको छ। त्यसैले प्रसारण लाइन भएको स्थान गोसाइँकुन्ड गाउँपालिकाअन्तर्गत टिमुरे, तातोपानी डाँडा, दालफेदी, बुमन, मेन्दो, तार्मा तथा आमाछोदिङमो गाउँपालिकाअन्तर्गत केराघारी, पाजुङ, गोङगाङ, गोल्जुङवेशी, क्षेत्रहरुमा प्रसारण लाइनको मार्गाधिकार क्षेत्र (लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ ९-९ मिटर) भित्र नजान, टावरहरुमा नछुन कम्पनीले सर्वसाधरणलाई सूचित गरेको छ।
त्यस क्रममा आयोजनाको बाँधस्थलमा रहेका गेट (ढोका)हरु समयद्दसमयमा खोल्ने तथा बन्द गर्नुपर्ने भएकोले भोटेकोशी नदीको बहावसमेत परिवर्तन हुने भएको हुँदा आयोजनाको हेडवर्क्स (बाँधस्थल) देखि रसुवा जिल्लाको तल्लो तटीय क्षेत्रभर नदीको आसपास आवतजावत, हिँडडुल गर्न, नदीजन्य पदार्थ उत्खनन गर्न, माछा मार्न तथा नुवाइधुवाइ आदि कार्य गर्न सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिम हुने हुँदा नदी क्षेत्रभित्र प्रवेश नगर्न नगराउन सर्वसाधारणलाई कम्पनीले आग्रह गरेको छ।
यसमा नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य लगानी रहेको छ ।