कर्मचारी सञ्चय कोषद्वारा कर्जाको ब्याजमा छुट
काठमाडौं। कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ।
कोभिड(१९ को संक्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको आज जानकारी दिएको छ।
त्यस्तो सापटीको असार मसान्तसम्मको ब्याज बुझाउने अवधि साउन मसान्तसम्म कायम गरिएको कोषका सहप्रशासक राजेन्द्र काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोषले नियमित सञ्चय कोष कट्टा गरिरहेका सञ्चयकर्ताको कोभिड(२०१९ को संक्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्तिबापत दुई लाख रूपैयाँ हकवालालाई प्रदान गर्ने निर्णय पनि गरेको छ। रासस















