२८ वैशाखदेखि प्री-बजेट छलफल
काठमाडौं। संघीय संसद्को भोलिदेखि शुरू हुने बजेट अधिवेशनमा त्यसको दुई दिनपछि, २८ वैशाखदेखि प्री-बजेट छलफल शुरू गर्ने तयारी गरिएको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार सभामुख अग्निप्रसाद सापकोटा र सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीबीच कुराकानी भइ २८ वैशाखदेखि तीन दिनसम्म प्री-बजेट छलफल शुरू गर्ने गरी तयारी अघि बढाइएको छ।
सरकारको नीति तथा कार्यक्रम भने २ जेठमा संसदमा प्रस्तुत गर्ने तयारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। भोलिदेखि शुरू हुने संघीय संसद्को बैठकमा सहभागी हुन सांसदहरूको कोरोना परीक्षण अनिवार्य गरिएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको आज मात्र स्वाब संकलन गरिएको छ।













