एक तिहाई कर्मचारीमार्फत बैंक सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई एक तिहाई कर्मचारीद्वारा बैंक सुचारु गर्न निर्देशन दिएको छ। बैंकहरुले कार्यालय सञ्चालनका लागि आफूसँग भएको कूल सवारीसाधन मध्ये एक चौंथाईमा नबढ्ने गरी सवारी पास पाउने राष्ट्र बैंकले जनाएको छ।
नेपाल सरकारको बैशाख २४ गतेको निर्णयानुसार बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यकीय सेवा प्रवाह गर्नपर्ने भित्र पर्दछन्। बैंकहरुले कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यापारको निरन्तरलालाई मध्यनजर गरेर यथासम्भव एक तिहाई कर्मचारीहरुबाट सेवा सुचारु राख्ने व्यवस्था गरिएको हो। यसका लागि रिमोट एक्सेस वर्क फ्रम होम, सिफ्टवाइज वर्कलगायतका व्यवस्था अवलम्बन गर्न सक्ने छन्।
बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु (स्यानिटाइजर, मास्क, डिस्निफिक्यान्ट, थर्मल स्क्यानिङ, ह्याण्ड ग्लोभ्स आदि)को अनिवार्य रुपमा प्रयोग गर्नु पर्छ।













