नेपाल बैंकको १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ नाफा
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको सार्वजनिक गरेको विवरण अनुसार गत आवको तेस्रो त्रैमासमा दुई अर्ब २४ करोड ५५ लाख ७७ हजार मुनाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा एक अर्ब ९९ करोड ६५ लाख ८३ हजार खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ६ करोड १९ लाख ८३ हजारले ऋणात्मक छ ।
राष्ट्र बैंकले गत चैतमा कोभिड १९ ले प्रभावित व्यावसायिक क्षेत्रका लागि सहुलियत घोषणा गर्दै चैत मसान्तमा किस्ता तिर्नेलाई ब्याजमा १० प्रतिशत छुट र चैतमा तिर्न नसक्नेलाई असारमा मसान्तमा तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको उक्त निर्देशनले चैत मसान्तमा ४० प्रतिशत पनि ब्याज असुल हुन नसकेको बैंकहरूले बताएका थिए ।
बैंकले चैत समसान्त सम्ममा करिब दुई अर्ब नाफा कमाउँदा पनि बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक बन्न पुगेको छ । बैंकले चैत मसान्तमा एक अर्ब ६५ करोडभन्दा बढी रकम रेगुलेटरी रिजर्भमा राखेको छ ।
चैत मसान्तसम्म बैंकले चार अर्ब २१ करोड ८२ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले चार अर्ब ७२ करोड ५३ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
कोरोना भाइरसको प्रभाव समग्र अर्थतन्त्रमा परेका कारण बैंकको आम्दानीमा वृद्धि हुँदा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै इम्पेरिमेन्ट चार्ज ३३ करोड १९ लाख छुट्याएको छ । यद्यपि उक्त रकम गत आवको भन्दा कम हो । गत आवमा इम्पेरिमेन्ट चार्जका लागि ४२ करोड ५८ लाख छुट्याएको थियो ।
चैत मसान्तमा नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सेयर प्रिमियमा तीन अर्ब २६ करोड २८ लाख ११ हजार रुपैयाँ छ । यस्तै सञ्चित कोषमा एक अर्ब ८५ करोड २८ लाख ९५ हजार र जगेडा कोषमा १४ अर्ब १७ करोड ६२ लाख २८ हजार छ ।
चैत मसान्तसम्ममा बैंकले एक खर्ब २२ अर्ब ७० करोडभन्दा माथि निक्षेप संकलन गरेर एक खर्ब एक अर्ब ६८ करोड कर्जा लगानी गरेको छ । चैत मसान्तमा बैंकको निष्क्रिय कर्जा २.६४ प्रतिशत, कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) ७३.६५ प्रतिशत, कोषको लागत ४.९१ प्रतिशत, आधार ब्याजदर ७.४९ प्रतिशत र ब्याजदर अन्तर ४.४९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ २९६ रुपैयाँ ६३ पैसा र पुँजी कोष अनुपात १५.९० प्रतिशत छ ।













