गाभिए आरम्भ र चौतारी लघुवित्त, चुक्तापुँजी २४ करोड ६० लाख पुग्यो
काठमाडौं । चौतारी लघुवित्त वित्तिय संस्था र आरम्भ लघुवित्त वित्तिय संस्था एक आपसमा गाभिएका छन । दुबै संस्था मर्ज प्रश्चात सोमबार एकीकृत कारोबार सुरु गरेका छन । दुवै कम्पनीको स्वाप रेस्यो १ बराबर १ को अनुपातमा मर्ज भएका हुन । सोमबार बनेपामा आयोजित एक कार्यक्रमको बीच एकीकृत कारोबारको सुरुवात भएको आरम्भ चौतारी लघुवित्तका सिईओ लक्ष्मण घिमिरेले बताए ।

दुवै संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जर पश्चात संस्थाको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था भएको छ भने केन्द्रीय कार्यालय बनेपा नगरपालिकामा राखिएको छ । यसअघि चौतारीको रुपन्देहीको बुटवलमा र आरम्भको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको थियो । मर्जपश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ६० लाख रुपैयाँ पुगेको छ भने शाखा संख्या पनि ७६ र कार्यक्षेत्र ३१ जिल्ला पुगेको छ ।

दुवै कम्पनीको पुस ९ गते सम्पन्न सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो । मर्जरपछिको संस्थाको अध्यक्ष जगत पोखरेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे बनेका छन । अध्यक्ष पोखरेलले अन्य लघुवित्त संस्थाहरुसँग पनि मर्जर प्रक्रिया अगाडी बढाएर देशकै सवैभन्दा ठूलो र प्रभावकारी संस्था बनाउने लक्ष्य रहेको बताए । पोखरेलले देशभरका सवै लघुवित्तहरुलाई बलियो बनाउँदै ग्रामिण क्षेत्रका माहिला र कृषि उद्यमीहरुको जीवनमा परिवर्तन ल्याउने अभियानको भएकाले यस क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

एकिकृत कारोबार शुभारम्भ कार्यक्रमम नेपाल राष्ट्र बैंकका लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बाणिज्य बैंकहरुको श्रोत र साधनलाई लघुवित्त संस्थाहरुको सञ्जाल मार्फत परिचालन गर्ने गृहकार्य भइरहेको जानकारी दिए । मर्ज हुनुअघिको आरम्भ लघुवित्तका अध्यक्ष दिपक तिवारी, चौतारीका संस्थापक जीवन भण्डारी, आरम्भका संस्थापक ध्रुब पाण्डे, लघुवित्त विज्ञ सृजना काफ्ललगायतले बोलेका थिए ।













