आइतबार सुन तोलामा ५ सयले बढ्यो
काठमाण्डौ । आइतबार सुनको भाउले नयाँ रेकर्ड मायम गरेको छ ।
तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।
। नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसयता उकालो लागेको सुनको भाउले रेकर्ड बनाउँदै आएको थियो ।
साउन लागेपछि थोरै घटबढ भएको सुनको भाउ गएको बुधबारदेखि भने दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा छ ।
त्यसैगरी चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ५५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।













