सरकारले तोकेकोभन्दा १५ देखि २० प्रतिशत बढीमा धान खरिद - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारले तोकेकोभन्दा १५ देखि २० प्रतिशत बढीमा धान खरिद



काठमाडौं । सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढी मूल्यमा सहकारीले धान खरिद गरिरहेका छन् । मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७७–०७८ का लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७३५ रूपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८८५ रूपैयाँ न्यूनतम समर्थन तोकेको थियो भने कैलालीका केहि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका हुन् ।

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा १२ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् । यी सहकारी र कम्पनीले १ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानको बीजवृद्धि खेती गरी धानको बीउ उत्पादन गर्दै आएका छन् । अन्य बाली उत्पादनभन्दा बीउ बाली उत्पादनमा धेरै मेहनत तथा किसानले ध्यान दिनुपर्ने हुनाले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्विन्टल ३०० रूपैयाँ थप गरी किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए ।

बजारमा गल्ला व्यापारीले यही धान २ हजार १०० रूपैयाँसम्म मात्र मूल्य दिने गरेका छन् । टीकापुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत धान खरिद सुरु गरेको छ । किसानले खाद्यमा मोटा धान प्रतिक्विन्टल २ हजार ७३५ रूपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ८८५ रूपैयाँमा बिक्री गरिरहेका छन् । सहकारीमा बिक्री गर्नेले यसमा १५ देखि २० प्रतिशत थप रकम पाइरहेका छन् । स्थानीय रामदुलारे चौधरी बजारको मूल्यभन्दा करिब एक हजार रूपैयाँ बढी रकम पाउनु किसानका लागि खुसीको कुरा भएको बताउँछन् ।

कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । यसरी किसानले गुणस्तरीय बीउ उत्पादनका लागि गर्नुपर्ने बाली निरीक्षण, सुपरीवेक्षण, विधि र पद्दतिको प्रयोगबाट उत्पादन भएको बीउलाई सहकारीले महँगोमा खरिद गरिरहेका नमूना बहुउद्देश्यीय सहकारी संस्था टीकापुरका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस्