नेपालको जलविद्युत क्षेत्रमा रुसको पनि लगानी गर्ने इच्छा, बन्ला त पश्चिम सेती ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपालको जलविद्युत क्षेत्रमा रुसको पनि लगानी गर्ने इच्छा, बन्ला त पश्चिम सेती ?



काठमाडौं । नेपालको ठूलो लगानीको जलविद्युत आयोजनामा लगानी गर्न रुसले इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी गर्ने इच्छा देखाएको हो ।अव लामो समयदेखि थाति रहेको पश्चिम सेती आयोजना बन्ने आशा पनि देखिएको छ । पश्चिम सेती जलविद्युत् आयोजना करिब तीन दशकदेखि चर्चामा मात्र सीमित छ । करिब १६ वर्ष त अस्ट्रेलियन कम्पनी स्मेकले मात्र निर्माण अनुमति लिएर वित्तीय व्यवस्थापन गर्न नसकी झुल्यायो । अन्ततः सरकारले उसको अनुमति खारेज गरेको थियो । स्मेकसँगको अनुुमति खारेज भएपछि अर्को अन्योलमा परेको यस आयोजनालाई चाइना थ्रि गर्जेज इन्टरनेसनल (सीटीजीआई) लाई सरकारले दियो । थ्रि गर्जेजले पनि २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग प्रारम्भिक सम्झौता गरेर २०७५ साल भदौसम्म आयोजना ओगट्ने काम गर्यो । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा, महेन्द्रबहादुर शाहीलगायतका अन्य सरकारी अधिकारीले लगानी सम्झौता गर्न थुुप्रै प्रयास गरे पनि साकार हुन नसक्दा थ्रि गर्जेज पनि निर्माणको काम सुरु नै नगरी छोडेर गएपछि आयोजना निर्माणमा थप अन्योल बढेको हो ।

सरकार–सरकारबीचको सम्झौतामा रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंकले नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए । राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरण सम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो ।
यस्तै नेपालमा विद्युत र सिंचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो । रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा खपत गर्न सकिने र नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो ।

प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताए । यस्तै मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिए । बढी भएको विद्युत निर्यात गर्न भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरी सकिएको उनले बताए । हालसम्म नेपालमा उत्पादित विद्युत सरकारी कम्पनी ९नेपाल विद्युत प्राधिकरण० खरिद गरी वितरण गर्दै आएको छ ।

आगामी दिनमा स्वदेशी वा विदेशी लगानीमा निर्माण हुने आयोजनाको विद्युत सिधै बाह्य बजारमा पठाउन सक्ने गरी लचिलो कानुनी प्रावधानको समेत व्यवस्था गरिएकाले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको उनको भनाइ थियो ।

मन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युतमा लगानी गर्न सक्ने अवस्था रहेको चर्चा गर्दै रुसी लगानीकर्तालाई नेपालमा स्वागत गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्