नेकपा विभाजनले बीमा समितिको अध्यक्षमा चापागाईँको दाेहाेरिने ढोका बन्द
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँको कार्यकाल पुस २३ गते सकिँदै छ । २०७३ साल पुस २३ गते बीमा समितिमा अध्यक्ष बनेका चापागाईँको ४ वर्षे कार्यकाल सकिने भएको हो । पूर्वमाओवादी निकट चापागाईं पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेला बीमा समितिकाे अध्यक्ष बनेका थिए ।
हाल सत्तारूढ नेकपा विभाजन भैसकेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन भने अर्थमन्त्री विष्णु पाैडेल रहेका छन । प्रचण्डनिकट रहेका चापागाँई पार्टी फुटेका कारण अध्यक्षमा दाेहाेरिने संभावना लगभग सकिएकाे छ । ४ वर्षे कार्यकालमा बीमाकाे पहुँच विष्तारमा लागेका चापागाईँ पुन: दाेहाेरिने संभावना रहेकाे छ ।
१४ गतेदेखि बिदामा बस्ने भएका छन् । अध्यक्ष चापागाई पुस १३ गते अन्तिम दिन काम गरेर बिदा हुन लागेको हुन् । अध्यक्ष चापागाईको कार्यकाल आगामी पुस २३ गतेसम्म भएपनि कार्यकाल सकिनु एक साता अघि नै बिदामा बस्न लागेका हुन् ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले अबको बीमा समितिको अध्यक्षमा प्रधानमन्त्री निकट व्यक्ति नै बन्ने पक्कापक्की छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा विभाजन भएको छ ।
विभिन्न निकायमा व्यक्ति नियुक्तमा ओली र प्रचण्डले भागबन्डा गर्दै आएकोमा अब त्यो समाप्त भएको छ । यस अघि नेपाल राष्ट्र बैंकको गभर्नरमा ओली निकट रहेका महाप्रसाद अधिकारी बनेपछि बीमा समितिमा प्रचण्ड निकट चापागाईँ हुने अनुमान गरिएको थियो तर ओली–प्रचण्डबीच पार्टीभित्र विवाद देखिएपछि ओली निकट व्यक्ति नै बीमा समितिको अध्यक्षमा चयन हुने छन् ।
नेपाल राष्ट्र बैंकको गभर्नर पदमा पूर्व एमाले निकट मानिएका महाप्रसाद अधिकारी गत चैत्रमा नै नियुक्त भइसकेका छन् । त्यसैले अर्को नियामक निकाय बीमा समितिमा पूर्व माओवादी पक्षको बढि सम्भावना देखिएको थियो तर अव त्यो सम्भावना अन्त्य भएको छ ।
बीमा समितिको अध्यक्षको लागी गभर्नरमा दावी गरेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई हेरिएको छ । उनी गत चैत्रमा गभर्नरका लागि प्रस्तावमा परेका थिए तर हुन सकेका थिएनन् । उनी पुर्व एमाले, त्यसमा पनि प्रधानमन्त्री ओली निकट मानिन्छन् । शिवाकोटीलाई गभर्नर बनाउन नपाएको गुन ओलीले बीमा समितिको अध्यक्ष बनाएर तिर्न सक्ने बेला आएकाले उनको प्रबल सम्भावना रहेको छ । शिवकोटीको डेपुटी गभर्नरको कार्यकाल पनि फागुनमा सकिदैछ । शिवाकोटी बीमा समिति जाँदा २ महिनाअघिनै राष्ट्र बैंक छोड्नु पर्छ ।
त्यस्तै, बीमा समितिको अध्यक्ष बन्न चार्टर्ड एकाउन्टेन्ट, कृष्णप्रसाद आचार्य, महेश गुरागाइँ, नेप्सेका पुर्व अध्यक्ष टंक पनेरु, अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाइँ राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल पनि दौडमा रहेको स्रोतले बतायो ।
सत्तारुढ नेकपा विभाजन नभएको अवस्थामा समितिका अहिलेकै अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र नेपाल स्टक एक्सचेन्ज पूर्व अध्यक्ष टंक पनेरु प्रमुख दाबेदारमध्येमा थिए । तर, नेकपाभित्रको विवादले यी तीन जना नै प्रत्यासीको सम्भावना करिब समाप्त भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं पनि नियुक्तिका लागि राजनीतिक पहुँच खोजिरहेको बुझिएको छ । उनी पूर्व पर्यटनमन्त्री योगेश भट्टराई निकट मानिएका छन् । तर मन्त्री भट्टराईले राजीनामा दिएपछि उनको सम्भावना समाप्त भएको छ ।
त्यस्तै, कर्मचारी सञ्चयकोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य पनि समितिको अध्यक्षको लबिङमा रहेको चर्चा छ । टंक पनेरु नेकपा वरिष्ठ नेता झलनाथ खनाल निकट मानिन्छन् । खनाल पनि ओली विरोधी नेकपामा संलग्न रहेकोले ओली सरकारले पनेरुलाई समितिको अध्यक्ष बनाउने सम्भावना पनि समाप्त भएको छ ।
यसअघि समितिको अध्यक्षको दौडमा रहेका डा. रवीन्द्र घिमिरेको नाम पनि चर्चामा छ । तर उनी आफु राजनीतिक तहबाट सपोर्ट पाउनसक्ने अवस्थामा त अध्यक्ष बन्न सकेका थिएनन् । यसपटक उनका लागि झन कठिन अवस्था छ ।













