लुम्बिनी प्रदेशमा श्रम बजारको सूचना प्रणाली विकास परियोजाको सुरुवात
काठमाडौं । विभिन्न उद्योगहरुको माग अनुरुप श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले नेपालका प्रमुख ५ वटा रोजगारदाता संस्थाहरुको संयुक्त पहलमा सचिवालय गठन गरि श्रम सुचनामा रोजगारदाताको माग अनुरुप कार्य गर्न ELMS परियोजना शुरु गरिएको छ ।
नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित एक कार्यक्रमा प्रदेश प्रमुख माननीय धर्मनाथ यादवले सो परियोजनाको सुरुवात गरेका हुन ।कार्यक्रममा प्रदेश प्रमुखले परियोजनाले कृषि, निर्माण र पर्यटन लगायत विविध क्षेत्रको समग्र शीप पहिचान गरी आवश्यक शीपहरुको एकरुपता कायम गर्दै सरकारलाई सो अनुरुप नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले प्राविधिक एवम् व्यवसायिक तालिम प्रदान गर्ने संस्थाले दिने गरेको तालिम तथा शिप र उद्योगको आवश्यकता बीच बेमेल रहेको बताएका थिए ।
यस्तो अवस्थाले एकातिर तालिमको नाममा सरकारको धेरै रकम खर्च भइरहेको छ भने अर्कोतिर नेपाली युवाहरुले वान्छित रोजगारी नपाउँदा न्यून ज्यालाको काम गर्न विदेशिनु परेको यथार्थता छ । एकातिर यो स्थिति छ भने आर्कोतिर निजी क्षेत्रले आवश्यकता अनुसार शिपयुक्त जनशक्ति नपाउँदा उद्योग–व्यवसाय कम क्षमतामा सञ्चालन गर्नु परेको र सो जनशक्तिको न्यून पूर्ति गर्न विदेशी कामदारमा भर पर्नु परेको स्थिति उजागर गर्नु भएको थियो ।
यस्तो समस्यालाई दृष्टिगत गरि नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रमुख संस्थाहरुले श्रम बजार अनुसार जनशक्ति पहिचान गर्ने कार्यको लागि सहकार्य प्रारम्भ गरेको समेत जानकारी दिनु भएको थियो ।













