एनआईसी एशिया बैंकले थाल्यो वीच्याट–पे भुक्तानी सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ ।
यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यस बैंक, फष्ट पे टेक्नोलोजी र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरेका छन ।
सम्झौतापश्चात् वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरूले यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका त्तच् कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
बैंकले वीच्याट–पेबाट भुक्तानी प्राप्त गर्न चाहनुहुने मर्चेन्टहरूका लागि बैंकको वेबसाइट nicasiabank.com मार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
‘डिजिटल फष्ट बैंक’ बन्ने आफ्नो दीर्घकालीन रणनीतिलाई हासिल गर्नका लागि यस बैंकले ग्राहक हरूमाझ सहज एवं सबल बैंकिङ्ग सुविधाको लागि हालसम्म देशभर १५ हजार भन्दा बढी QR मर्चेन्टहरू खडा गरिसकेको छ । देशभर यसरी सञ्जाल बिच्छाउन सफल भएपश्चात् वीच्याट–पेलाई आफ्नो भुक्तानी प्रणालीमा ल्याउनुले नेपालको डिजिटल भुक्तानीको इतिहासमा नयाँ मानक थप्ने बैंकले जनाएको छ ।
बैंकले देशभर ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ७६ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।












