४ महिनामा नै बैंकहरुको मार्जिन कर्जा १० अर्ब, एनआईसी एशिया पहिलो नम्बरमा
काठमाडौं । बाणिज्य बैंकहरूले मार्जिन कर्जामा लगानी बढाएका छन् । बजार बढेको बेलामा बैंकहरूले कुल कर्जाको ४ प्रतिशतसम्म यस्तो कर्जामा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कार्तिक महिनासम्ममा बाणिज्य बैंकहरूले ५० अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेको छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा ४१ अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी गरेका थिए । बैंकहरूले ४ महिनामा यस्तो कर्जा ९ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका हुन् ।
सबैभन्दा धेरै लगानी गर्नेमा सिद्धार्थ बैंक पहिलो नम्बरमा रहँदै ५ अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी गरेको बैंकले ४ महिनाको अवधिमा यस्तो कर्जा १ अर्ब रुपैयाँले बढाएको हो । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले मार्जिन कर्जामा लगानी गरेका छैनन् । मार्जिन कर्जामा सबैभन्दा कम लगानी गर्नेमा कृषि विकास बैंक छ । कार्तिक अन्तिमसम्ममा उसले मार्जिन कर्जामा ९ करोड रुपैयाँमात्र लगानी गरेको छ यो कुल कर्जाको ०.०७ प्रतिशत हो ।
मर्जिन कर्जामा जोखिम हुने भए पनि सेयरको मूल्य घटेर मार्जिन कम भएमा बैंकहरूले मार्जिन कल गर्न पाउने भएको कारण यस्तो कर्जा डुब्ने सम्भावना निकै कममात्र हुन्छ । बैंकहरूले यस्तो कर्जालाई सुरक्षित कर्जाको रुपमा लिने गरेका छन् ।
चालु आर्थिक वर्षमा बैंकहरूको मार्जिन प्रकृतिका कर्जा लगानी केही बढेको भए पनि धेरै भने बढेको होइन । यस्तो कर्जा अझै केन्द्रीय बैंकले तोकेको सिमाभन्दा निकै कम छ । २७ वटा बाणिज्य बैंकमध्ये २० वटा बाणिज्य बैंकले १ अर्ब रुपैयाँभन्दा धेरै मार्जिन कर्जामा लगानी गरेका छन् ।
अहिले मार्जिन प्रकृतिका कर्जा बढाउन बैंकहरूले विभिन्न स्किम ल्याएका छन् । लगनीकर्ताले खरिद गरेको सेयरको भुक्तानी गर्न नै बैंकहरूले अहिले कर्जा दिन थालेका छन् । तर पनि ४ महिनामा ९ अर्बको हाराहारीमा मात्रै मार्जिन कर्जा बढेको छ ।
यस अवधिमा विकास बैंकहरूले पनि ८ अर्ब ४५ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेका छन् भने फाइनान्स कम्पनीहरूले २ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा विकास बैंक र फाइनान्स कम्पनीहरूले क्रमशः ६ अर्ब ६३ करोड रुपैयाँ र २ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । यस अवधिमा विकास बैंक र बाणिज्य बैंकको मार्जिन कर्जा बढे पनि फाइनान्स कम्पनीहरूको भने यस्तो कर्जा घटेको छ ।
एनआईसी एशिया पहिलो नम्बरमा
कर्जा लगानीमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा देखिएको छ । कात्तिक मसान्तसम्ममा बैंकले २ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यो बाणिज्य बैंकहरूमध्यकै धेरै हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले चालु आर्थिक वर्षको ४ महिनामा नै कर्जा लगानी २२ अर्बभन्दा धेरैले बढाएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंक २ खर्ब ५ अर्ब कर्जा लगानी गरेर धेरै कर्जा लगानी गर्ने बैंकको दोस्रो स्थानमा रहेको छ । यसले पनि चालु आर्थिक वर्षमा ६ अर्ब रुपैयाँले कर्जा लगानी बढाएको छ । अन्य बैंकको कर्जा लगानी २ खर्बभन्दा कम छ । यस अवधिमा स्ट्यान्डर्ड चटर्ड बैंकको भने कर्जा लगानी सबैभन्दा थोरै छ । कार्तिकसम्ममा बैंकले ५५ अर्ब मात्रै कर्जा लगानी गरेको छ । बैंकले चालु आर्थिक वर्षमा खासै लगानी बढाउन सकेको छैन ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा नै बैंकले ५४ अर्ब रुपैयाँभन्दा धेरै लगानी गरिसकेको थियो । ४ महिनामा बैंकको लगानी ५० करोडभन्दा पनि कमले बढेको छ । कार्तिक मसान्तसम्ममा बाणिज्य बैंकहरूको कुल कर्जा लगानी ३० खर्ब ४८ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ । लकडाउनका कारण कर्जा लगानी हुन नसकेको भए पनि लकडाउन खुलेसँगै बैंकहरूको कर्जा लगानी बढ्न थालेको छ । मंसिर अन्तिमसम्ममा कर्जा लगानी बढेर ३१ खर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ ।













